बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण

मङ्गलबार, ०२ पुस २०८१, २१ : २४
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण दिइएको हो ।

यही पुस १ गते सम्पन्न तालिममा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग थप प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

तालिमको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, चिनियाँ दूतावासका मिशन उपप्रमुख वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाहलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।

यस वर्षको कार्यक्रममा एक सय जना सहभागी भर्ना भएका र उनीमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्डअनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गरेका बोर्डले जनाएको छ । 

समापन कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक ऐरले भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार भएको उल्लेख गरे । उनले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन भाषाले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबिचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताए । परिषद्का अध्यक्ष डा शाहले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबै प्रशिक्षार्थी, प्रशिक्षक र सहकार्य गर्ने संस्थालाई धन्यवाद दिए ।

बोर्डले पर्यटन व्यवसायीलाई विभिन्न विषयमा नियमित रूपमा प्रशिक्षण दिँदै आएको छ । भाषा सीप, डिजिटल प्रवर्द्धन, प्रकृतिमा आधारित पर्यटन र आतिथ्य व्यवस्थापनलगायत विषयमा यस्ता प्रशिक्षण सञ्चालन गरिँदै आएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप