जितको विकल्प नरहेको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी ‘एलिमिनेटर’ खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई जितका लागि एक सय ७६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनाएको हो । यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।
यो खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । विजयी हुने टोलीले भने पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्ने अवसर पाउने छ ।
‘गर वा मर’ को ‘एलिमिनेटर’ भिडन्तमा प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको कर्णाली याक्सका लागि दुई प्रभावशाली ब्याट्सम्यान जयकिशन कोल्वासावा र विलियम बोसिस्टोले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
ओपनर ब्याट्सम्यान जयकिशन कोल्सावालाले ५३ रन बनाए । यसक्रममा उनले केवल ३९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । जारी एनपीएलमा अर्धशतक बनाउने उनी २१औँ खेलाडी हुन् ।
जारी एनपीएलमा बनेको यो २३औँ अर्धशतक पनि हो । कर्णाली याक्सले केवल ३५ रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि जयकिशन र विलियम बोसिस्टोले टोलीको स्कोरलाई ९४ रनको स्थितिसम्म पुर्याएका थिए ।
विलियम बोसिस्टोले टोलीको खातामा ५२ रन थपे । चौथो नम्बरका ब्याट्सम्यान बोसिस्टोले केवल ३९ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । बोसिस्टो जारी एनपीएलमा दुईवटा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन् ।
यसअघि, चितवन राइनोजका रवि बोपरा र लुम्बिनी लायसन्सका कप्तान रोहित कुमार पौडेलले दुई–दुईवटा अर्धशतक प्रहार गरेका थिए । बोसिस्टोको अर्धशतक जारी एनपीएलमा बनेको २४औँ अर्धशतक पनि हो ।
ओपनर रित गौतम भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुद १२ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए । गुलसन झाले भने खातासम्म खोल्न सकेनन् ।
छैटौँ नम्बरका ब्याट्सम्यान चाडविक वाल्टनले टोलीका लागि अविजित ४६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका विकेटकिपर ब्याट्सम्यान वाल्टनले केवल २३ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए ।
देव खनाल तीन रनमै आउट भए भने कप्तान सोमपाल कामी शून्य रनमा अविजित रहे । कर्णाली याक्सले अतिरिक्त रुपमा पनि सात रन पायो । चितवन राइनोजका बलर सोहेल तनविरले दुई विकेट लिए । शरद भेषावकर, रवि बोपरा र कप्तान कुशल मल्लले पनि एक–एक विकेट हात पारे ।