बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा

बुधबार, ०३ पुस २०८१, १२ : २५
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।  

chitwan vs karnali (4)

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो । जवाफमा चितवन राइनोजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक सय ५४ रनमात्र बनाउन सक्यो । 

chitwan vs karnali (11)

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । यो खेलमा पराजित भएको टोली चितवन राइनोज उपाधि होडबाट पनि बाहिरिएको छ । अब कर्णाली याक्सले भने पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्नेछ । 

chitwan vs karnali (7)

विशाल लक्ष्य पछ्याएको राइनोजका लागि रवि बोपाराले अर्धशतक बनाए । उनले ३४ बलको सामना गरी चार छक्का र तीन चौकाको मद्दतले ५३ रन बनाए । उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । जारी एनपीएलमा बनेको यो २५औँ अर्धशतक हो । 

chitwan vs karnali (9)

इङ्ल्यान्डका प्रभावशाली खेलाडी रवि बोपाराले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए ।

३९ वर्षीय रवि बोपाराले आफ्नो दोस्रो अर्धशतक भने कर्णाली याक्सविरुद्धको खेलमा बनाएका थिए । त्यो खेलमा उनले टोलीका लागि अविजित ५९ रनको योगदान गरेका थिए । यस क्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

chitwan vs karnali (13)

कर्णाली याक्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्लले पनि २१ रन बनाए । उनले २४ बलमा एक छक्का पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान विपिन रावलले १० बलमा चार चौकाको मद्दतले १८ रन बनाए । 

chitwan vs karnali (15)

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ल्युक बेनकेनस्टिनले पनि १३ बलमा एक छक्का र एक चौकाको मद्दतले १६ रन बटुलेका थिए । शरद भेषावकर १० रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रूपमा पनि सात रन पायो ।

कर्णाली याक्सका बलर जिसन मक्सुदले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । कप्तान सोमपाल कामी र नन्दन यादवले पनि दुई–दुई विकेट हात पारे । विपिन शर्माले एक विकेट लिए । टोलीलाई महत्त्वपूर्ण जित दिलाउन कर्णाली याक्सका गुलसन झाले उत्कृष्ट फिल्डिङ गरे । उनी एक्लैले चारवटा क्याच लिएका थिए ।  

chitwan vs karnali (2)

त्यसअघि, ‘गर वा मर’ को ‘एलिमिनेटर’ भिडन्तमा प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको कर्णाली याक्सका लागि दुई प्रभावशाली ब्याट्सम्यान जयकिशन कोल्वासावा र विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।  

ओपनर ब्याट्सम्यान जयकिशन कोल्सावालाले ५३ रन बनाए । यस क्रममा उनले केवल ३९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । जारी एनपीएलमा अर्धशतक बनाउने उनी २१औँ खेलाडी हुन् । 

जारी एनपीएलमा बनेको यो २३औँ अर्धशतक पनि हो । कर्णाली याक्सले केवल ३५ रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि जयकिशन र विलियम बोसिस्टोले टोलीको स्कोरलाई ९४ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

विलियम बोसिस्टोले टोलीको खातामा ५२ रन थपे । चौथो नम्बरका ब्याट्सम्यान बोसिस्टोले केवल ३९ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । बोसिस्टो जारी एनपीएलमा दुईवटा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् । 

चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपारा र लुम्बिनी लायसन्सका कप्तान रोहित कुमार पौडेलले दुई–दुईवटा अर्धशतक प्रहार गरेका थिए । बोसिस्टोको अर्धशतक जारी एनपीएलमा बनेको २४औँ अर्धशतक पनि हो । 

ओपनर रित गौतम भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुद १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए । गुलसन झाले भने खातासम्म खोल्न सकेनन् । 

छैटौँ नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले टोलीका लागि अविजित ४६ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका विकेटकिपर ब्याट्सम्यान वाल्टनले केवल २३ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । 

देब खनाल तीन रनमै आउट भए भने कप्तान सोमपाल कामी शून्य रनमा अविजित रहे । कर्णाली याक्सले अतिरिक्त रूपमा पनि सात रन पायो । चितवन राइनोजका बलर सोहेल तनविरले दुई विकेट लिए । शरद भेषावकर, रवि बोपरा र कप्तान कुशल मल्लले पनि एक–एक विकेट हात पारे ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप