बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
हेटौँडा औद्योगिक क्षेत्र

थलिँदै छन् हेटौँडा औद्योगिक क्षेत्रका उद्योग

विभिन्न समस्याका कारण उत्पादन कटौती गर्न बाध्य छन् उद्योग
बुधबार, ०३ पुस २०८१, ०९ : ३९
बुधबार, ०३ पुस २०८१

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्र देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो । यद्यपि यस औद्योगिक क्षेत्रका उद्योग विभिन्न कारणले समस्यामा देखिएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रमा १४८ वटा उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर उद्योग–व्यवसाय सञ्चालन गरिरहेका छन् । २ हजार ८२९ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा १३६ वटा उद्योग र १३ वटा विभिन्न सरकारी प्रतिष्ठान छन् ।

जसअनुसार निर्माण सामग्रीजन्य उद्योग ७ वटा, प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योग ३१ वटा, विद्युत् तथा विद्युतीय सामग्री उत्पादन उद्योग ४ वटा, खाद्यान्न तथा पेय पदार्थ उत्पादन गर्ने उद्योग १४ वटा, फर्निचर तथा काष्ठ चिरान उद्योग ६ वटा, इन्जिनियरिङ सेवा उद्योग १२ वटा, प्याकेजिङ उद्योग ५ वटा, केमिकल तथा रङरोगन उत्पादन उद्योग ११ वटा, पोल्ट्री तथा दाना उद्योग २ वटा, टेक्सटाइल्स उद्योग एक, खानीजन्य उद्योग ३ वटा, विविध प्रकारका उद्योग १२ वटा छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाका अनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १२ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् भने ८ नयाँ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् । ३ वटा उद्योग बन्द अवस्थामा छन् ।

नेपाल ब्रुअरी, बानियाँ मल्टीप्रोडक्ट्स र ग्रीन बोल्ड इन्टरनेसनल उद्योग बन्द रहेको कार्यालयकी निमित्त प्रमुख सङ्गीता कुँवरले जानकारी दिइन् ।

कोभिड–१९ महामारी तथा आर्थिक मन्दीको मारका कारण देशका अन्य क्षेत्रमा रहेका उद्योगहरू जस्तै हेटौँडा औद्योगिक क्षेत्रका उद्योग पनि थलिएका छन् । कतिपय उद्योग अहिले सरकारी नीति, ऐन–कानुनका कारण थप सङ्कट झेल्न बाध्य भएका छन् ।

लगातार ३ वर्षसम्म कोभिड–१९ महामारी र आर्थिक सङ्कटको कारण उत्पादन नै ठप्पजस्तै छ । केही उद्योग जसोतसो चलिरहेका छन् भने केही उद्योग अहिले ऐन–कानुन, आर्थिक तथा मौद्रिक नीति समयानुकूल हुन नसक्दा थप सङ्कट झेल्न बाध्य छन् ।

करिब १२ वर्ष अघि हेटौँडा औद्योगिक क्षेत्रमा १०० जति उद्योग थिए । तत्कालीन समयमा उद्योग सञ्चालन म्यानुअल्ली हुने गरेको कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । ती उद्योगमा त्यतिबेला करिब १० हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएको उनको भनाइ छ ।

पछि नयाँ उद्योग थप हुँदै जाँदा नयाँ प्रविधिसमेत भित्रिए । परिणामस्वरूप क्रमिक रूपमा रोजगारीको अवसर कम हुँदै गएको देखिन्छ ।

युवा पलायन, स्वदेशी उत्पादनको कम प्रयोग, ब्राण्डेड सामग्रीको प्रयोगमा मानिसहरूको चासो बढ्दा नेपाली उत्पादनको माग घटिरहेको नेपालले बताए ।

बन्द उद्योगहरूलाई पत्राचार गरेर उद्योग सञ्चालनको वातावरण तयार गर्ने, उद्योगीहरूको गुनासो सुन्ने, स्थानीयस्तरका व्यवस्थापन कार्यका लागि पहल गर्ने लगायतको काम कार्यालयले गरिरहेको सूचना अधिकारी नेपालले बताए ।

ठुला घरानाका लगानीकर्ताहरूको मुख्य चासो उत्पादनमा भन्दा वाणिज्यमा केन्द्रित भएका कारण पनि उद्योगहरू समस्यामा परेको देखिन्छ । पछिल्लो समय लगानीकर्ताहरू उत्पादनमुखी उद्योगमा भन्दा वाणिज्य तथा खरिद बिक्रीमा केन्द्रित भएको नेपाल बताउँछन् ।

उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले विशेष गरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । सडक, पुल, नहर, ढल तथा भवन निर्माण गरी उद्योगीलाई उत्पादनमा सहजता प्रदान गर्ने काम भइरहेको उनले बताए ।

बन्द उद्योगहरूलाई पत्राचार गरेर उद्योग सञ्चालनको वातावरण तयार गर्ने, उद्योगीहरूको गुनासो सुन्ने, स्थानीयस्तरका व्यवस्थापन कार्यका लागि पहल गर्ने लगायतको काम कार्यालयले गरिरहेको सूचना अधिकारी नेपालले बताए ।

यस बाहेक उद्योगहरूको उत्पादन वृद्धि, बजारीकरणमा खासै काम गर्न नसकेको उनको भनाइ छ । उद्योगका समस्या नीति निर्माण तहमा पुर्‍याउन कार्यालयले समन्वयकारी भूमिकासमेत निर्वाह गर्दै आएको उनले बताए । विभिन्न समयमा हुने अन्तरक्रिया तथा समीक्षामा उद्योगीहरूको समस्या, गुनासोलाई सम्बोधन गर्न कार्यालयबाट पहलकदमी भएको उनको भनाइ छ ।

कार्यालयले स्थानीय उत्पादनको प्रयोग बढाउने, स्वदेशी उद्योगलाई विद्युत्मा सहुलियत दिने लगायतका विषयमा सम्बन्धित निकायमा प्रस्ताव अघि बढाएको नेपालले बताए ।

  • ५० प्रतिशत उत्पादन कटौती

हेटौँडा औद्योगिक क्षेत्रमा कुल १४६ वटा उद्योग अटाउने क्षमता छ । औद्योगिक क्षेत्रमा १४३ उद्योग सञ्चालनको लागि दर्ता भएकोमा १३६ उद्योगले भौतिक संरचना र पूर्वाधार तयार गरी उत्पादन थालेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

१२१ वटा उद्योगले उत्पादनको काम थालेको उनले बताइन् । अधिकांश उद्योगको उत्पादन क्षमतामा गिरावट आएको कार्यालयकी निमित्त प्रमुख कुँवरको भनाइ छ ।

हेटौँडा औद्योगिक क्षेत्रका उद्योग जग्गा भाडा विवाद झेल्न बाध्य छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्राचार गरेदेखि विवाद सुरु भएको हो ।

हेटौँडा औद्योगिक क्षेत्रका १५ भन्दा बढी उद्योगले आंशिक रूपमा मात्र उत्पादन गरिरहेका छन् । ती उद्योगले अधिकांश समय उत्पादन बन्द गर्नुपर्ने बाध्यता झेलिरहेका छन् । आंशिक रूपमा सञ्चालनमा रहेका उद्योगले माग आएमात्र उत्पादन गरेर सामान बजार पठाउने गरेका छन् । अन्यथा ती उद्योग बन्द अवस्थामा रहन्छन् ।

सञ्चालनमा रहेका करिब ११० उद्योगको उत्पादन क्षमता ५० प्रतिशत पनि नरहेको निमित्त प्रमुख कुँवरले बताइन् । विभिन्न कारणले ती उद्योगले उत्पादन क्षमता घटाएर काम गरिरहेको उनको भनाइ छ ।

कुनै बेला तीन सिफ्ट सञ्चालन हुने उद्योग अहिले २ सिफ्टमा चलिरहेका छन् भने उत्पादन क्षमतामा पनि भारी कटौती गरेका छन् । उत्पादित सामग्रीले बजार पाउन छोडेपछि उद्योगहरूले उत्पादन क्षमतामा आधाभन्दा बढी दरले कटौती गरेका कुँवरको भनाइ छ । हाल हेटौँडा औद्योगिक क्षेत्रका कुनै पनि उद्योगले क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनन् ।

कुँवरका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले प्रत्यक्ष रूपमा ४ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ । सो बाहेक अप्रत्यक्ष रूपमा पनि नागरिकहरूलाई रोजगारी प्रदान गरिरहेको उनको भनाइ छ ।

hetauda-aaudhyogik

  • जग्गा भाडा विवादले झनै समस्या

हेटौँडा औद्योगिक क्षेत्रका उद्योग जग्गा भाडा विवाद झेल्न बाध्य छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्राचार गरेदेखि विवाद सुरु भएको हो । जग्गा भाडाको विवाद समाधान हुन नसक्दा औद्योगिक क्षेत्रका उद्योग समस्यामा देखिएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडको २०७५ मङ्सिर ५ गतेको निर्णय अनुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्षपछि कार्यालयले उद्योग प्रतिष्ठानहरूलाई पत्र काटेको थियो । गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ देखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेर दबाब बढाएको थियो ।

लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको कायम भाडा दरमा १३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि कार्यालयलाई ताकेता गरेको थियो । सोही अनुसार हेटौँडा औद्योगिक क्षेत्रको प्रतिरोपनी १९ हजार ६९१ रुपैयाँका दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने भन्दै उद्योगहरूलाई बिल पठाएको थियो ।

कार्यालयले औद्योगिक क्षेत्रका १४९ वटा उद्योग तथा प्रतिष्ठानलाई पत्रसहित १४ करोड रुपैयाँभन्दा बढी रकमको बिल पठाएको थियो । हरेक वर्ष ५ प्रतिशतका दरले जग्गा भाडा दर वृद्धि हुने गरी वार्षिक प्रतिरोपनी ८ हजार ३३१ रुपैयाँका दरले औद्योगिक क्षेत्रका उद्योगले जग्गा भाडा तिर्दै आएका छन् ।

सो बाहेक कार्यालयलाई उद्योगीहरूले निर्माण शुल्क, प्रवेश शुल्क, नवीकरण, खपत अनुसार बिजुली, पानीको महसुल तिर्दै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरूले वार्षिक रूपमा भन्सार, भ्याट लगायतका शीर्षकमा करिब १३ अर्ब रुपैयाँ राजस्व तिर्दै आएका छन् ।

  • उद्योगमैत्री वातावरण निर्माण गर्न माग

उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष लेखराज पोखरेलका अनुसार हेटौँडासहित जिल्लाभर सञ्चालनमा रहेका विभिन्न प्रकारका उद्योगले सङ्कट झेलिरहेका छन् । कोरोना महामारी, आर्थिक मन्दी लगायतका समस्या झेलेको उद्योग क्षेत्र अझै तङ्ग्रिन नसकेको उनले बताए ।

‘हामीले विगतको द्वन्द्वकालीन अवस्थाको सामना गर्‍यौँ । भूकम्प, नाकाबन्दी र राजनीतिक परिवर्तनले सिर्जना गरेको जटिल परिस्थितिबाट पनि हामी गुज्रिनुपर्‍यो,’ पोखरेलले भने, ‘पछिल्लो समय कोभिड महामारीको असरका कारण २ वर्षभन्दा बढी त उद्योगधन्दा ठप्प हुनुपर्ने अवस्था बन्यो । अहिले बजारमा देखिएको आर्थिक सङ्कटले उद्योग क्षेत्रमा थप समस्या सिर्जना भएको छ ।’

उद्योगहरूलाई आवश्यक कच्चा पदार्थको लागत बढ्दा उद्योगीहरूलाई प्रत्यक्ष रूपमा असर परेको पोखरेलले बताए ।

समस्याका बिचमा पनि चलेका केही उद्योगका उत्पादनले सरकारी नीतिकै कारण बजार पाउने अवस्था नरहेको उनले बताए । राज्यले उद्योगमैत्री वातावरण तयार गर्न नसक्दा समस्या भएको उनको भनाइ छ ।

पोखरेलले स्वदेशी उत्पादनको बजारीकरण हुन नसकेको बताए । उनले उद्योगको उत्पादनलाई बजारीकरण गरी माग बढाउन राज्यका तर्फबाट पहल नभएको गुनासोसमेत गरे । विदेशी सामग्री आयातलाई राज्यको नीतिले प्राथमिकता दिएका कारण स्थानीय उद्योगको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ ।

उद्योगहरूलाई आवश्यक कच्चा पदार्थको लागत बढ्दा उद्योगीहरूलाई प्रत्यक्ष रूपमा असर परेको पोखरेलले बताए ।

‘वित्तीय संस्थाहरूले पनि उत्पादनमा भन्दा आयातजन्य काममा लगानी बढाउँदा तरलता अभाव सिर्जना भएको छ । बैंकहरूको ब्याजदरले पनि कतिपय उद्योग सङ्कटग्रस्त अवस्थामा पुगेका छन्,’ उनले भने, ‘हेटौँडा औद्योगिक क्षेत्रमा रहेका ठुला तथा बहुराष्ट्रिय कम्पनीहरूको समस्या भनेको बजार खुम्चिनु हो भने मझौला तथा साना स्वरोजगारमूलक उद्योगहरूको समस्या भनेको बजारसँगै बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्नु हो ।’

हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कतिपय उद्योग बन्द अवस्थामा छन् भने केही बन्द हुने सँघारमा पुगेका छन् । पोखरेलका अनुसार केही उद्योग कच्चा पदार्थको अभावमा समस्यामा परेका छन् । विभिन्न मुलुकले त्यस्ता कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाउनु, नेपाल सरकारले आयात कर बढाउनु र नेपालको भन्सार राजस्वमा वृद्धि हुँदा ती उद्योगमा कच्चा पदार्थको अभाव देखिएको उनी बताउँछन् । बजेटमा भएका केही प्रावधानले पनि उद्योगमा समस्या परेको उनको भनाइ छ ।

सरकारले केही उत्पादन आयातमा भन्सार तथा कर छुट दिँदा स्वदेशी उद्योगमा समस्या उत्पन्न भएको उद्योगीहरूको भनाइ छ । औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् आपूर्तिमा समस्या रहेको उनीहरूको गुनासो छ । बजारमा उद्योगको उत्पादनको माग निरन्तर घट्दो क्रममा रहेको उनीहरू बताउँछन् ।

व्यापार घाटा बढ्दै गएको अवस्थामा सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्नुपर्ने उद्योगी बताउँछन् । तर, राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गरिरहेको प्रतिबद्धता जनाउँदा सरकारकै कतिपय नीतिका कारण स्वदेशी उद्योग धराशायी हुँदै आएको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप