बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
तेस्रो टेस्ट क्रिकेट

वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट

बुधबार, ०३ पुस २०८१, ११ : २९
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गत अस्ट्रेलिया र भारतबिच खेलिएको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । तेस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बुधबार भारतले जितका लागि दोस्रो पालीमा दुई सय ७५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

तर, भारतले २।१ ओभरमा कुनै पनि विकेट नगुमाई आठ रन बनाएपछि वर्षाका कारण खेल अवरुद्ध बन्न पुगेको थियो । लामो समय वर्षा नरोकिएपछि दुबै टोलीको सहमतिमा खेल बराबरीमा टुंग्याउने निर्णय लिइएको हो ।  वर्षाका कारण खेल स्थगित हुनुअघि भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवाल चार र केएल राहुल पनि चार रन बनाउँदै क्रिजमा थिए । तेस्रो टेस्ट बराबरीमा सकिएपछि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा भारत दबाबमा परेको छ । 

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतीय टोलीका लागि अस्ट्रेलिया भ्रमण निकै महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा भारतले पाँचवटा टेस्ट खेल्ने कार्यक्रम छ । हाल टेस्ट शृंखला १–१ को बराबरीमा छ ।  पटक–पटक वर्षाबाट प्रभावित भएको तेस्रो टेस्टको चौथो दिन बुधबार अस्ट्रेलियाले सात विकेटको नोक्सानीमा ८९ रन बनाउँदै दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो । त्यसपछि भारतले जितका लागि दुई सय ७५ रनको लक्ष्य पाएको थियो । 

दोस्रो पालीमा अस्ट्रेलियन ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरेका थिए । कप्तान प्याट कमिन्सले सर्वाधिक २२ रन बनाए । एलेक्सी केरीले अविजित १९ रन जोडे । ट्राभिस हेड १७ रन बनाउँदै आउट भए । मिचेल स्टार्क दुई रनमा अविजित रहे । भारतीय टोलीका बलर जसप्रित बुमराहले तीन विकेट लिए । मोहम्मद सिराज र आकाश दीपले पनि दुई–दुई विकेट हात पारे । त्यसअघि भारतीय टोली आफ्नो पहिलो पालीमा दुई सय ६० रन बनाउँदै अलआउट भएको थियो ।

पहिलो पालीमा भारतीय टोलीका लागि ओपनर केएल राहुलले ८८ रनको योगदान गरे । उनले एक सय ३९ बलको सामना गरी आठ चौका पनि हिर्काए । रविन्द्र जडेजाले पनि टोलीका लागि अर्धशतक बनाए । उनले एक सय २३ बलमा एक छक्का र सात चौकाको मद्दतले ७७ रन जोडे । आकाश दीपले पनि टोलीको खातामा ३१ रन थपे । अस्ट्रेलियाका बलर प्याट कमिन्सले चार विकेट हात पारे । उनले २२ ओभरमा दुई मेडन राख्दै ८१ रन खर्चिए । मिचेल स्टार्कले पनि तीन विकेट लिए । जस हेजलउड, नाथन लियोन र ट्राभिस हेडले एक–एक विकेट हात पारे ।

त्यसअघि, अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा चार सय ४५ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । ब्रिसबेनमा जारी तेस्रो टेस्टमा अस्ट्रेलियाका लागि पहिलो पालीमा दुई ब्याट्सम्यानले शतकीय योगदान गरेका थिए । अस्ट्रेलियाले ७५ रनको कुल स्कोरमा माथिल्ला तीन विकेट गुमाएको थियो । 

ओपनर उस्मान ख्वाजा २१, अर्का ओपनर नाथन म्याकस्विनी नौ र मार्नस लाबुशेन १२ रन बनाउँदै आउट भएका थिए । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथ र पाँचौँ नम्बरका ट्राभिस हेडले टोलीको स्कोरलाई तीन सय १६ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । 

स्टिभन स्मिथले टोलीका लागि एक सय एक रनको योगदान गरे । उनले एक सय ९० बलको सामना गरी १२ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्टिभन स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३३औँ शतक पनि हो ।  ट्राभिस हेडले पनि टोलीका लागि एक सय ५२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल एक सय ६० बलको सामना गरी १८ वटा चौका हिर्काए । ३० वर्षीय ट्राभिस हेडले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ शतक हो । 

अस्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ७० रन बनाए । उनले ८८ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । ३३ वर्षीय केरीले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । 

मिचेल मार्स भने पाँच रन बनाउँदै आउट भए । कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा २० रन थपे । मिचेल स्टार्कले पनि १८ रन बनाए । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि ३५ रन पायो । भारतका बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिए । उनले २८ ओभरमा नौ मेडन राख्दै ७६ रन खर्चिए । मोहम्मद सिराजले दुई तथा नितिष कुमार रेड्डी र आकाश दीपले एक–एक विकेट हात पारे । 

पाँच टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । पर्थमा खेलिएको शृंखलाको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो । चौथो टेस्ट डिसेम्बर २६ मा मेलबर्नमा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप