बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त

बिहीबार, ०४ पुस २०८१, ०६ : ००
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो ‘क्वालिफायर’ खेल बिहीबार (आज) खेलिने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

दोस्रो ‘क्वालिफायर’ खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १:०० बजे सुरु हुनेछ । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो । 

जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चि रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ । 

त्यसैले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिचको दोस्रो ‘क्वालिफायर’ खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कर्णाली याक्स प्रारम्भिक चरणको खेलबाट आठ अङ्क बटुल्दै तालिकामा चौथो भएर प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो । 

प्रारम्भिक चरणमा कर्णाली याक्सले आफूले खेलेको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । त्यसपछि लयमा फर्किएको कर्णाली याक्सले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले र चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो ।

यसैगरी, कर्णाली याक्सले आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले र छैटौँ खेलमा लुम्बिनी लायन्सलाई पाँच रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्स बलियो सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

कर्णाली याक्स प्ले अफ चरणमा स्थान बनाउने अन्तिम टोली पनि बनेको थियो । कर्णाली याक्सले प्ले अफ चरणमा पुग्न ठुलै सङ्घर्ष गर्नु परेको थियो । कर्णाली याक्स र काठमाडौँ गुर्खाजको अङ्क बराबर थियो । त्यसैले अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ५५ रनभन्दा ठुलो अन्तरले पराजित भएको भए काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने अवस्था थियो ।

यसैगरी, प्रारम्भिक चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमै विजयलक्ष्य प्राप्त गरेको भए पनि कर्णाली याक्स उपाधि होडबाट बाहिरिने थियो र काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो । 

तर, अन्तिम समयमा काठमाडौँ गुर्खाजलाई जिल्याउँदै कर्णाली याक्स राम्रो नेट रन रेटका आधारमा प्ले अफ चरणमा पुग्न सफल भयो । त्यसैले एनपीएलको पहिलो संस्करणमा कर्णाली याक्स भाग्यमानी टोलीको रूपमा उदाएको छ । 

जारी एनपीएलमा कर्णाली याक्स राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सोमपाल कामीको कप्तानीमा रहेको छ । टोलीमा देब खनाल, अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो, वेस्ट इन्डिजका ब्याट्सम्यान चाडविक वाल्टन, ओमानका अलराउन्डर जिसन मक्सुद, नन्दन यादव, विपिन शर्मा, राष्ट्रिय टोलीका चर्चित अलराउन्डर गुलसन झा, भारतका जयकिशन कोल्सावालालगायतका प्रभावशाली खेलाडी छन् । 

अर्कोतिर, जनकपुर बोल्ट्स अङ्क तालिकामा दोस्रो हुँदै प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो । जनकपुर बोल्ट्सले सात खेलबाट १० अङ्क बटुलेको थियो । जनकपुर बोल्ट्स सातमध्ये पाँच खेलमा विजयी भएको थियो भने तीन खेलमा पराजित ।

प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विरानटर किङ्सलाई आठ विकेटले हराएको थियो । जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको थियो ।

जनकपुर बोल्ट्सले तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । पाँचौँ खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

यसैगरी, आफ्नो छैटौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा भने जनकपुर बोल्ट्सको टोली चितवन राइनोजसँग ३२ रनले पराजित भएको थियो । 

जनकपुर बोल्ट्सको टोली अनिल कुमार साहको कप्तानीमा रहेको छ । तर, उनी घाइते छन् । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । जनकपुर बोल्ट्सको टोली निकै सन्तुलित रहेको छ । टोलीको हालसम्मको प्रदर्शन पनि उत्कृष्ट छ । 

जनकपुर बोल्ट्सको टोलीमा ब्याटिङ अलराउन्डर लाहिरु मिलनथा, क्यानडाका अलराउन्डर हर्ष थाकेर, न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर जेम्स निसाम, चर्चित बलिङ अलराउन्डर मोहम्मद मोहसिन, शुभ कंसाकार, अरनिको यादव, ललित राजवंशी, किशोर महतो, शेर मल्ललगायतका प्रभावशाली खेलाडी छन् ।

प्रभाव पार्न सक्ने खेलाडी (कर्णाली याक्स)

  • चाडविक वाल्टन

वेस्ट इन्डिजका माथिल्लो क्रममा दायाँ हाते ब्याटर निकै अनुभवी खेलाडी हुन् । ३९ वर्षीय खेलाडीले राष्ट्रिय टोलीबाट तीनै फम्र्याटको अनुभव बटुलिसकेका छन् । त्यस्तै, विभिन्न देशका फ्रेन्चाइज क्रिकेटको अनुभव पनि उनीसँग छ ।

chadwik-walton

वेस्ट इन्डिजका लागि उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा २२५ रन बनाएका छन् । उनको उच्च स्कोर ४० रहेको छ । टी–२० खेलहरूमा भने उनले १७९ इनिङ्समा ३ हजार ५७८ रन जोडेका छन् । उनको उच्च स्कोर ९९ रन (नटआउट) रहेको छ ।

कर्णाली याक्समा उनी सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा रहेका छन् । उनले ८ खेलबाट १ सय ७२ रन बटुलिसकेका छन् । उनको औसत २४.५७ रहेको छ भने स्ट्राइक रेट पनि १२३.७४ रहेको छ । उनको उच्च स्कोर ४६ रन हो ।

  • सोमपाल कामी

नेपालका सबैभन्दा अनुभवी खेलाडीहरू मध्ये एक सोमपाल कामी कर्णाली याक्सका कप्तान पनि हुन् । उनी बलिङ अलराउन्डरका रूपमा परिचित छन् । उनी मध्यम तेज गतिमा बलिङ गर्छन् । उनी सुरुवाती ओभरहरूमा विकेट लिनका माहिर छन् ।

२८ वर्षीय खेलाडीले नेपालका लागि ७४ टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ७० विकेट लिइसकेका छन् । उनको औसत २३.८५ रहेको छ भने इकोनोमी ७.१४ छ । ब्याटिङमा उनले ३२९ रन जोडेका छन् । उनको उच्च स्कोर ४० रन रहेको छ ।

उनले हालसम्म एनपीएलमा ८ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन भनेको २२ रन खर्चेर २ विकेट लिनु हो । उनको बलिङ औसत २७.१२ रहेको छ । उनले ब्याटिङमा हालसम्म ४७ रन बनाएका छन् । यसमा उनको उच्च स्कोर २९ रन रहेको छ ।

प्रभाव पार्न सक्ने खेलाडी (जनकपुर बोल्ट्स)

  • जेम्स निसम

निसम न्युजिल्याण्डका ब्याटिङ अलराउन्डर हुन् । उनी टी–२० क्रिकेटमा फिनिसरका रूपमा परिचित छन् । उनीसँग विश्वभरका लिग क्रिकेटहरू खेलेको अनुभव छ । 

उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिसकेका छन् । उनी किंग्लस इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्समा आबद्ध भएका थिए ।

अन्तर्राष्ट्रिय स्तरमा उनले न्युजिल्याण्डको राष्ट्रिय टोलीबाट ७९ टी–२० खेलहरू खेलेका छन् । यस क्रममा उनले २२.४७ को औसतले ९४४ रन बनाएका छन् । उनले ३९ विकेटसमेत लिएका छन् ।

नेपाल प्रिमियर लिगमा उनी सफल देखिएका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार्दा उनले टोलीका लागि सर्वाधिक ४५ रन बनाएका थिए । उनले मात्र २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । 

३४ वर्षीय खेलाडी हाल टोलीका लागि सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा छन् । उनले मात्र ७ खेलमा ३९.६० को औसतले १९८ रन बनाएका छन् । उनको उच्च स्कोर ६५ रन रहेको छ । उनले ३९.७५ को औसतले ४ विकेट पनि लिएका छन् ।

  • किशोर महतो

युवा खेलाडी किशोर महतो जनकपुरका लागि नेपाल प्रिमियर लिगमा सबैभन्दा धेरै विकेट लिने सूचीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म १८.७२ को औसतले ११ विकेट लिइसकेका छन् । 

kishore-mahato

उनी दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । सुदूरपश्चिमविरुद्धको पहिलो क्वालिफायरमा उनले किफायती बलिङ गर्दै ३ ओभरमा मात्र १४ रन खर्चिएर १ विकेट लिएका थिए । 

प्रतियोगितामा उनको उत्कृष्ट बलिङ प्रदर्शन भनेको ३५ रन खर्चेर ४ विकेट लिनु हो । उनले यो उपलब्धि सुदूरपश्चिमविरुद्ध नै लिग चरणको खेलमा हासिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप