बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी

बुधबार, ०३ पुस २०८१, २२ : १५
बुधबार, ०३ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको ३ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • मासु निर्यातका लागि समझदारी

नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । नेपाल तर्फबाट हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जी याङ फुड कम्पनी लिमिटेडबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । यी दुवै कम्पनी निजीस्तरका हुन् ।

  • सङ्क्रमणकालीन न्याय

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको सिफारिस समिति अन्ततः नाम नै सिफारिस नगरी भङ्ग भएको छ ।  

  • एकतामा अलमल

पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इच्छुक नदेखिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ असन्तुष्ट देखिएका छन् । माओवादीसँग एकता गर्ने निर्णय भएको ९ महिनासम्म प्रचण्डबाट औपचारिक प्रस्ताव नआएपछि विप्लव असन्तुष्ट देखिएका हुन् ।

  • विवाद अझै सुल्झिएन

 कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाभारको विवाद अझै समाधान हुन सकेको छैन । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरे पनि उक्त क्षेत्रमा काम अगाडि बढाउन स्थानीयको अवरोध कायमै छ । जसका कारण प्रसारण लाइनको पछिल्लो पटक थप भएको म्याद अवधिभित्र पनि काम सम्पन्न हुने छाँटकाँट छैन ।

  • जसपा नेपाललाई अद्यावधिक

 जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले अद्यावधिक गरेको छैन । सो पार्टीको महाधिवेशन जेठको अन्तिम साता सम्पन्न भएको थियो ।

  • कार्यविभाजन

नेकपा (एकीकृत समाजवादी)ले दशौँ महाधिवेशन सम्पन्न गरेको झण्डै ६ महिनापछि केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । लामो समय लगाएर कार्यविभाजन गरे पनि पार्टीमा देखिएको असन्तुष्टि भने पूर्ण रूपमा साम्य हुन नसकेको कतिपय नेताहरूको भनाइ छ ।

  • मोर्चा निष्प्रभावी

समाजवादी क्रान्तिको तयारीका साथसाथै राष्ट्रिय मुद्दामा समान धारणा बनाउन खोलिएको समाजवादी मोर्चाले औचित्य पुष्टि गर्न असफल देखिएको छ । नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने, नेपालको संविधानको रक्षा, कार्यान्वयन, विकास, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित २०८० असार ४ गते मोर्चा गठन गरिएको थियो । 

  • न्यायाधीश नियुक्ति

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश  नियुक्ति गर्न नसकिएको बारेमा न्याय परिषद्का पदाधिकारीले एक अर्कालाई देखाएर पन्छिएका छन् । ३४ औ न्याय परिषद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षदेखि सदस्यसम्मले अरूलाई नै देखाएर जिम्मेवारी लिनबाट पछि हटेका हुन् ।

  • निर्देशन

नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा बुधबार केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठक राखेर यस्तो निर्देशन दिएका हुन् ।

  • नेपाल प्रिमियर लिग

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप