बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह

बुधबार, ०३ पुस २०८१, १५ : ४०
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरूको विप्रेषणको योगदान रहँदा रहँदै पनि आप्रवासन व्यवस्थापनमा श्रमिक र तीनका परिवारले अनुभूति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ । 

वैदेशिक रोजगारमा जान चाहनेहरू ठगीमा पर्ने गरेको, उद्धार तथा स्वदेश फिर्ती, हराएकाहरूको खोजी र कानुनी प्रतिरक्षाको अभावमा जेल जीवन बिताइरहेको उद्धार र आप्रवासी श्रमिकहरूको स्वास्थ्य अधिकार जस्ता कार्यहरू प्रभावकारी रूपमा हुन सकेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । 

आयोगले रुस–युक्रेन युद्धका क्रममा घाइते भएका नेपाली नागरिकहरूलाई उचित क्षतिपूर्ति, मृत्यु भएकाहरूको शव फिर्ती तथा क्षतिपूर्ति जस्ता विषयहरूमा समेत प्रभावकारी पहल हुन नसकेको, श्रमिकहरूको अधिकार संरक्षण गर्न अन्तरमन्त्रालय र अन्तरविभाग समन्वय प्रभावकारी नभएको तथा वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनः एकीकरण र स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अनुगमनका क्रममा पाइएको बताएको छ । 

‘आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न, नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक र उदयमान समस्याहरूको न्यायोचित र कानुनी रूपमा सम्बोधन गर्दै आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षणको कार्य गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा आयोग आग्रह गर्दछ’, आयोगले आप्रवासी श्रमिक दिवस, २०२४ का अवसरमा विज्ञप्ति जारी गर्दै भनेको छ । 

आयोग प्रवक्ता टीकाराम पोखरेलले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप