बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे

‘शेरबहादुर दाइको शेखर वा गगनलाई समर्थन हुन्छ जस्तो मलाई लाग्दैन’
बुधबार, ०३ पुस २०८१

पार्टीभित्र चरम गुटबन्दी भएको भन्दै नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कुनै बेला सक्रिय राजनीतिबाट बिदा लिने मुडमा पुगेको सङ्केत देखाएका थिए । तर नेविसंघका पूर्वअध्यक्ष तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य घिमिरेले देखाएको सङ्केत व्यवहारमा लागु भएन । बरु उनी राजनीतिमा अझ बढी सक्रिय भएर लागेका छन् ।

१५औँ महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी रहँदै महाधिवेशनलाई लक्षित गरी काठमाडौँमा सम्पर्क कार्यालय खोलेपछि उनी अहिले चर्चामा छन् । पार्टीमा नेता शेखर कोइराला निकट मानिने घिमिरेसँग १५औँ महाधिवेशनका बारेमा केन्द्रित रहेर रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • विद्यालयमा पढ्दा गणितमा पूर्णाङ्क नै ल्याउने तपाईं राजनीतिक गणितमा किन असफल ?

गणितजस्तै राजनीति एक्युरेट नहुने रहेछ । गणितको बाटो पनि एउटै हुन्छ र परिणाम पनि एउटै हुन्छ । राजनीति पनि त्यस्तै होस् भन्ने लाग्छ मलाई । तर राजनीति त्यस्तो छैन ।

  • तपाईं चलन चल्तीको राजनीतिमा फिट हुनु भएन ?

चलनचल्तीको राजनीति मलाई मन पर्दैन । त्यसको म आलोचना पनि गर्छु ।

  • तपाईं संस्थापनको सधैँ विपक्षमा रहनु भयो, अनि असफल हुनुभयो भनेर भन्न सकिन्छ ?

निरपेक्ष रूपमा कुनै नेताको विरोध र समर्थन गर्ने काम मैले गरिनँ ।

gururaj ghimire (1)

  • तर अहिले त तपाईं निरपेक्ष रूपमा शेखर कोइरालाको समर्थक हो नि ?

पार्टी सभापतिले गरेका कामहरू आलोचनामुक्त छैनन् । उहाँलाई भनेको के हो त ? विधानको व्यवस्थालाई कार्यान्वयन गर्नुस् भनेको त हो नि । चार वर्षभित्र महाधिवेशन गर्नुस् भनेको त हो नि ।

  • तपाईँहरूले कति हतारो गरेको ? एक वर्ष बाँकी छ महाधिवेशन आउन, अहिले नै सम्पर्क कार्यालय खोलेर तमासा किन ? महाधिवेशन समयमा होला नि त ?

महाधिवेशनको प्रक्रिया सुरु गरेको खोइ ? कार्यतालिका खोइ ? महाधिवेशनको प्रक्रिया टुङ्ग्याउन एक वर्ष लाग्छ । आठ लाख ५२ हजार सदस्यको सदस्यता नवीकरण, वडा अधिवेशनदेखि केन्द्रीय अधिवेशन गर्न एक वर्ष लाग्छ । विधानको परिपालना कहिले गर्ने ?

  • यो प्रश्न सभापतिलाई हो कि महामन्त्रीहरूलाई पनि हो ?

जल्दाबल्दा युवा साथीहरू नै पदाधिकारी छन् । मुलुकले पनि आश गरेका साथीहरू हुनुहुन्छ । अनि पनि विधानको परिपालना किन नगर्ने ? अब त बुढा नेता, सभापतिमाथि मात्रै प्रश्न उठ्दैन नि त !

  • प्रश्न त तपाईंहरूमाथि नै उठ्ने भयो नि, तपाईंकै गुटले बनाएको महामन्त्री होइन र ?

उहाँहरूले विधानको पालना गर्ने तदारुकता देखाउनु भएन, अग्रसरता देखाउनु भएन । अग्रसरता देखाउनु भएन भने त उहाँहरूमाथि उठेको प्रश्न हामीतिर पनि सोझिन्छ नि ।

तपाईँहरू सभापति बन्न हरप्रयास गर्ने, यदि सकिएन भने पार्टी फुटाउने तहमा पुग्नु भएको हो ?

यो अतिरञ्जित दुष्प्रचार हो ।

  • पार्टीको निर्देशनविपरीत भेलाहरू गर्दै हिँड्ने, पार्टीका आधिकारिक भेला बहिष्कार गर्ने काम पार्टी फुटाउने गतिविधि नभएर के हो ?

समानान्तर भेला गर्दै हिँड्ने बिरुवा कसले रोपेको ? अहिले भर्खर बीजारोपण भएको हो त ? यस्तो भेला बोलाउने बीजारोपण गर्ने त अहिलेका परमादरणीय सभापति शेरबहादुर देउवाजी नै हो । त्यही नजिर होइन ?

  • शेरबहादुर देउवा हुँदैन भन्ने अनि उहाँकै अनुसरणलाई पछ्याउने हो भने तपाईं र उहाँमा फरक के भयो त ?

उहाँलेचाहिँ भन्न मिल्दैन क्या ! जसले गरिसक्यो नि, उसले चाहिँ भन्न मिल्दैन । यसलाई अतिरञ्जित ढङ्गबाट व्याख्या गर्न पाइँदैन । पार्टीका वैधानिक संरचनाले गरेका भेला हुन् ती ।

gururaj ghimire (4)

  • विधिको कुरा गर्ने तपाईँहरूले कोशीमा पार्टीले गरेको वैधानिक भेलालाई किन बहिष्कार गर्नुभएको ?

बोलाउनु परेन ? उहाँहरूले शेखर कोइरालालाई जसरी पनि ल्याऊ भनेर उद्धव थापालाई भन्नुभयो ? त्यो गुरु घिमिरे भन्ने एउटा निरीह मान्छे कहाँ छ भनेर सोध्नुभयो ? हिजो तिमीसँगै प्रतिस्पर्धा गरेर दुई मतले मात्र हारेको मान्छे कहाँ छ भनेर खोज्नुभयो ? सोध्नुभयो ? पार्टीका पदाधिकारीहरूले सोध्नुभयो ? प्राविधिक र यान्त्रिक बहुमतले पार्टी चल्दैन । अझ यो उदारवादी पार्टी हो । लोकतान्त्रिक पार्टी हो ।

  • विधिले त चल्नुपर्ला नि ?

अनि विधिको पालना उहाँहरूले गर्नुभएको छ ? म प्रतिस्पर्धी दुई मतले  पराजित भएको । मलाई भेलामा बोलाउनुभयो कोशी प्रदेशको अध्यक्षले ? उहाँको निजी मामिला हो ? पार्टी सभापति उद्धव थापाको घरेलु मामिला हो ? कोइरालाहरूले पेले भनेर शेरबहादुर दाइले पार्टी फुटाएको होइन ?

  • १४औँ महाधिवेशनमा शेखर कोइराला सभापतिमा पराजित हुनुभएको त हो नि, कि त्यो पनि होइन ?

नजित्नु भएको हो ।

  • यसको मतलब उपविजेता ?

उपविजेता पनि हुँदैन । मेडल हुन्छ र उपविजेता ? राजनीतिमा मेडल हुन्छ ?

  • पराजित हुनुभएको कुरा स्विकार्नुहुन्न त ?

पराजित हुनुभएको हो ।

  • पराजितले जितेकोलाई पार्टी चलाउन नदिएर किन प्रतिशत खोजेर हिँड्नुभएको शेखर ? त्यसले पार्टी चलाउन समस्या पर्‍यो भन्ने छ नि ?

विधान अगाडि राख्नुस् । विधानको मर्म अनुसार पार्टी चलाउनुस् । हामीलाई कुनै प्रतिशत चाहिँदैन भनेकै हो । तर पार्टी सभापति शेरबहादुर दाइले पार्टीका साथीहरूको उपस्थितिलाई नजरअन्दाज गर्न थाल्नुभयो । साथीहरूको अस्तित्वलाई अस्वीकार गर्न थाल्नुभयो । गुटको चस्माले हेर्न थाल्नुभयो । एउटा उदाहरण मात्र,  यद्यपि म यो परिपाटीको विरोधी पनि हुँ । तर म दुई मतले पराजितलाई केन्द्रीय सदस्य किन बनाउनु भएन ? अनि मभन्दा बढी मतले पराजितलाई किन केन्द्रीय सदस्य बनाउनुभयो ? उहाँले राम्रो चलाउनु भएको छ पार्टी ? विवेकशील भएर चलाउनुभएको छ पार्टी ? आफूलाई भोट दिनेलाई मात्र अवसर दिन थाल्नुभयो । अनि साथीको बारे बोल्नुपरेन ? पार्टी जित्नेको मात्र हुन्छ र ? जो जिता उही सिकन्दर ? थमादिया डण्डा, वनगया हवल्दार ? त्यस्तो हुन्छ ?

  • आगामी सभापतिका लागि शेरबहादुर देउवाले समर्थन नगरेपछिको आक्रोश हो यो डा. शेखरको ?

होइन, त्यो एउटा त समय नै भएको छैन । अर्को कुरा, शेरबहादुर दाइ जीवनको उत्तरार्द्धमा पनि हुनुहुन्छ । र, आवधिक रूपमा दुई पटक सभापति भइसकेको व्यक्ति विधानको व्यवस्थाले फेरि सभापति पनि हुन पनि पाउँदैन । तसर्थ उहाँ अभिभावक भएर बस्दा राम्रो भन्ने हुन्छ ।

  • तपाईँहरूले धेरै निहुँ खोज्नुभयो भने विधान परिवर्तन पनि हुन सक्ला नि त ?

विधान त हाम्रो पनि होला नि । उहाँको मात्रै होइन होला त !

  • आउँदो महाधिवेशनमा डा. शेखर सभापतिमा उठ्ने निश्चित भइसकेको हो ?

उठ्छु भन्नुभएको छ । म जान्छु । अन्तिममा मै हो निर्विवाद भन्नु भएको छ ।

  • तपाईंको समूहबाट जितेको महामन्त्रीले त छाडिसक्नुभयो होइन ?

फुटेको अहिलेसम्म मलाई त आभासै छैन ।

  • कुनै बेला शेखर–गगन समूह भन्ने थियो नि, त्यो अहिले पनि छ त ?

मलाई त अहिलेसम्म फुटेको जानकारी छैन ।

  • कोशी प्रदेशको भेलामा गगन थापा नै जानु भएको थियो । अनि तपाईँहरूलाई उहाँले नै नखोजेपछि उहाँ कसरी तपाईँहरूको समूहमा रहनुभयो त ? 

उहाँको कमजोरी हो । उहाँले कमजोरी गर्नुभएको हो । विराटनगर गएर बोल्दा उहाँले प्रश्न उठाउनुपर्थ्यो । उहाँको कमजोरी हो । उहाँसँग भेट हुँदा पनि भन्छु । सम्मेलनको अर्को पक्ष खै ? महाधिवेशनको अर्को नेता खै ? उहाँको दायित्व र कर्तव्य हो, त्यसमा उहाँ चुक्नुभएको छ । जबकि यसबारे उहाँलाई अगाडि नै जानकारी गराइएको थियो ।

  • यसलाई नै समूह छाडेको सङ्केत हो भनेर बुझ्न सकिन्न त ?

१४औँ महाधिवेशनको समूहमा म छैन, म अलग्गिएँ, म आफ्नो बाटो हिँड्छु त भन्नुभएको छैन नि ।

gururaj ghimire (3)

  • १३औँ महाधिवेशनपछिको कांग्रेस र १५औँ महाधिवेशनको मुखमा आएको कांग्रेसमा केही फरक छ ?

पार्टी सञ्चालनका हिसाबले केही फरक छैन । नयाँपन केही देखिएन । विधान उल्लङ्घन गर्ने काम अहिले पनि निरन्तर भयो । यो काम पार्टी सभापति र पदाधिकारीको साझेदारीमा भयो । यसमा धेरै कुरा छन् । त्यसभित्र यहाँ प्रवेश नगरौँ । अहिलेको कार्यसमितिलाई पासमार्क दिन सकिँदैन ।

  • त्यसो हो भने विश्वप्रकाश, गगन थापाले जितेकोमा अविरजात्रा गर्नुको के अर्थ भयो त ?

हामीमाथि प्रश्न उठ्यो । दुवै महामन्त्रीले कसैले चर्को स्वरमा, कसैले नरम स्वरमा सुरुसुरुमा धेरैथरी प्रश्न उठाउनुभयो । अहिले त प्रश्न उठाउन पनि छाड्नुभयो । अनि प्रश्न उठाउने ठाउँमा हो त उहाँहरू ? चार वर्षसम्म कामै नगरी बस्ने हुन्छ त ?

  • किन यस्तो भयो ?

प्रयत्न कति गर्नुभयो भन्ने हुन्छ । प्रयत्न गरेको भए परिणाम आउँथ्यो । उहाँहरूका लम्बेतान दस्ताबेज आएका होइनन् महाधिवेशनमा ? त्यसमा लेखिएका कति काम भए ?

  • आउने महाधिवेशनमा शेखर कोइराला र शेरबहादुर देउवाको तर्फबाट गगन थापाबिच सभापतिमा प्रतिस्पर्धा हुने सम्भावना बढेर गएको हो ?

शेरबहादुर दाइको सभापतिको उम्मेदवार गगन थापा हो भन्ने कुरा मलाई एक रति, एक प्रतिशत पनि लाग्दैन ।

  • शेखर कोइरालालाई समर्थन होला त देउवाको ?

मलाई त्यस्तो लाग्दैन । शेरबहादुर दाइको दुवैलाई समर्थन हुन्छ जस्तो मलाई लाग्दैन । कहीँ पनि त्यस्तो छिद्र देख्दिनँ । आफ्नै गुट छ नि उहाँको ।

gururaj ghimire (2)

  • शेखर कोइरालाले १४औँ महाधिवेशनमै मेरो यो पहिलो र अन्तिम पटक भन्नुभएको होइन ?

भन्नुभएको हो । सँगसँगै संसदीय दलको नेताको चुनावमा विश्वप्रकाशजी, प्रदीप पौडेलसमेत भएको ठाउँमा गगनजीले के बोल्नुभयो, त्यो पनि त कानमा गुञ्जिरहेको छ नि ।

  • के बोल्नुभयो ?

अहिले म संसदीय दलमा उठ्छु, १५औँको सभापति शेखर कोइराला भन्नुभएको हो । राजनीति भनेको छापामार युद्धजस्तो होइन नि । झुक्याउने र ठोक्ने ।

  • महाधिवेशनमा शेखर–गगन एकैठाउँ हुने सम्भावना कति छ ?

आपसमा बसेर सल्लाह गर्नुस् । परामर्श गर्नुस् । परिस्थिति हेर्नुस् । अवस्था हेर्नुस् । मिलेर अघि बढ्नुस् ।

  • मैले मिल्ने सम्भावनाको प्रश्न गरेको नि ?

हिजो मिल्ने, आज फुट्ने । सार्वभौम उहाँहरूमै निहित छ भन्ने कुरा छैन नि । हिजो हामीले एकै ठाउँ ल्याएको हो । अरू साथीहरूको भविष्य हेर्नुपर्दैन ? साथीहरूलाई सोध्नुपर्दैन ? एकै ठाउँ बस्नुपर्छ ।

  • कांग्रेस–माओवादीको सरकार हुँदा एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्नुभयो । भयो पनि । फेरि यो सरकारको पनि विरोध गर्दै हिँड्नुहुन्छ ? शेखर कोइराला बोलीको ठेगान नभएको नेता हो ?

सरकार फेर्नुपर्छ भन्नुभएको छैन । सरकारले डेलिभरी दिन सकेन भन्नुभएको हो । सरकार सुशासन, तीव्र भौतिक विकास, संविधान संशोधनका विषयमा एकै पाइलो अघि बढेन भन्ने कुरा हो । गठबन्धनको विरोध गरेको होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया