परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा करिब दुई हप्तादेखि युरोप भ्रमणमा छिन् । उनी पुस ५ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबिच परराष्ट्रमन्त्री राणा भारत जाने चर्चा पनि चुलिएको छ । यद्यपि त्यसको औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतले उनको भ्रमणबारे टुङ्गो नलागेको जनाएको छ ।
युरोप भ्रमणकै क्रममा परराष्ट्रमन्त्री राणा भारत जाने तयारीमा जुटेको बताइएको छ । भारतमा आयोजना हुने एउटा कार्यक्रममा सहभागी हुने र आफ्नो स्वास्थ्य जाँचका लागि उनी भारत जान लागेको स्रोत बताउँछ ।
स्रोतका अनुसार भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले उच्चस्तरीय भेटवार्ताको योजना बनाए पनि कार्यतालिका नमिलेका कारण उनको भ्रमण टुङ्गो लाग्न नसकेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयलाई लिएर मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबिच भेटघाट भएको थियो ।
भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलगायत अन्य समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बारेमा भने सो भेटवार्तामा चर्चा नभएको स्रोत बताउँछ ।
परराष्ट्र मन्त्रालयका ती अधिकारीले भने, ‘केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै आन्तरिक रूपमा भारत भ्रमणको तयारी चलिरहेको छ । त्यो अझै कायम छ ।’
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री भारत जाने तय भएपछि मात्र भेटवार्ता लगायतका कार्यक्रम तय हुनेछन् । परराष्ट्रमन्त्री राणा बुधबार जर्मनीको एउटा कार्यक्रममा सहभागी हुँदै छिन् । सो कार्यक्रमपछि केही उच्चस्तरीय भेटघाट गरी उनी नेपाल फर्किने कार्यक्रम छ । यद्यपि, उनी नेपाल फर्किने कि उतैबाट भारत सकेर नेपाल फर्किने भन्ने टुङ्गो लागेको छैन ।
भारतमा उच्चस्तरीय भेटघाट हुने तय भएमा परराष्ट्रमन्त्री राणा भारत हुँदै नेपाल फर्किने, अन्यथा सोझै नेपाल आउने स्रोत बताउँछ । यस क्रममै भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि अन्य उच्चस्तरीय भेटघाट मिलाउने प्रयास भइरहेको स्रोतले जनाएको छ ।
भारतमा हुने आर्थिक सम्मेलनमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा पुस ५ गते हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि उच्चस्तरीय भेटवार्ताको समय नमिलेको खण्डमा उनी भारत नगई युरोपबाट सोझै नेपाल फर्किने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलबाट विपिन सकुशल घर फर्किने आशामा परिवार
-
हमासले १५ महिनादेखि बन्धक बनाएका तीन तन्नेरी इजरायल फर्किए, युद्धविरामको अन्तिम घडीमा १९ मारिए
-
शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड
-
प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
-
६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण
-
१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म