फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का लिग चरणका खेलहरू समाप्त भएर बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरु हुँदैछन् । लिगमा आठवटा टोलीहरू सहभागी थिए । त्यसमध्ये शीर्ष चारमा रहेका टोलीहरू प्लेअफ चरणमा पुगेका हुन् ।
प्रतियोगिताको नियमअनुसार तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनटेर’ मा प्रतिस्पर्धा गर्नेछन् । यस खेलमा पराजित हुने टोली बाहिरिनेछ भने विजेता टोलीले फाइनलमा पुग्नका लागि थप एक मौका प्राप्त गर्नेछ ।
यसैगरी, पहिलो र दोस्रो हुने टोलीले ‘क्वालिफायर’ खेल खेल्नेछन् । यस खेलमा विजयी हुने टोली सिधै शनिबार खेलिने फाइनलमा प्रवेश पाउनेछ । पराजित हुने टोलीले एलिमिनटेरमा विजेता टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ । त्यसपछि दोस्रो क्वालिफायरमा जित्ने टोली फाइनलमा पुग्नेछ ।
लिग चरणका खेलहरू समाप्त हुँदा सुदूरपश्चिम रोयल्स पहिलो, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो बनेको थियो ।
जसअनुसार चितवन र कर्णालीले एलिमिनेटर खेल खेल्नेछन् भने सुदूरपश्चिम र जनकपुर क्वालिफायर खेलमा भिड्नेछन् । सुदूरपश्चिम र जनकपुरबिचको क्वालिफायर खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
सुदूरपश्चिम र जनकपुरको लिग यात्रा
सुदूरपश्चिम रोयल्स लिग चरणमा शीर्ष स्थानमा रहन सफल भएको टोली हो । टोलीले खेलेका कूल ७ मध्ये एक खेलमा मात्र बेहोर्दै १२ अङ्क बटुल्दै शीर्ष स्थान कब्जा गर्न सफल रह्यो ।
सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा टोलीले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक खेलमा ५ रनले मात दियो ।
आफ्नो विजयी यात्रा जारी राख्दै टोलीले जनकपुर बोल्ट्सलाई ७२ रनको विशाल अन्तरले हरायो । तर, चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले स्तब्ध बन्न पुग्यो ।
त्यसपछि भने टोलीले लगातार तीन खेलमा जित निकाल्ने क्रममा लुम्बिनी लायन्सलाई ४५ रन, काठमाडौँ गुर्खाजलाई ७३ रन तथा विराटनगर किंग्सलाई ९० रनले पराजित गर्यो ।
यता, जनकपुर बोल्ट्स भने दोस्रो स्थानमा रहेको टोली हो । टोलीले ७ खेलमध्ये ५ मा जित र २ खेलमा हार बेहोरेको थियो । टोलीले लिग चरणमा कूल १० अङ्क बटुल्न सफल भएको थियो ।
प्रतियोगितामा जनकपुरको सुरुवात भने राम्रो हुन सकेन । टोली पहिलो खेलमा नै चितवन राइनोजसँग ३२ रनले स्तब्ध बनेको थियो । तर, दोस्रो खेलमा कमब्याक गर्दै टोलीले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो ।
तेस्रो खेलमा फेरि जनकपुरलाई झट्का लाग्यो । यसपटक टोली सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । त्यसपछि भने टोलीले लगातार चार खेल जित्दै दोस्रो स्थानमा कब्जा जमायो । टोलीले यस क्रममा लुम्बिनी लायन्सलाई १ रन, पोखरा एभेन्जर्सलाई ७ विकेट, कर्णाली याक्सलाई ८ विकेट र विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो ।
प्रभाव पार्न सक्ने खेलाडी (सुदूरपश्चिम रोयल्स)
- स्कट कुगेलायन
न्युजिल्याण्डका बलिङ अलराउन्डर कुगेलायन प्रतियोगितामा हालसम्म सबैभन्दा धेरै विकेट लिएका खेलाडी हुन् । ३२ वर्षीय खेलाडीले १५ विकेट लिएका छन् ।
उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ५ विकेट लिन सफल भएका थिए । ३.४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए । उनको बलिङ एभरेज ९.०० रहेको छ । यता, ब्याटिङमा उनले ५३ रनको योगदान दिएका छन् । उनको उच्च स्कोर १६ रन रहेको छ ।
- दीपेन्द्र सिंह ऐरी
‘टाइगर’ उपनामले चर्चित ऐरी टोलीका कप्तानसमेत हुन् । मात्र २४ वर्ष पुगे पनि उनी नेपालका लागि निकै अनुभवी खेलाडी हुन् । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् भने उनको राइट आर्म अफब्रेक बलिङ पनि त्यतिकै घातक छ ।
जारी प्रतियोगितामा उनले ७ खेलमा ३९.६० को औसतले १ सय ९८ रन बनाइसकेका छन् । उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनी लिगमा भने पाँचौँ स्थानमा छन् ।
उनको उच्च स्कोर ५७ रन हो । उनले हालसम्म १४ चौका र ११ छक्का हिर्काएका छन् । उनको स्ट्राइक उत्कृष्ट १६७.७९ रहेको छ ।
उनले बलिङमा पनि ५ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ पर्फमेन्स २/२० हो । उनको बलिङ औसत २१.२० रहेको छ ।
- प्रभाव पार्न सक्ने खेलाडी (जनकपुर बोल्ट्स)
ललित राजवंशी
देब्रे हाते अर्थोडक्स बलर हुन्, ललित राजवंशी । उनी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा छन् ।
उनले ७ खेलमा १०.६९ को औसतले १३ विकेट लिएका छन् । उनको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन भने ८ रन खर्चेर ३ विकेट लिनु हो । २५ वर्षीय खेलाडीले विकेट लिन सफल मात्र होइन, किफायती पनि साबित भएका छन् । उनको इकोनोमी रेट ४.९६ रहेको छ ।
लाहिरु मिलान्था
श्रीलंकन खेलाडी यो सिजन एनपीएलमा चम्किने विदेशी खेलाडीहरुमध्ये एक हुन्, लाहिरु मिलान्था । ३० वर्षीय विकेटकिपर ब्याटरले हालसम्म ७ खेल खेल्दै ३२.०० को औसतले १ सय ९२ रन बनाएका छन् ।
उनी टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् भने लिगमा उनी छैटौँ स्थानमा छन् । उनले प्रतियोगितामा एउटा अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर ७२ रन (नटआउट) हो ।
उनले हालसम्म २४ चौका र ४ छक्का प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १२६.३१ रहेको छ ।