बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय शृंखला

बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो

बुधबार, ०३ पुस २०८१, ११ : १२
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि भ्रमणकारी टोली बंगलादेशले वेस्ट इन्डिजलाई २७ रनले हराएको छ । जितसँगै बंगलादेशले अन्तिम भिडन्तअगावै तीन खेलको शृंखलालाई आफ्नो पक्षमा पारेको छ । शृंखलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली वेस्ट इन्डिजले भने १८.३ ओभरमै अलआउट हुनुअघि एक सय दुई रनमात्र बनाउन सक्यो ।

बंगलादेशको जितमा समिम होसैनले अविजित ३५ रनको योगदान गरे । उनले केवल १७ बलमा दुई छक्का र दुई चौकाको मद्दतले उक्त रन बनाएका हुन् । मेहदी हसन मिराजले पनि टोलीको खातामा २६ रन थपे । उनले २५ बलमा एक छक्का र तीन चौका हिर्काए ।

जाकेर अलीले २१ रन बनाए । उनले २० बलमा एक छक्का र एक चौका प्रहार गरे । सौम्य सरकार र मेहदी हसनले ११–११ रन बटुले । क्यारेबियन टोलीका बलर गुडाकेश मोटीले दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३२ र अकेल होसैनले ३१ रन बनाए । 

वेस्ट इन्डिजलाई लक्ष्यसम्म पुग्न नदिन बंगलादेशी टोलीका बलर तास्किन अहमदले तीन विकेट लिए । उनले ३.३ ओभरमा केवल १६ रन खर्चिए । मेहदी हसन, तान्जिम हसन सकिब र रिसाद होसैनले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट हसन महमुदले लिए ।

यसअघि खेलिएको पहिलो टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशले वेस्ट इन्डिजमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । शृंखलाअन्तर्गतको तेस्रो तथा अन्तिम खेल शुक्रबार किङ्सटनमै खेलिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप