जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायर खेलमा पराजित भएको जनकपुर बोल्ट्सले अब बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले १८.३ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
सुदूरपश्चिम रोयल्सको जितमा ओपनर ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतकीय योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले अविजित ५८ रन बनाए । उनले केवल ५५ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । जारी एनपीएलमा बनेको यो २६औँ अर्धशतक हो ।
अर्का ओपनर सेफ अली जेबले पनि टोलीका लागि ३२ रनको योगदान गरे । उनले केवल २१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्रान्डन म्याकमलेनले पनि २५ रन बनाए । उनले १९ बलमा एक छक्का र एक चौका पनि हिर्काए ।
कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे । उनले १६ बलमा एक छक्का र एक चौका पनि हिर्काए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि ६ रन पायो । जनकपुर बोल्ट्सका बलरहरु खासै प्रभावकारी देखिएनन् । ललित राजवंशी र किशोर महतोले एक–एक विकेट लिए ।
त्यसअघि, जनकपुर बोल्ट्सका लागि छैटौँ नम्बरका ब्याट्सम्यान जेम्स निसामले ४५ रनको योगदान गरेका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले २३ बलमा तीन छक्का र तीन चौका हिर्काए । दुबै ओपनर ब्याट्सम्यानले जनकपुर बोल्ट्सलाई गतिलो सुरुवात दिन सकेनन् ।
ओपनर लाहिरु मिलनथा १४ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । आसिफ शेख पनि लामो समय क्रिजमा टिक्न सकेनन् । नियमित कप्तान अनिल साहको अनुपस्थितिमा कप्तानको भूमिका निर्वाह गरिरहेका आसिफले १० बलमा दुई चौकाको मद्दतले ११ रन बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले टोलीको खातामा २६ रन थपे । उनले २४ बलको सामना गरी चारवटा चौका पनि प्रहार गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान हर्ष थाकेर पनि १४ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अरनिको यादवले २० बलमा ११ रन बटुले । सातौँ नम्बरका ब्याट्सम्यान मोहम्मद मोहसिन पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । उनको स्थान लिन आएका आकाश त्रिपाठी चार रनमा अविजित रहे । शेर मल्ल तीन रनमा आउट भए ।
किशोर महतो पनि दुई रन बनाउँदै पेभेलियन फर्किए । जनकपुर बोल्ट्सले अतिरिक्त रुपमा पनि १० रन पायो । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । दीपेन्द्रले चार ओभरमा २९ रन खर्चिए । सेफ अली जेबले पनि दुई विकेट हात पारे । स्कट कुगेलियन र अविनाष बोहराले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता