२२६ रनको शानदार जितसँगै एक खेलअगावै नेपाललाई हङ्कङविरुद्धको शृङ्खला
काठमाडौँ । नेपालको यू–१९ टोलीले बुधबार खेलिएको दोस्रो एकदिवसीय खेलमा हङ्कङको यू–१९ टोलीलाई दुई सय २६ रनको विशाल अन्तरले हराएको छ । जितसँगै नेपालले अन्तिम खेलअगावै तीन खेलको शृङ्खला पनि २–० ले आफ्नो पक्षमा पारेको छ ।
यसअघि गत सोमबार खेलिएको पहिलो एकदिवसीयमा नेपाली टोलीले हङ्कङलाई तीन विकेटले हराएको थियो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बुधबार नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो ।
ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले भने २९.४ ओभरमै अलआउट हुनुअघि ७१ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर सोहेल कुँवरले उत्कृष्ट अर्धशतकीय योगदान गरेका थिए ।
लामो समय क्रिकेटमा टिकेका सोहेलले ८१ रन बनाए । उनले एक सय नौ बलको सामना गरी एक छक्का र नौ चौका पनि हिर्काए । सन्तोष यादवले पनि टोलीका लागि उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका सन्तोषले अविजित ६६ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५४ बलको सामना गरी पाँच चौका पनि हिर्काए । दिलसाद अलीले पनि टोलीको खातामा ४१ रन थपे ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दिलसाद अलीले ५४ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । कप्तान अभिषेक तिवारीले २३ बलमा एक छक्का र दुई चौकाको मद्दतले २६ रन बनाए । सिबरिन श्रेष्ठले १४ र अपराजित पौडेलले ११ रन बटुले ।
नेपालले अतिरिक्त रूपमा पनि ३७ रन पायो । हङ्कङका बलर ड्यानियल म्यापले तीन र अब्दुल समादले दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको हङ्कङका लागि कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
कप्तान शिव माथुरले सर्वाधिक १६ रन बनाए । आरेज दार र प्रित मंगुकियाले १४–१४ रन बनाए । हङ्कङका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । हङ्कङले अतिरिक्त रूपमा पनि ८ रन पायो ।
हङ्कङलाई सस्तोमा समेट्ने क्रममा नेपाली टोलीका बलर दयानन्द मण्डलले चार विकेट लिए । अपराजित पौडेलले दुई विकेट हात पारे । सिबरिन श्रेष्ठले पनि दुई विकेट लिए । सन्तोष यादव र नरेन भट्टले पनि एक–एक विकेट कुम्ल्याए । तेस्रो खेल शुक्रबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
-
सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै