बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स

यी हुन् ‘प्लेयर टू वाच’
बुधबार, ०३ पुस २०८१, ०६ : ००
बुधबार, ०३ पुस २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । प्रारम्भदेखि नै एकपछि अर्को अप्रत्याशित नतिजाले चर्चाको शिखरमा पुगेको एनपीएलको पहिलो संस्करण चार खेलमात्र बाँकी रहँदा थप रोमाञ्चक मोडमा पुगेको छ । 

प्रतियोगितामा बुधबार चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल खेलिँदै छ । उक्त खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । यो खेलमा चितवन राइनोज र कर्णाली याक्स दुवै ‘गर वा मर’को स्थितिमा रहने छन् । 

470205268_122128486454511379_2807622234014624163_n

जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको थियो । प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो । पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान रहेको थियो । 

सोही अनुरुप चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनेटर’ खेल खेल्न लागिएको हो । यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ । तर, यो खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ ।

अर्थात, ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्न पाउने छ । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ ।

त्यसैले बुधबार खेलिने ‘एलिमिनेटर’ खेलमा चितवन राइनोज र कर्णाली याक्स दुवै दबाबमा रहने पक्का छ । चितवन राइनोज प्रारम्भिक चरणको खेलमा तेस्रो हुँदै प्रतियोगिताको प्ले अफ चरणमा प्रवेश गरेको हो । चितवन राइनोजले सात खेलबाट कुल आठ अङ्क बटुल्यो । 

चितवन राइनोजले सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो ।

chitwan rhinos

चितवन राइनोज आफ्नो तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा चितवन राइनोजले बलियो सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजयको स्वाद चखाएको थियो । पाँचौँ खेलमा चितवन राइनोज लुम्बिनी लायन्ससँग ३३ रनले हारेको थियो ।

आफ्नो छैटौँ खेलमा चितवन राइनोज विराटनगर किङ्ससँग ५१ रनले पराजित भएको थियो । पहिलो चरणको अन्तिम खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको थियो । तालिकाको पहिलो स्थानमा आसीन सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा आसीन जनकपुर बोल्ट्सजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराएको चितवन राइनोजको मनोबल बुधबारको खेलमा निकै उच्च रहने छ ।

अर्कोतिर, कर्णाली याक्स आठ अंकसहित चौथो हुँदै प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो । कर्णाली याक्सले सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । कर्णाली याक्स आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । त्यसपछि लयमा फर्किएको कर्णाली याक्सले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले र चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो ।

यसैगरी, कर्णाली याक्सले आफ्नो पाँचौँ खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले र छैटौँ खेलमा लुम्बिनी लायन्सलाई पाँच रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्स बलियो सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

कर्णाली याक्स प्ले अफ चरणमा स्थान बनाउने अन्तिम टोली पनि हो । कर्णाली याक्सले प्ले अफ चरणमा पुग्न ठुलै सङ्घर्ष गर्नु परेको थियो । कर्णाली याक्स र काठमाडौँ गुर्खाजको अङ्क बराबर थियो । त्यसैले अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ५५ रनभन्दा ठुलो अन्तरले पराजित भएको भए काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने अवस्था थियो ।

यसैगरी, प्रारम्भिक चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमै विजयलक्ष्य प्राप्त गरेको भए पनि कर्णाली याक्स उपाधि होडबाट बाहिरिने थियो र काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो । तर, अन्तिम समयमा काठमाडौँ गुर्खाजलाई जिल्याउँदै कर्णाली याक्स राम्रो नेट रन रेटका आधारमा प्ले अफ चरणमा पुग्न सफल भयो । 

त्यसैले जारी एनपीएलमा कर्णाली याक्स भाग्यमानी टोली पनि हो । यसका अतिरिक्त प्रारम्भिक चरणको खेलमा एकपटक चितवन राइनोजलाई हराइसकेकाले पनि बुधबारको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सको मनोबल निकै उच्च रहने छ ।

प्रारम्भिक चरणको खेलमा कर्णाली याक्सको सफलतामा भारतका स्टार ब्याट्सम्यान शिखर धवनको पनि महत्त्वपूर्ण योगदान रहेको थियो । तर, उनी केवल चार खेल खेलेर स्वदेश फर्किएका छन् । कर्णाली याक्सका लागि उनको अनुपस्थिति कमजोर पक्षका रूपमा रहने छ । 

जारी एनपीएलमा कर्णाली याक्स राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सोमपाल कामीको कप्तानीमा रहेको छ । टोलीमा देब खनाल, अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो, वेस्ट इन्डिजका ब्याट्सम्यान चाडविक वाल्टन, राष्ट्रिय टोलीका प्रभावशाली गुलसन झा, ओमानका अलराउन्डर जिसन मक्सुद, नन्दन यादब, विपिन शर्मालगायतका प्रभावशाली खेलाडी छन् । 

यसैगरी, चितवन राइनोज पनि राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी कुशल मल्लको कप्तानीमा रहेको छ । चितवन राइनोजमा अफगानिस्तानका ओपनर ब्याट्सम्यान हसन इशाखिल, इङ्ल्यान्डका चर्चित अलराउन्डर रवि बोपरा, नामिबियाका अलराउन्डर जन निकोल लफ्टी एटन, पाकिस्तानका बायाँहाते तिब्रगतिका बलर सोहेल तनवीर, अमर रौतेला, विपिन रावल, सन्तोष कार्की, रिजन ढकालजस्ता प्रभावशाली खेलाडी छन् । 

  • प्रभाव पार्न सक्ने खेलाडी 

रवि बोपारा (चितवन राइनोज)

इङ्ल्यान्डका चर्चित अलराउन्डर हुन्, रवि बोपारा । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा रवि बोपारा दोस्रो स्थानमा आसीन छन् । बोपाराले सात पालीमा कुल दुई सय ३३ रन बनाएका छन् । एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने अविजित ५९ रन हो । 

जारी एनपीएलमा हालसम्म दुई जना ब्याट्सम्यानले मात्र दुईवटा अर्धशतक बनाउन सकेका छन् । दोहोरो अर्धशतक बनाउने दुई खेलाडीमध्ये रवि बोपरा पनि एक हुन् । यसका अतिरिक्त लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले दुई अर्धशतक बनाएका छन् । 

रवि बोपराले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए । ३९ वर्षीय रवि बोपाराले आफ्नो दोस्रो अर्धशतक भने कर्णाली याक्सविरुद्धको खेलमा बनाएका थिए । 

त्यो खेलमा उनले टोलीका लागि अविजित ५९ रनको योगदान गरेका थिए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । त्यसैले उनी बुधबार खेलिने कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलमा नतिजालाई प्रभावित पार्न सक्ने खेलाडीमध्ये एक हुन् ।

सोहेल तनवीर (चितवन राइनोज)

पाकिस्तानका बायाँहाते तिब्रगतिका बलर हुन्, सोहेल तनवीर । ४० वर्षीय सोहेल तनवीर पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । जारी एनपीएलमा पनि उनको प्रदर्शन उत्कृष्ट देखिएको छ । 

जारी एनपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा सोहेल तनवीर चौथो स्थानमा आसीन छन् । उनले हालसम्म सात खेल खेल्दै कुल १२ विकेट लिइसकेका छन् । सोहेल तनवीरको एउटै खेलमा उत्कृष्ट प्रदर्शन भने २१ रन खर्चिएर पाँच विकेट हो ।

जारी एनपीएलमा एकै पालीमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि उनी चौथो नम्बरमा छन् । एउटै पालीमा सर्वाधिक विकेट लिने बलर भने विलियम बोसिस्टो हुन् । त्यसैले बुधबार खेलिने कर्णाली याक्सविरुद्धको खेलमा पनि उनीबाट चितवन राइनोजले उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । 

विलियम बोसिस्टो (कर्णाली याक्स)

अस्ट्रेलियाका खेलाडी हुन्, विलियम बोसिस्टो । ३१ वर्षीय बोसिस्टोले ब्याटिङ अलराउन्डर हुन् । जारी एनपीएलमा पनि उनले गतिलो प्रदर्शन गर्दै आएका छन् । जारी एनपीएलमा उनले पाँच खेलको चार पालीमा कुल एक सय २८ रन बनाइसकेका छन् ।

बोसिस्टो जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने खेलाडीमध्ये पनि एक हुन् । उनले विराटनगर किङ्सविरुद्धको खेलमा ४९ बलमा ६६ रन बनाएका थिए । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि ३० बलमा ४४ रन बनाएका थिए । 

bosisto

सामान्यतः उनी मध्यक्रममा क्रिज समाल्न आउँछन् । उनले जारी एनपीएलमा हालसम्म ६ छक्का र नौवटा चौका पनि प्रहार गरिसकेका छन् । यसका अतिरिक्त टोलीलाई प्ले अफ चरणमा पुर्‍याउन उनले बलिङबाट पनि महत्त्वपूर्ण योगदान गरेका छन् ।

बोसिस्टोले हालसम्म पाँच खेलमा कुल आठ विकेट लिइसकेका छन् । बलिङतर्फ उनले एउटै खेलमा गरेको उत्कृष्ट प्रदर्शन केवल २८ रन खर्चिएर ६ विकेट हो । त्यसैले बुधबार हुने खेलमा उनी नतिजालाई प्रभावित तुल्याउन सक्ने क्षमता भएका खेलाडी हुन् । 

  • गुलसन झा (कर्णाली याक्स) 

गुलसन झा राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट ७० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । जारी एनपीएलमा कर्णाली याक्सलाई प्ले अफ चरणमा पुर्‍याउन उनको भूमिका महत्त्वपूर्ण रहेको छ ।

१८ वर्षीय गुलसनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । उनी बायाँ हातले ब्याटिङ गर्छन् भने दायाँ हातले मध्यम तेज गतिका बल फाल्छन् । जारी एनपीएलमा उनले हालसम्म सात खेल खेल्दै कुल एक सय सात रन बनाइसकेका छन् ।

gulshan-jha

गुलसनले जारी एनपीएलमा बनाएको उच्च स्कोर भने अविजित ४९ रन हो । उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा केवल ३७ बलमा उक्त रन बनाएका हुन् । उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा पनि ३६ रन बनाएका थिए । उनले हालसम्म सात छक्का र ६ चौका पनि हिर्काएका छन् ।

जारी एनपीएलमा उनको बलिङ भने खासै चल्न सकेको छैन । उनले हालसम्म एक विकेटमात्र लिन सकेका छन् । तर, बुधबार खेलिने चितवन राइनोजविरुद्धको खेलमा उनले ब्याटिङसँग बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास कर्णाली याक्सले लिएको छ । 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप