भरत महर्जनविरुद्ध ३ अर्ब ९३ करोड बिगो कायम गरेर अभियोगपत्र दायर
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अभियोगपत्र दायर गरेको हो । अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
भरत महर्जनलाई मात्रै प्रतिवादी कायम गरेर अभियोग पत्र दायर गरिएको छ । महर्जनविरुद्ध ३ अर्ब ९३ करोड बिगो मागदाबी लिँदै मुद्दा दायर गरिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । प्रहरीले महर्जन दम्पती र छोराको पनि चल अचल सम्पत्ति रोक्का गरेको छ ।
महर्जन फरार छन् । उनी २०७९ पुस ७ मा भागेर बेलायत गएको देखिएको छ । महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवलयबाट रोड नोटिस जारी भएको छ । २०८० माघ १० मा नोटिस जारी भएपनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।
महर्जन पक्राउ नपरेको हुनाले सहकारीमा आबद्ध अन्य व्यक्तिलाई प्रतिवादी बनाउने अवस्था नदेखिएको एआईजी थापाले बताए । उनले भने, ‘महर्जनलाई ल्याएपछि थप तथ्य खुल्छ । महर्जन पक्राउ परेपछि उनको बयानको आधारमा पूरक अभियोग लैजान मिल्छ ।’
सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
निक्षेप आफूखुसी निजी कम्पनीमा लगेर महर्जन सम्पर्कविहीन भएपछि सहकारीका तत्कालीन अध्यक्ष विनोद दाहालले उनीविरुद्ध जाहेरी दिएका थिए । जाहेरी दर्ता भएको १ वर्षभित्र अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
बचतकर्ताले सो सहकारीमा ११ अर्ब बचत गरेका थिए । सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडसँग करिब १३ अर्बको बचत र सम्पत्ति रहेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सुमेरुको सम्पत्तिबाट बचतकर्ताले रकम फिर्ता पाउने अवस्था देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता
-
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार