फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।
यो खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ । जनकपुर बोल्ट्सका लागि छैटौँ नम्बरका ब्याट्सम्यान जेम्स निसामले ४५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले २३ बलमा तीन छक्का र तीन चौका हिर्काए ।
दुबै ओपनर ब्याट्सम्यानले जनकपुर बोल्ट्सलाई गतिलो सुरुवात दिन सकेनन् । ओपनर लाहिरु मिलनथा १४ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । आसिफ शेख पनि लामो समय क्रिजमा टिक्न सकेनन् । नियमित कप्तान अनिल साहको अनुपस्थितिमा कप्तानको भूमिका निर्वाह गरिरहेका आसिफले १० बलमा दुई चौकाको मद्दतले ११ रन बनाए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभ कंसाकारले टोलीको खातामा २६ रन थपे । उनले २४ बलको सामना गरी चारवटा चौका पनि प्रहार गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान हर्ष थाकेर पनि १४ बलमा एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अरनिको यादवले २० बलमा ११ रन बटुले ।
सातौँ नम्बरका ब्याट्सम्यान मोहम्मद मोहसिन पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । उनको स्थान लिन आएका आकाश त्रिपाठी चार रनमा अविजित रहे । शेर मल्ल तीन रनमा आउट भए । किशोर महतो पनि दुई रन बनाउँदै पेभेलियन फर्किए । जनकपुर बोल्ट्सले अतिरिक्त रुपमा पनि १० रन पायो । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए ।
दीपेन्द्रले चार ओभरमा २९ रन खर्चिए । सेफ अली जेबले पनि दुई विकेट हात पारे । स्कट कुगेलियन र अविनाष बोहराले पनि एक–एक विकेट लिए ।