बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बुटवलमा औद्योगिक व्यापार मेला सुरु

बुधबार, ०३ पुस २०८१, १६ : ४८
बुधबार, ०३ पुस २०८१

बुटवल । उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मेलाको उद्घाटन गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको बताए। उनले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुक अस्थिर भएको र लगानीको वातावरण समेत बिग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठुला दल मिलेर सरकार बनाएको जिकिर गरे । 

यो सरकार पूरा अवधि रहने र राजनीतिक स्थिरता पनि कायम भई लगानीको वातावरण बन्ने उनले विश्वास दिलाए। ऊर्जा मन्त्री खड्काले वर्तमान सरकार बनेपछि दश वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको जानकारी दिए । 

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन सङ्घीय सरकारसँगै प्रदेश सरकार पनि लागि परेको बताए ।

 बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले  उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि साझा एजेन्डा बनाएर अगाडि बढाउनु पर्नेमा बताए ।   

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेको थियो । यो २४ औँ संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यावसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिष्कृत रूपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताए । 

औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड इलेकट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एन्ड वेभरेज), अटोमोबाइल्स र होटलको छुट्टा छुट्टै १० वटा पभिलियन रहेका छन् । 

त्यसै गरी दुबई फिस टनेल सहितको बाल उद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक साङ्गीतिक कार्यक्रम हुनेछन् ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, ब्युटी फियर, टिकटक लगायतका प्रतियोगिता गरिने छ । 

त्यसै गरी ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईँले जानकारी दिए मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप