महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले गरेन जसपा नेपाललाई अद्यावधिक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले अद्यावधिक गरेको छैन । सो पार्टीको महाधिवेशन जेठको अन्तिम साता सम्पन्न भएको थियो ।
राजनीतिक दलले महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र आयोगलाई जानकारी गराउनुपर्छ । त्यसको ९० दिनभित्र आयोगले सम्बन्धित पार्टीलाई अद्यावधिक भएको जानकारी गराउनुपर्ने हुन्छ ।
महाधिवेशन सम्पन्न भएपछि जसपा नेपालले पार्टी अद्यावधिकका लागि आयोगलाई सम्पूर्ण कागजातसहित जानकारी गराए पनि हालसम्म आयोगले न अद्यावधिक गरेको छ, न कुनै जानकारी नै गराएको जसपा नेपालका कार्यकारिणी सदस्य शैलेन्द्र साहले बताए ।
जसपा नेपालले महाधिवेशन सम्पन्न गरेर त्यसको सम्पूर्ण डकुमेन्टस्, कार्यसमितिको नामावलीलगायतका सबै कुरा निर्वाचन आयोगलाई बुझाइसके पनि हालसम्म त्यसको बारेमा आयोगबाट कुनै जानकारी नआएको नेता साहले बताए ।
उनले भने, ‘कुनै समस्या छ भने हामीलाई भन्नुपर्थ्यो । कुनै डकुमेन्टस् पुगेको छैन भने हामीलाई भन्नुपर्थ्यो तर केही नभनिकन यत्रो दिन अल्झाएर राखेको छ ।’
आयोगका अधिकारीलाई अद्यावधिक बारेमा बुझ्न जाँदा आज–भोलि हुन्छ भन्दै ६ महिनाभन्दा बढी समय बिताएको जसपा नेपालका नेताहरूको आरोप छ ।
यसका लागि जसपा नेपालका नेताहरू सोमबार निर्वाचन आयोगको कार्यालय पुगेका थिए । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई भेटेर जसपा नेपाल पार्टीलाई अद्यावधिक गराउनमा किन ढिलाइ भएको भनी उनीहरूले ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रमुख आयुक्त थपिलयाले के भएको छ भन्ने बुझेर चाँडै टुङ्गो लगाउने आवश्वासन दिएको नेता साहले बताए । निर्वाचन आयोगले जसपा नेपालका नेताहरूलाई मंगलबार पनि बोलाएको छ ।
महाधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति सदस्य तथा पदाधिकारीहरूले कार्यभार सम्हालिसकेका छन् । उनीहरूले आआफ्नो पदीय जिम्मेवारी अनुसार कामकाज गर्न थालेका छन् ।
पार्टीको चार महिने अभियान सम्पन्न गरी सो अभियानका लागि दुई महिना थप गरिएको छ । जिल्ला तथा भ्रातृ संगठनहरूको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ ।
आयोगबाट वैधानिकता नपाए पनि जसपा नेपालले आफ्नो सांगठनिक काम अगाडि बढाइसकेको छ ।
महाधिवेशनको वैधानिकतामाथि प्रश्न
जेठमा सम्पन्न भएको महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा लुम्बिनी प्रदेशका अशोक यादवले उजुरी हालेका छन् । त्यो उजुरीमाथि छानबिन गर्दा आयोगले ढिलाइ गरेको स्रोतले जनाएको छ ।
विधान अनुसार पदाधिकारी चयन नभएको भनी उजुरी परेको छ । आयोगका एक अधिकारीका अनुसार जसपा नेपालले उम्मेदवार नै नभएका व्यक्तिलाई पदाधिकारी बनाएको छ, जो पार्टीको विधान विपरीत हो । विधान अनुसार निर्वाचनबाट पार्टीका पदाधिकारी चयन हुने भनिएको छ ।
तर पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै अध्यक्षबाहेक सबै पदाधिकारी चयन गरेका छन् । उपेन्द्र यादव महाधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन् । उनले अन्य पदाधिकारी तथा सदस्यहरू आफैँले चयन गरे, जो पार्टीको विधान विपरीत रहेको आयोगका ती अधिकारीले बताए ।
महाधिवेशनमा अध्यक्ष पदमा सर्वसम्मत भएको थियो । त्यसबाहेक अरु पदमा उम्मेदवारी परेको थियो । तर पछि पदाधिकारीदेखि लिएर हरेक सदस्य अध्यक्षले चयन गर्ने सहमति गरेर महाधिवेशन सम्पन्न गरिएको थियो ।
उम्मेदवारी दिएकामध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिएनन् । जसपा नेपालका एक जना कार्यकारिणी सदस्यले भने, ‘अध्यक्षज्यूले उम्मेदवारी दिएकामध्येबाटै केन्द्रीय समितिमा ल्याउनु पर्थ्यो तर उहाँले त्यस्तो गर्नु भएन । जसलाई जे भूमिका दिन मन लाग्यो, त्यही गर्नुभयो ।’
महाधिवेशनमा उम्मेदवारी नै नदिएका व्यक्तिलाई केन्द्रीय समितिमा ल्याइएको छ । कतिपयले उम्मेदवारी एउटामा दिएका थिए भने मनोनयन अर्को पदमा भए ।
जसपा नेपालका ती कार्यकारिणी सदस्य भने, ‘राजकिशोर यादवले सहअध्यक्षमा उम्मेदवारी दिनु भएको थियो, तर उहाँलाई उपाध्यक्ष बनाइएको छ, जब कि उहाँले सहअध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको छैन । रेखा यादव, शैलेन्द्र साह, दीपक कार्कीलगायत थुप्रै नेताको सवालमा यस्तो भएको छ जो विधान विपरीत हो ।’
नभ्याएर ढिलो भएको हो : आयोग
निर्वाचन आयोगमा प्रमुख आयुक्त थपलियाले उपनिर्वाचनमा आयोगले ध्यान दिनु परेका कारण जसपा नेपालको महाधिवेशनका सम्बन्धमा निर्णयमा पुग्न नभ्याएको बताए ।
उनले भने, ‘जसपा नेपालले पार्टीको महाधिवेशन सम्पन्न गरी हामीलाई जानकारी गराएको हो तर हामीले नभ्याएर हेर्न पाएनौँ । अब त्यसमा अध्ययन गरेर चाँडै टुङ्गो लगाउँछौँ ।’
अद्यावधिक नभए पनि पार्टीको काम गर्नमा कुनै अवरोध नहुने थपलियाले बताए । ‘अद्यावधिक हुँदै गर्छ । पार्टीको काम हुँदै गर्छ । तर पार्टी विभाजनपछि महाधिवेशन भएकाले समयमा अद्यावधिक भइसक्नुपर्ने थियो । केही ढिलाइ भए पनि अब चाँडै टुङ्गिन्छ,’ उनले भने ।
जसपा नेपालको बारेमा अध्ययन भइरहेको जानकारी गराउँदै प्रमुख आयुक्त थपलियाले चाँडै नै महाधिवेशन अनुसार अद्यावधिक गर्ने बताए । उनले जसपा नेपालको विधान अध्ययन गर्ने काम सकिएको भन्दै केही अपुग रहेमा आयोगले माग गर्ने र त्यसपछि केन्द्रीय समितिको बारेमा अध्ययन गरेर टुङ्गो लगाउने प्रस्ट पारे ।
महाधिवेशनको विषयलाई लिएर आयोगमा परेको उजुरीका बारेमा जिज्ञासा राख्दा उनले उजुरीको बारेमा पनि अध्ययन भइरहेको बताए । तर उजुरी र अद्यावधिकको काम फरक विषय रहेको उनको भनाइ छ ।
थपलियाले भने, ‘यस्ता उजुरी आइरहेका हुन्छन्, आवश्यकता र विषयवस्तुको गाम्भीर्यता अनुसार त्यसको बारेमा छलफल र अनुसन्धान हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा
-
बाढी पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन सांसदहरूको माग
-
प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी