गाभिँदै छन् होन्डा र निशान ?
टोकियो । जापानी अटो निर्माता कम्पनीहरू होन्डा र निशान गाभिने सोचमा छन् । विद्युतीय सवारी साधन (ईभी)को बजारमा प्रतिस्पर्धा गर्न सहयोग होस् भनेर यी दुई कम्पनीहरूले मर्जरको सम्भावनाबारे वार्ता गरिरहेको बताइएको छ ।
विशेष गरी चिनियाँ बजारलाई हेरेर कम्पनीले यस्तो सोच बनाएका हुन् । मार्चमा दुवै कार निर्माताहरूले ईभीमा रणनीतिक साझेदारीको सम्भावना खोज्न सहमति गरेका थिए ।
दुवै कम्पनीले भविष्यको सम्भावित सहकार्य अनि एक अर्काको बलियो पक्षको लाभ कसरी उठाउने भन्नेबारे विचार गरिरहेका छन् । अटो बजार बिस्तारै पेट्रोल र डिजेलबाट चल्ने परम्परागत सवारी साधनबाट वातावरण मैत्री विद्युतीय सवारी साधनतिर गइरहेको छ ।
पछिल्लो समय चीनमा ईभीको उत्पादन बढेको छ । यस्तोमा यस क्षेत्रमा बढ्दो प्रतिस्पर्धा थेग्न कयौं कार कम्पनीहरूलाई गाह्रो भइरहेको छ । पहिलो पटक जापानी आर्थिक पत्रिका निक्केईले दुवै कम्पनी गाभिने सोचमा रहेको खबर छाप्दा होन्डा र निशान दुबैले यसको खन्डन गरेका थिएनन् ।
यो वार्ता अहिले शुरुवाती चरणमा रहेको र मर्जर सम्झौता हुन्छ नै भन्ने ठोकुवा भने गर्न नसकिने बताइएको छ । यस विषयमा थप प्रगति भयो भने उचित समयमा सरोकारवालाहरूलाई जानकारी गराउने दुवै कम्पनीले बताएका छन् । होन्डा जापानको दोस्रो ठुलो कार निर्माता हो भने निशान तेस्रो ठुलो कार निर्माता हो । यी दुईबीच मर्जर सम्झौता भयो नै भने पनि यसले अनेकौँ चुनौतीको सामना गर्नु पर्नेछ ।