अस्ट्रेलियाद्वारा इनिङ्स समाप्तिको घोषणा, भारतलाई जितका लागि २७५ रनको लक्ष्य
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले जितका लागि दुई सय ७५ रनको लक्ष्य पाएको छ । पटक–पटक वर्षाबाट प्रभावित भएको तेस्रो टेस्टको चौथो दिन बुधबार अस्ट्रेलियाले सात विकेटको नोक्सानीमा ८९ रन बनाउँदै दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्यो ।
दोस्रो पालीमा अस्ट्रेलियन ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । कप्तान प्याट कमिन्सले सर्वाधिक २२ रन बनाए । एलेक्सी केरीले अविजित १९ रन जोडे । ट्राभिस हेड १७ रन बनाउँदै आउट भए । मिचेल स्टार्क दुई रनमा अविजित रहे ।
भारतीय टोलीका बलर जसप्रित बुमराहले तीन विकेट लिए । मोहम्मद सिराज र आकाश दीपले पनि दुई–दुई विकेट हात पारे । त्यसअघि भारतीय टोली आफ्नो पहिलो पालीमा दुई सय ६० रन बनाउँदै अलआउट भएको थियो ।
पहिलो पालीमा भारतीय टोलीका लागि ओपनर केएल राहुलले ८८ रनको योगदान गरे । उनले एक सय ३९ बलको सामना गरी आठ चौका पनि हिर्काए । रविन्द्र जडेजाले पनि टोलीका लागि अर्धशतक बनाए । उनले एक सय २३ बलमा एक छक्का र सात चौकाको मद्दतले ७७ रन जोडे ।
आकाश दीपले पनि टोलीको खातामा ३१ रन थपे । अस्ट्रेलियाका बलर प्याट कमिन्सले चार विकेट हात पारे । उनले २२ ओभरमा दुई मेडन राख्दै ८१ रन खर्चिए । मिचेल स्टार्कले पनि तीन विकेट लिए । जस हेजलउड, नाथन लियोन र ट्राभिस हेडले एक–एक विकेट हात पारे ।
त्यसअघि, अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा चार सय ४५ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । ब्रिसबेनमा जारी तेस्रो टेस्टमा अस्ट्रेलियाका लागि पहिलो पालीमा दुई ब्याट्सम्यानले शतकीय योगदान गरेका थिए । अस्ट्रेलियाले ७५ रनको कुल स्कोरमा माथिल्ला तीन विकेट गुमाएको थियो ।
ओपनर उस्मान ख्वाजा २१, अर्का ओपनर नाथन म्याकस्विनी नौ र मार्नस लाबुशेन १२ रन बनाउँदै आउट भएका थिए । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथ र पाँचौँ नम्बरका ट्राभिस हेडले टोलीको स्कोरलाई तीन सय १६ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।
स्मिथले टोलीका लागि एक सय एक रनको योगदान गरे । उनले एक सय ९० बलको सामना गरी १२ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३३औँ शतक पनि हो ।
ट्राभिस हेडले पनि टोलीका लागि एक सय ५२ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल एक सय ६० बलको सामना गरी १८ वटा चौका हिर्काए । ३० वर्षीय ट्राभिस हेडले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ शतक हो ।
अस्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ७० रन बनाए । उनले ८८ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । ३३ वर्षीय केरीले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो ।
मिचेल मार्स भने पाँच रन बनाउँदै आउट भए । कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा २० रन थपे । मिचेल स्टार्कले पनि १८ रन बनाए । अस्ट्रेलियाले अतिरिक्त रूपमा पनि ३५ रन पायो । भारतका बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिए । उनले २८ ओभरमा नौ मेडन राख्दै ७६ रन खर्चिए । मोहम्मद सिराजले दुई तथा नितिष कुमार रेड्डी र आकाश दीपले एक–एक विकेट हात पारे ।
पाँच टेस्टको शृङ्खला हाल १–१ को बराबरीमा छ । पर्थमा खेलिएको शृंखलाको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो ।
दोस्रो टेस्ट दिवा–रात्रि रूपमा खेलिएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले यो शृङ्खला दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता