मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’

मङ्गलबार, ०२ पुस २०८१, १८ : ०९
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले सहकारी क्षेत्रको सुधारका सन्दर्भमा सरकारले अघि बढाएका तीन विषयमा असन्तुष्टि जनाएका छन् । मंगलबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले ठुला सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने, सहकारी सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण केन्द्रमा ‘अब्जेक्सन’ जनाएका हुन् । 

उनले सहकारी क्षेत्र नेपाल राष्ट्र बैंकको नियमनमा जानै नहुने बताए । राष्ट्र बैंकको नियमनमा जाँदा सहकारी अभियानका कतिपय कुराहरु धरापमा पर्ने भन्दै उनले यसको विरोध गरेका हुन् । राष्ट्र बैंकको नियमनमा आउँदा राष्ट्रिय सहकारी बैंकको अवस्था हेरेर समयमै पाठ सिक्न समेत उनले सहकारी अभियानकर्मीलाई चेतावनी दिए ।

खतिवडाले सहकारीको कर्जा नहुने भन्दै यसलाई ऋण सूचना केन्द्रको रूपमा विकास गर्नुपर्ने समेत बताए । उनले दुई केन्द्रबिच सूचना आदानप्रदान गर्नुपर्ने भए पनि कर्जा सूचना केन्द्र एउटै बनाउने प्रयासमा समेत असन्तुष्टि जनाए । अहिले सरकारले कर्जा सूचना केन्द्रलाई नै सहकारी कर्जा सूचना केन्द्रको समेत काम गर्न दिनेगरी छलफल गरिरहेको छ । 

सहकारीको निक्षेप तथा कर्जा सुरक्षणमा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकामा समेत उनको असन्तुष्टि थियो । अहिले नै कोषले १२ खर्ब रुपैयाँ बराबरको निक्षेपको भार थेगिरहेको भन्दै यसलाई भार थप्न नहुनेमा उनको जोड थियो । 

‘१४÷१५ अर्बको संस्थाले अहिले नै १२ खर्बको दायित्व बोकेर बसेको छ । सहकारीको पनि दायित्व थपिँदा कस्तो होला, हामी आफैँ मनन गरौँ,’  खतिवडाले भने, ‘बचत सुरक्षणको व्यवस्था सहकारीबाटै हुनुपर्छ ।’

अहिले पाँच लाखसम्म बचत फिर्ताको कुरा आएको भन्दै उनले यो पैसा सरकारले चेक काटेर दिन नसक्ने समेत बताए । बचतकर्ताको बचत सहकारीले नै डुबाएको भन्दै उनले त्यसलाई निकाल्ने दायित्व पनि सदस्य रहेको बताए । खतिवडाले भने, ‘बचत फिर्ता पाइँदैन भने बचतलाई शेयरमा रूपान्तरण गर्नुस्, नेतृत्व परिवर्तन गर्नुस्, सञ्चालक समिति फेर्नुस् ।’ 

उनले अहिलेको सहकारी समस्या चर्चा भएजस्तो ठुलो नभएको समेत दाबी गरे । यही समस्याका आधारमा सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्छ भन्नु टाउको दुख्यो भनेर घाँटी काटेर फाल्नुजस्तै भएको उनको भनाइ छ । 

अहिले बैंकिङ क्षेत्रको निक्षेपमा पाँच लाखसम्मको बीमा भइरहेको छ । सहकारीमा समेत यही व्यवस्था लागु गर्न खोजेकोमा समेत उनको असहमति छ । उनले भने, ‘पाँच लाख मात्रै किन छ लाख रुपैयाँ बचत गर्नेको बचत होइन ? उसले पनि ज्याला गरेर बचत गरेको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप