सहकारी ठगहरू अब आकाशमाथि र जमिनमुनि भए पनि जोगिने अवस्था छैन : सूर्य थापा
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।
‘म तपाईँहरूलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गए पनि छोड्दैन, आकाशमाथि गए पनि छोड्दैन,’– उनले भने ।
साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबिच भएको सम्बन्ध विच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेड कर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए ।
त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको नेता थापाको भनाइ छ । उनले अनुसन्धान अधिकारीको सहमतिको राहदानी विभागले जिबीको पासपोर्ट रोक्का गरेको बताए । थापाले सरकार जिबीलाई नेपाल ल्याउने प्रक्रियामा लागिरहेको पनि बताए ।
‘पहिले सहकारी ठगी वा ठगीको विषयमा मात्रै राहदानी रद्द हुने विषय थिएन । अहिले संगठित अपराधमा पनि मुद्दा अगाडि बढिसकेपछि अनुसन्धान गर्ने अनुसन्धान अधिकारीको सहमतिमा अहिले उनको पासपोर्ट रद्द गर्ने र उनलाई ल्याउने र कारबाहीको दायरामा प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढेको छ । यद्यपि उनलाई नेपाल ल्याइसकिएको छैन,’– उनले भने ।
साथै, संसदीय विशेष समितिका केही सदस्यहरूले आफ्नो कर्तव्य बोध नै नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उक्त समितिमा पाँच दलका सात जना सदस्य रहेको र सर्वसम्मतिमा प्रतिवेदन पास भएको बताउँदै उनले सो प्रतिवेदन कुनै व्यक्ति केन्द्रित भयो भन्नु अशोभनीय हुने बताए ।
‘यो प्रतिवेदन आएपछि केही मान्छेहरूमा कर्तव्य बोधको समस्या देखा परेको छ । समितिमा हामी पाँच पार्टीका सात जना थियौँ । सातै जनाको सर्वसम्मतिमा त्यो प्रतिवेदन तयार भएको हो । अहिले प्रतिवेदन एक जना व्यक्तिमाथि केन्द्रित भयो भनेर भ्रम फैलाउने काम गरिएको छ, त्यो तुवाँलो सिर्जना गर्ने काम भएको छ,’– उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको उनको भनाइ छ । प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । रास्वपाले सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु अनैतिक, अराजनीतिक र गैरजिम्मेवार रहेको उनले बताए । उनले सरकारले कसैप्रति पनि प्रतिशोध नसाँधेको जिकिर गरे ।
‘प्रतिवेदन कार्यान्वयन गर्न आफैँ ताली बजाएर निर्देशन दिने । अनि प्रतिवेदन कार्यान्वयन गरिरहँदा ठाउँ–ठाउँमा जुलुस प्रदर्शन गरेर अवरोध गर्ने । यो चाहिँ अनैतिक, अराजनीतिक र गैरजिम्मेवार तरिकाले गर्दा यो अनुसन्धानको काममा केही ढिलो भयो । अदालतले अनुमति दिएर पक्राउ पुर्जी जारी भएको छ । म्याद थप भएको छ,’– थापाले भने ।
कानुनले तोकेको समयसीमाभित्र सरकारी वकिलको तर्फबाट प्रहरी अनुसन्धानमा आधारित भएर अदालतमा अभियोग जाने र त्यसपछि को ठग हो कि होइन भनेर अदालतले नै निर्क्योल गर्ने उनको भनाइ छ । ‘बाँकी कुरा को ठग हो, को होइन, को दोषी हो होइन ? अदालतले प्रमाणका आधारमा निर्णय गर्छ । कसैका भावना, हाँसो र आँसुको आधारमा होइन, अदालतले तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ । तथ्य प्रमाणले पुष्टि गरे ठग हुन्छ, होइन भने छुट्छ,’– रास्वपा सभापति लामिछानेलक्षित गर्दै थापाले भने ।