बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
क्रिकेट

महिला यू–१९ एसिया कप : यस्तो छ ‘सुपर–४’ चरणको तालिका

मङ्गलबार, ०२ पुस २०८१, १५ : ३४
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबिचको मंगलबारको खेल अनिर्णीत रूपमा सकिएको छ । प्रतिकुल मौसमका कारण खेल बिचमै स्थगित भएको थियो । त्यसपछि खेल अगाडि बढ्न सकेन ।

खेल अनिर्णीत रूपमा सकिएपछि दुवै टोलीले एक–एक अंक हात पारे । नेपाल र भारत दुबैले कुल तीन–तीन अंक बटुले । भारत समूह ‘बी’ को विजेता र नेपाल उपविजेता बन्दै प्रतियोगिताको ‘सुपर–४’ चरणमा पुग्न सफल भए । भारतको नेट रन रेट ५.३३१ र नेपालको नेट रन रेट ०.३२६ रह्यो ।

पाकिस्तान भने समूहगत चरणबाटै बाहिरियो । पाकिस्तानी टोली आफूले खेलेको दुवै खेलमा पराजित भयो । पाकिस्तानी टोली आफ्नो पहिलो खेलमा भारतसँग नौ विकेटले र दोस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित भयो । 

समूह ‘ए’ बाट भने चार अंकसहित बंगलादेश पहिलो र दुई अंकसहित श्रीलंका दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुग्न सफल भए । उक्त समूहमा रहेको तेस्रो टोली आयोजक मलेसिया भने दुवै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरियो । 

मलेसियामा जारी खेलमा मंगलबार टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ३.१ ओभरमा कुनै विकेट नगुमाई २८ रन बनाएपछि प्रतिकुल मौसमका कारण खेल रद्द भएको थियो । 

पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले २५ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भई मैदानबाट बाहिरिएकी थिइन् । 

नेपाली टोलीले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । ओपनर साना प्रविन ३३ बलमा नौ रन र सावित्री धामी चार बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिन पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् । 

ज्योत्सनिका मरासिनी ६ रन र सिमाना केसी शून्य रनमै आउट भए । सातौँ नम्बरमा क्रिज समाल्न आएकी एलिसा यादबले टोलीको खातामा अविजित २० रन थपिन् । विकेटकिपर ब्याट्र एलिसाले नौ बलको सामना गरी चार चौका पनि हिर्काइन् । 

अनु कडायत एक रनमै पेभेलियन फर्किइन् । कुशुम गोदार पनि एक रनै आउट भइन् । रचना कुमारी चौधरीले अविजित तीन रन बनाइन् । नेपाली टोलीले अतिरिक्त रूपमा पनि १८ रन पायो । भारतीय टोलीकी बलर परुनिका सिसोदियाले चार विकेट लिइन् । अनन्दिता किशोर र मिथिला विनोदले पनि एक–एक विकेट हात पारे । 

प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ । अब ‘सुपर–४’ चरणमा चारवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । 

‘सुपर–४’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । ‘सुपर–४’ चरणको पहिलो खेल बिहीबार भारत र बंगलादेशबिच खेलिने छ । सोही दिन नेपाल र श्रीलंकाबिच दोस्रो खेल खेलिने छ ।

यसैगरी, शुक्रबारको पहिलो खेल नेपाल र बंगलादेशबिच खेलिने छ । सोही दिन भारत र श्रीलंकाबिच दोस्रो खेल खेलिने छ । त्यसपछि तालिकाको माथिल्ला दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आगामी आइतबार खेलिने छ । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप