घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दशौँ महाधिवेशन सम्पन्न गरेको झण्डै ६ महिनापछि केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । लामो समय लगाएर कार्यविभाजन गरे पनि पार्टीमा देखिएको असन्तुष्टि भने पूर्ण रूपमा साम्य हुन नसकेको कतिपय नेताहरूको भनाइ छ ।
जिम्मेवारी हेरफेरसहित भएको पछिल्लो कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसालले पाएका छन् । खनाल यसअघि विदेश विभाग प्रमुख रहेकोमा उनको विभाग फेरिएको हो । खनाल निकट स्रोतका अनुसार उनी फेरि विदेश विभाग नै चाहन्थे । तर अध्यक्ष नेपालले आफू निकटका प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएका छन् । त्यस्तै नेता घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाएका छन् । अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् ।
युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन् । यद्यपि कार्यविभाजनको औपचारिक निर्णय सो पार्टीले सार्वजनिक गरेको छैन ।
स्थायी कमिटी बैठकले ३४४ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । ‘सबै केन्द्रीय नेताहरूको कार्यविभाजन भएको छ तर पूरा विवरण बिहीबारमात्र सार्वजनिक गर्छौं’, खतिवडाले भने ।
गत असारमा महाधिवेशन भए पनि लामो समयसम्म कार्यविभाजन गर्न नसकेको भन्दै नेतृत्वसँग केही नेताले चर्को असन्तुष्टि जनाएका थिए ।
स्थायी कमिटी बैठकमा लामो समय नेता–कार्यकर्ता जिम्मेवारीविहीन हुनुपरेको, संगठन र कमिटी निर्माणको काम नेतृत्वका कारण ठप्प भएको भन्ने नेताहरूलाई समेत जिम्मेवारी प्रदान गरिएको छ । यसले केही हदसम्म सहज भए पनि सवै विवाद र असन्तुष्टि साम्य भइनसकेको नेता बलराम बाँस्कोटाले बताए ।
‘कार्यविभाजनले सबै विवाद र असन्तुष्टि सामसुम भयो भन्ने होइन । सकारात्मकतातिर पार्टी अघि बढ्दैछ भन्न सकिन्छ । किनभने अब एकमना एकता कायम गरेर जाने भन्नेमा सबै नेताहरूको जोड हो’, बाँस्कोटाले भने ।
उनले एउटा गतिशील पार्टीमा वादविवाद, सन्तुष्टि, असन्तुष्टि भइरहने पनि बताए ।
यसअघि नेताहरूको कार्यविभाजनमा ढिलाइ भएको तथा पार्टी विभाजनतर्फ उन्मुख भएको भन्दै नेता जीवनराम श्रेष्ठ, डा. विजय पौडेलसहितका नेताहरूले केन्द्रीय कमिटी, पोलिटब्यूरो र पदाधिकारी चयनमा समेत नेतृत्वले गरेको गल्ती सच्याउनुपर्ने मागसहित अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरूलाई ध्यानाकर्षणपत्र नै बुझाएका थिए ।
गत असोजमै श्रेष्ठसहितका नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएपछि अध्यक्ष नेपालले असन्तुष्ट नेताहरूलाई छुट्टाछुट्टै बोलाएर पटक–पटक छलफल गरेका थिए । त्यो छलफलमा कार्यविभाजन गर्दा सबैको चित्त बुझ्नेगरी गर्ने भन्दै नेपालले असन्तुष्टहरूलाई मनाउने प्रयास गरेका थिए । त्यसपछि अध्यक्ष नेपालकै संयोजकत्वको कार्यदलले लामो समय लगाएर कार्यविभाजन गरेको थियो ।
कार्यविभाजन गर्नुअघि अध्यक्ष नेपालले २४ सदस्यीय स्थायी कमिटीलाई असन्तुष्टसहितका १७ नेता थपेर ४१ सदस्यीय बनाएका थिए । ४१ सदस्यीय स्थायी कमिटी विधान विपरीत भएको भन्दै उपमहासचिव राजेन्द्र राईले फरक मत नै राखेका थिए । तर राईको फरक मतमाथि अध्यक्ष नेपालले कुनै छलफल गर्न चाहेनन् ।
थपिएका स्थायी कमिटी सदस्यसहितको पछिल्लो बैठकमा पनि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसहितका नेताहरूको कार्यशैलीप्रति चर्को आलोचना भएको थियो । नेताहरूको आलोचनापछि नेपाल र भुसालसहितका नेताहरूले गल्ती स्वीकार गर्दै आत्मालोचना समेत गर्नुपरेको थियो ।
नेता घनेन्द्र बस्नेत कार्यविभाजनपछि पार्टीमा रहेको धेरैजसो असन्तुष्टि हल भएको बताउँछन् । ‘शत प्रतिशत असन्तुष्टि साम्य भयो भन्ने होइन, तर धेरैजसो हल भयो’, बस्नेतले रातोपाटीसँग भने, ‘पहिला कतिपय साथीहरू जिम्मेवारीविहीन हुने अवस्था थियो तर अहिले सबैले केही न केही जिम्मेवारी प्राप्त गर्नुभएको छ ।’
धेरैजसोले चाहेको र खोजेकै जिम्मेवारी पाएको भन्दै बस्नेतले सबैले जिम्मेवारी लिएर काम गर्ने भनेपछि असन्तुष्टिको पारो स्वतः कम हुने बताए ।
उनले महाधिवेशनमा जे–जस्ता विवाद र अन्तरविरोध भए पनि त्यसमाथि आग्रह–पूर्वाग्रह नराखी जिम्मेवारी प्रदान गर्ने सहमति अनुसार कार्यविभाजन भएको बताए ।
‘आग्रह–पूर्वाग्रह नराखी नै जिम्मेवारी दिउँ र काम हेरौँ भन्ने नेतृत्वको चाहना भयो’, उनले भने, ‘असन्तुष्ट सबै नेताहरूले जिम्मेवारी पाउनुभएको छ ।’
एकीकृत समाजवादीमा चर्को असन्तुष्टि जनाउनेमध्येका नेताहरू जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, बलराम बाँस्कोटा, हरि पराजुली, किसान श्रेष्ठ, प्रेम आले लगायत सबैलाई जिम्मेवारी दिएको बस्नेतको भनाइ छ । तर प्रतिनिधि सभा सदस्यसमेत रहेका किसान श्रेष्ठले कार्यविभाजन र जिम्मेवारीबारे आफूलाई केही थाहा नभएको बताए ।
‘हामी विद्रोही सांसदसँग कसैले केही सोधेको पनि छैन । नसोधी कसरी जिम्मेवारी दिए होलान् ?’, श्रेष्ठले प्रतिप्रश्न गरे ।
पछिल्लो कार्यविभाजनमा जीवनराम श्रेष्ठले पर्यटन विभागको नेतृत्वका साथै अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको आन्दोलन परिचालन समितिको सचिवको जिम्मेवारी पाएका छन् । त्यसैगरी नेतृ रामकुमारी झाँक्रीले विद्यार्थी मोर्चाको नेतृत्व पाएकी छन् भने हरि पराजुलीले कृषि विभागको जिम्मा पाएका छन् । डा. विजय पौडेलले यसअघि नै पाएको अर्थ योजना विभाग पाएका छन् ।
‘स्थायी कमिटीमा त सबै सन्तुष्ट नै छन्’, पराजुलीले भने, ‘पार्टी विभाजन हुँदैथियो । त्यो रोक्न दुवैतिरबाट पहलकदमी भयो । मागेअनुसार जिम्मेवारी पाउँछौँ भन्ने पनि भयो होला । विविध घटनाक्रमले पार्टी विभाजन रोकियो ।’
उनले आफ्नो ध्यान पार्टी विभाजन रोक्नमात्र केन्द्रित भएको भन्दै तत्काललाई समस्या समाधान भएको बताए ।
सचिव सोमप्रसाद पाण्डेले पार्टीभित्र पहिला पनि चर्चामा आएजस्तो विवाद र असन्तुष्टि नरहेको भन्दै सबै असन्तुष्टिलाई सम्बोधनको प्रयास गरेरै कार्यविभाजन गरेकाले अब पार्टी एकमना एकताका साथ अघि बढ्ने दाबी गरे ।
‘कार्यविभाजन गर्दा कतिपयलाई उहाँहरूले नै इच्छा व्यक्त गरेको त कतिपयलाई सोधेर यो काम जिम्मा लिन तयार हुनुहुन्छ भन्दा तयार छु भन्नुभयो’, पाण्डेले भने, ‘बाहिर मिडियामा जति समस्या देखाइयो, भित्र त्यस्तो थिएन ।’
पाण्डेले विभाग, आयोगसहित प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र इन्चार्ज हुनेगरी कार्यविभाजन भएको बताए ।
स्रोतका अनुसार ३४४ जनाको कार्यविभाजनको प्रारम्भिक खाका महासचिव घनश्याम भुसालले बनाएका थिए । तर भुसालको प्रस्तावित खाकामा अध्यक्ष माधवकुमार नेपालले कैँची चलाएर हेरफेरसहित कार्यविभाजनको अर्को लिस्ट तयार गरेका थिए । त्यसक्रममा भुसालले समेत रोजेको जिम्मेवारी पाएनन् । उनले संगठन विभाग रोजेका थिए ।
अध्यक्ष नेपालले सबै नेताहरूलाई व्यक्तिगत रूपमै सम्पर्क गरी जिम्मेवारीबारे सोधखोज गरेका थिए । ‘महासचिवले गरेको प्रस्तावमा अध्यक्षले धेरै छाँटकाँट गर्नुभएको हो । नत्र यत्रो समय लाग्दैनथ्यो’, एक नेताले बुधबार रातोपाटीसँग भने, ‘ढिला भए पनि अध्यक्षले सबैलाई मनाउने प्रयासस्वरुप कार्यविभाजन गर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
-
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार