सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
एकतामा अलमल

एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल

बुधबार, ०३ पुस २०८१, १५ : ००
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इच्छुक नदेखिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ असन्तुष्ट देखिएका छन् । माओवादीसँग एकता गर्ने निर्णय भएको ९ महिनासम्म प्रचण्डबाट औपचारिक प्रस्ताव नआएपछि विप्लव असन्तुष्ट देखिएका हुन् ।

कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा पुस २ गते सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले एकताका लागि आफूले सदासयता देखाए पनि प्रचण्डका कारण ढिलाइ भएको निष्कर्ष निकालेको थियो । बैठकले अब पार्टी एकताका लागि पहल नगर्ने निर्णयसमेत गर्‍यो ।

विप्लवले पेस गरेको राजनीतिक दस्ताबेजमा पार्टी एकताका लागि आफूले इमानदारपूर्वक पहल गरेको तर प्रचण्ड उदासीन देखिएकाले एकतामा ढिलाइ भएको उल्लेख गरिएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले बताए ।

‘महासचिवको दस्ताबेजमा समग्र वापमन्थी एकता, सहकार्य र धु्रवीकरणका लागि इमानदारितापूर्वक माओवादी केन्द्रसँग एकताको पहल गरेको तर एकताका लागि प्रचण्ड नै तयार नभएकाले ढिलाइ भएको उल्लेख गर्नुभएको छ’, उनले भने, ‘हाम्रो सदासयतालाई प्रचण्डले कमजोरीका रूपमा बुझेकाले अब एकताको लागि हाम्रो पार्टीले पहल गर्ने छैन ।’

माओवादी कस्तो निर्णय गर्छ, त्यही अनुसार अगाडि बढ्ने विरहीले बताए । यद्यपि माओवादीसँग एकता गर्ने अघिल्लो केन्द्रीय समितिको निर्णय खारेज नगरिएको उनले प्रस्ट पारे ।

गत वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने र २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । यसबिचमा विप्लवले प्रचण्ड लगायत शीर्ष नेताहरूसँग पटक–पटक छलफल गरेका थिए । माओवादीबाट वार्ता गर्ने जिम्मेवारी पाएका उपाध्यक्ष कृष्णबहादुर महराले पनि एकताका लागि धेरै पहल गरेका थिए । तर पार्टी एकताका लागि माओवादीले संस्थागत निर्णय नगर्दा दुई पार्टीबिचको एकता धरापमा परेको छ । पछिल्लो समय माओवादीका शीर्ष नेताहरूले एकताबारे फरक–फरक धारणा व्यक्त गरेकोमा पनि नेकपाले असन्तुष्टि जनाएको छ ।

‘हामीले माओवादीका सबै शीर्ष नेतासँग एकतासम्बन्धी छलफल गरेका थियौँ । तर नेतैपिच्छे एकता विरोधी फरक–फरक अभिव्यक्ति आइरहेका छन्,’ विरहीले भने । आफूहरूले पदका लागि एकता गर्न नखोजेको पनि उनले प्रस्ट पारे ।

‘वैचारिक, सैद्धान्तिक रूपमा अबको वैज्ञानिक समाजवादी कार्यदिशा कस्तो हुने हो ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन लगायत विषयमा स्पष्ट हुनुपर्छ । पदका लागि माओवादीमा जानै पर्दैन । अहिले नै हामी प्रमुख पदमा छँदै छौँ नि’, विरहीले भने ।

मंसिर २८ गते बसेको माओवादीको स्थायी समिति बैठकले विगतमा एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत थियो, सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको निर्णय गरेको थियो ।

माओवादीको यो निर्णय एकताका लागि नभइ अन्य पार्टीलाई गिराउने किसिमबाट आएको नेकपाको बुझाइ छ । तर यसै विषयलाई लिएर माओवादीसँग दूरी नबढेको विरहीले स्पष्ट पारे । 

यता माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपा, नेसपासहित विचार मिल्ने वामपन्थी दलहरूसँग एकता गर्नैका लागि समायोजनसम्बन्धी निर्णय गरेको दाबी गरे । अब बस्ने स्थायी समिति बैठकले एकताको मोडालिटी तय गर्ने उनले जानकारी दिए । एकताका लागि प्रचण्डले उदासीनता देखाएको भन्ने नेकपाको आरोपलाई सापकोटाले खण्डन गरे । 

‘विचार मिल्ने वामपन्थी दलहरूसँग एकता गर्नका लागि पार्टीले समायोजनसम्बन्धी निर्णय गरेको हो । एकताका मोडालिटीबारे आगामी स्थायी समिति बैठकले तयार गरी एजेण्डाका रूपमा केन्द्रीय समिति बैठकमा पेस हुनेछ । उक्त बैठकले नै औपचारिक निर्णय गर्छ । विविध कारणले ढिलाइ भएको हो । उहाँले भनेजस्तो उदासीनता देखाएको छैन’, सापकोटाले भने ।

पार्टी एकतामात्र होइन, समाजवादी मोर्चालाई क्रियाशील बनाउने विषयमा समेत प्रचण्ड उदासीन देखिएको नेकपाको बुझाइ छ । समाजवादी विचार राख्ने दलहरूबिच सहकार्य र एकता गर्ने नीति अनुसार गत असार ४ गते मोर्चा गठन भएको थियो । अहिले मोर्चाको संयोजक विप्लव आफैँ छन् । पछिल्लो समय मोर्चालाई माओवादीले महत्त्व नदिँदा राष्ट्रिय एजेण्डा, जनजीविका लगायत विषयमा प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

प्रचण्डको भूमिकाप्रति नेपाल समाजवादी पार्टीसमेत सन्तुष्ट देखिएको छैन । गत वर्ष चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच छिटै पार्टी एकता गर्ने निर्णय भएको थियो । तर १० महिना बितिसक्दा समेत माओवादीले कुनै निर्णय गरेको छैन । माओवादीसँग पार्टी एकता गर्ने निर्णयकै कारण नेसपा विभाजन भएको थियो । एकता सम्बन्धमा माओवादीका शीर्ष नेतृत्वसँग पटक–पटक छलफल भए पनि निष्कर्षमा नपुगेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

माओवादीसँग पार्टी एकताका लागि आफूहरूले पहिले नै निर्णय गरिसकेकाले अब प्रचण्डले पहल गर्नुपर्ने उनको भनाइ छ ।

‘माओवादीसँग पार्टी एकता गर्ने भनेर पहिले नै निर्णय गरिसकेका छौँ । सोही अनुसार दुई पार्टीबिच सम्झौता पनि भइसक्यो । एकतासम्बन्धी निर्णयबाट हामी दायाँबायाँ भएका छैनौँ । पार्टी एकता गर्ने नै हो तर यसका लागि प्रचण्डजीले नै पहल गर्नुपर्छ । सायद उहाँहरूको केन्द्रीय समिति बैठक बस्दैछ । यसबारे औपचारिक निर्णय होला’, यादवले भने ।

पार्टी एकतामा भइरहेको ढिलाइबारे थप प्रस्ट पार्दै माओवादीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको आन्तरिक बैठक, स्थानीय तह उपनिर्वाचनको तयारीका कारण ढिलाइ भएको बताए । एकता गर्ने भनिएपछि अब धेरै समय कुराएर राख्न नहुने उनको भनाइ छ ।

यस विषयमा आगामी स्थायी समितिमा थप छलफल हुने र केन्द्रीय समिति बैठकले निर्णय गर्ने गजुरेलले बताए । ‘एकता गर्ने भनिएपछि वैचारिक, सैद्धान्तिक र सांगठनिक आधार खोज्नुपर्छ । यस विषयमा समान विचार भएपछि बल्ल एकता अगाडि बढ्ने हो । अहिले पार्टीभित्रै छलफल भइराखेको छ । लामो समय आन्तरिक बैठक बसेकाले निर्णयमा केही ढिलाइ भएको हो । पार्टी एकता गर्ने भनिएपछि अब धेरै समय कुराउन हुँदैन । यससम्बन्धमा आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप