बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’

बुधबार, ०३ पुस २०८१, २० : २३
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न बैंकर्सको भूमिकाको प्रशंसा गरेका छन् । नेपाल बैंकर्स संघको ३८ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रले कठिन समयमा राम्रो खरो भएर सहयोग गरेको बताएका हुन् । 

अधिकारीले बैंकहरुले सरकारको आर्थिक नीति वित्तीय नीतिलाई सहयोग समेत गरिरहेको भन्दै यसप्रति गर्व गर्नुपर्ने बताए । अहिलेको अवस्थामा भने बाह्य वातावरणले बैंकिङ क्षेत्र आफैँ समस्यामा रहेको उनको भनाइ छ । ‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौँ, बैंकर साथीहरूले सघाउनु भएको छ,’ अधिकारीले भने, ‘हामीले काम गर्दा प्रशस्त चुनौती छन् । बैंकिङ क्षेत्र झनै धेरै चुनौती छ, त्यसलाई चिर्नेगरी काम गर्नु पर्नेछ ।’

‘पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर, प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौँ । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ,’ उनले भने । 

यद्यपि पछिल्लो समय बैंकहरुले कर्जा विस्तारमा ध्यान नपुर्‍याएको उनको भनाइ छ । बैंकहरुले कर्जा विस्तारमा ध्यान पुर्‍याएको भए अहिलेको समस्या नआउने उनको भनाइ थियो । उनले राष्ट्र बैंकले अहिले बैंकहरुलार्ई लाभांश दिन नरोकेको समेत बताए । ‘यो वर्ष कुनै बैंकले २६ प्रतिशतसम्म लाभांश बाँड्नुभयो कसैले बाँड्न सक्नुभएन,’ अधिकारीले भने, ‘हामीले गर्दा लाभांश बाँड्न नपाएको, घटेको होइन । घट्ने भए २६ प्रतिशत दिनेले पनि बाँड्न सक्दैनथ्यो ।’

कार्यक्रममा नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र चार दशककै कठिन अवस्थामा रहेको भन्दै बाह्य क्षेत्र र देशको क्रेडिट रेटिङ राम्रो हुँदा पनि बैंक समस्यामा परेको बताए । 

‘ऋण गइरहेको छैन । लिक्विडिटीमा समस्या छ। कहिले धेरै हुने, कहिले कम हुने भइरहेको छ । हामीले वर्षको ४० अर्बभन्दा कर तिरेका छौँ । तर अहिले बैंकिङ सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ,’ उनले भने । 

नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौँको एक होटलमा भएको साधारण सभाको उद्घाटन सत्रअघि बैंकर्स संघको बन्दसत्र सम्पन्न भएको थियो । उक्त बन्दसत्रले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्व रहने गरी आगामी दुई वर्षे कार्यकालको लागि कार्यसमिति निर्विरोध चयन गरेको छ । 

संघको उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी आएका छन् । त्यस्तै, सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन सानिमा बैंकका सीइओा निश्चलराज पाण्डे, प्राइम कमर्शियल बैंकका सीईओ सञ्जिव मानन्धर सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, कुमारी बैंकका सीईओ रामचन्द्र खनाल र नेपाल बैंकका सीईओ  तिलकराज पाण्डेय रहेका छन् । 

भर्खरै मात्र निवर्तमान बनेका सुनिल केसी अध्यक्षपछिको वरियताका पदेन सदस्यको छन् । हिमालयन बैंकका सीईओ अशोक सम्शोर जबरा र नबिल बैंकका सीईओ ज्ञानेन्द्र  ढुंगाना कार्यसमितिको सल्लाहकारको रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप