बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा

मङ्गलबार, ०२ पुस २०८१, २२ : ००
मङ्गलबार, ०२ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको २ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।

जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईले क्रिप्टो मार्फत अवैध तवरबाट अर्को मुलुकमा पैसा लगेको भेटिएको छ । सूर्यदर्शन सहकारीको रिसेप्सनमा काम गर्ने लिला पछाई मार्फत उनले रकम लगेका हुन् ।

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो ।

  • माओवादी केन्द्र

वाम घटकहरूसँग पार्टी एकता गर्दा समानस्तरको समायोजन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने देखिएको छ । मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो । 

  • एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छन् । त्यस्तै महासचिवको नेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । नेताहरुको कार्यविभाजन भने दुई दिन पछि गर्ने निर्णय गरेको मंगलबारको स्थायी समिति बैठक सकिएपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । 

  • नेकपा एमाले

पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

  • विज्ञहरूमाथि नै प्रश्न

सांसदहरूले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ताहरुसँगको छलफलमा बोलाइएका विज्ञमाथि प्रश्न उठाएका छन् । मंगलबार अर्थ समितिमा भएको छलफलमा समितिले बोलाएका विज्ञमाथि प्रश्न उठाएका हुन् । 

  • नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू समाप्त भएका छन् । लिग चरणमा कूल २८ वटा खेलहरू खेलिएका थिए । लिग चरणपछि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफ चरणमा स्थान बनाउन सफल भएका छन् । बुधबार हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । त्यस्तै, पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

  • ‘टाइम कार्ड’ नलाग्ने

राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले सरकारको नीतिगत निर्णयको विषयमा व्याख्यासहितको प्रतिवेदन तयार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न ल्याइएको विधेयकका सम्बन्धमा उपसमितिको मंगलबार बसेको बैठकले विधेयकमाथि दफावार छलफल गरेर प्रतिवेदन तयार पारेको छ ।

  • बन्दी प्रत्यक्षीकरण निवेदन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोरा निराजन प्रसाईँका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो । 

  • ऋणको भविष्य 

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको मुख्य दुई वटा सहुलियतको समय सकिएको छ । उक्त नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीले असार मसान्तसम्म तिर्नुपर्ने ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने मिति मंसिरसम्म तोकेको थियो । यसैगरी निर्माण व्यवसायीलाई नै लक्षित गरेर चेक बाउन्सको विषयमा पनि लचकता अपनाएको थियो ।

  • विवाहेतर सम्बन्ध

बितेको चार वर्षको अवधिमा मधेसमा यस्ता अनैतिक सम्बन्धका कारण शृंखलावद्ध हत्याका घटनाहरू भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८१/०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप