बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भक्तपुर हत्या प्रकरण

मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या

बुधबार, ०३ पुस २०८१, २२ : १०
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । भक्तपुर नगरपालिका वडा नम्बर–२ स्थित सहिद स्मृति खेल मैदान नजिकै पुस २ मा राति बुवाले छोराको हत्या गरे । राति १० बजेर १५ मिनेटमा अछाम घर भएका ६३ वर्षीय दिपबहादुर शाहीले छोरा नरेन्द्रको हत्या गरेका हुन्  

नरेन्द्र शाही ३१ वर्षका थिए । पत्नीसँग भारतको बम्बईमा काम गर्ने नरेन्द्र मिर्गौला सम्बन्धी समस्या देखिएपछि १ वर्षअघि नेपाल फर्किएका हुन् । पत्नी बम्बईमै बस्थिन् । दुधपाटीस्थित अंग प्रत्यारोपण केन्द्रमा चेकजाँच गर्दा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारसँगको सल्लाहमा अस्पताल नजिकै डेरा लिए । एउटा कोठा लिएर बुवालाई पनि ल्याएर राखे । उनको ६ वर्षीय र १५ महिनाको छोरालाई पनि भक्तपुरमा ल्याए ।

बुवाले उनलाई मिर्गौला दिने कुरा भयो । अस्पतालमा चेकजाँच गर्दा ‘म्याच’ भएपछि प्रत्यारोपण गर्ने मिति यकिन भयो । प्रत्यारोपणको दिन नजिकिँदै थियो । अछामबाट आमालाई बोलाए । चार दिनअघि मृतक नरेन्द्रकी आमा भक्तपुरमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘मिर्गौला प्रत्यारोपणकै लागि लगनखेल बस्ने २२ वर्षीय नरेन्द्रको सालो र साढुदाई पनि मङ्गलवार उनीहरूको डेरामा आएको देखिन्छ ।’

मिर्गौला प्रत्यारोपणका लागि बुवा र छोरा दुवै जना अस्पताल भर्ना हुनुपर्ने थियो । तर, त्यसअघि पनि बुवाले मिर्गौला दान गर्न आनाकानी गरेपछि अस्पतालबाट मिति सारिएको थियो । प्रत्यारोपण गर्ने विषयमा विवाद हुँदा बुवाले अचानक छोराको छातीमा चक्कुले प्रहार गरेको डीएसपी ढुण्डिराज न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘मिर्गौला प्रत्यारोपणको विषमा विवाद हुँदा चक्कु प्रहार गरेर हत्या गरेको देखिन्छ ।’ 

दिपबहादुरले सुरुमा खाना खाँदै गरेको छोराको छातीमा प्रहार गरे । मृतकको साढुभाई र सालाले छुट्ट्याउन खोजेका थिए । तर, उनीहरूलाई पनि दिपबहादुरले आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । डीएसपी न्यौपाने भन्छन्, ‘मृतकको सालोलाई प्रहार गर्न खोज्दा चक्कु भाँचिएको उनीहरूको भनाई छ ।’ 

तत्कालै मिर्गौला प्रत्यारोपण गर्ने शाही परिवारको योजना दुःखान्तमा परिणत भएको छ । ६३ वर्षको उमेरमा दिपबहादुर आफ्नै छोराको हत्या गरेको कसुरमा हिरासतमा पुगेका छन् । उनीबिरुद्ध ज्यानसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप