१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. सूर्यदर्शन
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।
यस्तै, सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले क्रिप्टो मार्फत अवैध तवरबाट अर्को मुलुकमा पैसा लगेको भेटिएको छ । सूर्यदर्शन सहकारीको रिसेप्सनमा काम गर्ने लिला पछाई मार्फत उनले रकम लगेका हुन् ।
२. उमागौरी
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरेको छ ।
३. सुमेरु
ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो ।
४. माओवादी केन्द्र
वाम घटकहरूसँग पार्टी एकता गर्दा समानस्तरको समायोजन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने देखिएको छ । मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो ।
५. एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको मंगलबारको स्थायी समिति बैठक सकिएपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
६.नेकपा एमाले
पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
७. विज्ञहरूमाथि नै प्रश्न
सांसदहरूले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरुसँगको छलफलमा बोलाइएका विज्ञमाथि प्रश्न उठाएका छन् । मंगलबार अर्थ समितिमा भएको छलफलमा समितिले बोलाएका विज्ञमाथि प्रश्न उठाएका हुन् ।
८. विवाहेतर सम्बन्ध
बितेको चार वर्षको अवधिमा मधेसमा यस्ता अनैतिक सम्बन्धका कारण शृंखलावद्ध हत्याका घटनाहरू भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएको हो ।
९. ‘टाइम कार्ड’ नलाग्ने
राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले सरकारको नीतिगत निर्णयको विषयमा व्याख्यासहितको प्रतिवेदन तयार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न ल्याइएको विधेयकका सम्बन्धमा उपसमितिको मंगलबार बसेको बैठकले विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन तयार पारेको छ ।
१०. बन्दी प्रत्यक्षीकरण निवेदन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुनः बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईँका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो ।
११. ऋणको भविष्य
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको मुख्य दुई वटा सहुलियतको समय सकिएको छ । उक्त नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीले असार मसान्तसम्म तिर्नुपर्ने ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने मिति मंसिरसम्म तोकेको थियो । यसैगरी निर्माण व्यवसायीलाई नै लक्षित गरेर चेक बाउन्सको विषयमा पनि लचकता अपनाएको थियो ।
१२. तथ्याङ्कमा एनपिएल
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को प्रारम्भिक चरणको खेल सकिएको छ । लिग चरणको खेलपछि प्ले अफ चरणमा पुग्ने चारवटै टोलीको पनि टुंगो लागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा