लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
बुटवल । विगत लामो समयदेखिको लुम्बिनी होटेल सङ्घ नेपाल र लुम्बिनी विहार क्षेत्र बिचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बुँदे सहमति गर्दै कार्यविधि बनेसँगै उत्पन्न विवाद समाधान भएको हो ।
लुम्बिनी विकास कोषको नेतृत्वमा लुम्बिनी होटेल सङ्घ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको समेत संलग्नतामा होटेल र विहारका विषयमा देखिएका समस्याहरू समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो ।
आज रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटेल व्यवसायी र विहारका प्रतिनिधिहरूको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरूमा तीर्थयात्रीहरूलाई होटेलमा जस्तै सुविधा दिने र शुल्क लिएर राखेको जस्ता विषयलाई लिएर लामो समयदेखि विवाद सृजना हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।
कार्यविधि कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटेल व्यवसायीबिचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकारात्मक भएको बताए ।
दुई पक्ष बिचमा भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाले निर्देशन दिएका छन् । उनले आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटेल व्यवसायी र गुम्बा विहारका बिचको द्वन्द्व अन्त्य गर्न सफल भएको बताए ।
यो विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेको भए पनि अब त्यसको अन्त्य भएको उनले बताए । उनले लुम्बिनी विकास कोषसहित होटेल व्यवसायी र गुम्बा विहारका प्रतिनिधिहरुविचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आकर्षित गर्न सक्नुपर्ने बताउँदै गुम्बा विहार र होटलको समस्या एक ठाउँमा बसेपछि समाधान भएको बताए ।
लुम्बिनी होटेल व्यवसायी सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटेल व्यवसायीबिच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे ।
गुम्बा विहारमा निश्चित सङ्ख्यामा भिक्षु, लामा, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरूलाई मात्रै राख्ने र होटेल व्यवसायीहरूले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीहरूलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।
छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, भिक्षु वजिरा, लुम्बिनी होटेल सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्याल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी