मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन

बुधबार, ०३ पुस २०८१, १३ : ४९
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगन्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् । 

कार्यकारी निर्देशक घिसिङले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत् आयात गर्न नदिएको कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको बताए । धेरै विद्युत् खपत हुने समय बेलुका ५  देखि राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न नदिएको उनको भनाइ छ । उनले ४५६ मेगावाट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको बताए । 

कार्यकारी निर्देशक घिसिङले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५÷६ महिना लाग्ने बताए । अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ । 

उनले भने, ‘दुईतीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले वीरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरूमा दिउँसो पनि हामीले कममा विद्युत् चलाउनु पर्ने समस्या भएको हो ।’

कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । अन्य ग्राहकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ । उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत् कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत् उत्पादन नहुनु नै रहेको बताए । 

उनले भने,‘अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहतिको डिमाण्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहिँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरूलाई । अन्य ग्राहकको लागि कुनै समस्या छैन । हामी पिक टाइमको लागि पनि भारतसँग विद्युतको लागि माग गर्दै पत्र पठाएका छौँ । यस्तै समस्या पोहोर साल पनि भएको थियो । केही ट्रान्समिसन लाइनहरूको समस्या अहिले पनि छ ।’  

कार्यकारी निर्देशक घिसिङले उद्योगहरूमा भइरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप