बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

अन्तिम चार खेल बाँकी रहँदा तथ्याङ्कमा नेपाल प्रिमियर लिग

टोली बाहिरिए पनि एनपीएलमा चम्किएका रोहित पौडेलदेखि ३० चौका प्रहार गर्ने आन्द्रेस गौससम्म
मङ्गलबार, ०२ पुस २०८१, २० : ३०
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रारम्भिक चरणको खेल सकिएको छ । लिग चरणको खेलपछि प्ले अफ चरणमा पुग्ने चारवटै टोलीको पनि टुङ्गो लागिसकेको छ ।

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्रतियोगिताको प्ले अफ चरणमा स्थान पक्का गरेका छन् । सहभागी आठवटै टोलीले सात–सात खेल खेलिसक्दा १२ अङ्कसहित सुदूरपश्चिम रोयल्स पहिलो हुँदै प्ले अफ चरणमा पुगेको हो । सुदूरपश्चिम रोयल्सले ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।

470673255_901930985397747_8367536205845129326_n

जनकपुर बोल्ट्स १० अङ्कसहित दोस्रो हुँदै प्ले अफ चरणमा प्रवेश गर्‍यो । जनकपुर बोल्ट्सले पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो । आठ अङ्कसहित चितवन राइनोज तेस्रो र आठ अङ्कसहित कर्णाली याक्स चौथो हुँदै प्ले अफ चरणमा पुगेका हुन् ।

चितवन राइनोजले चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो भने कर्णाली याक्सले चार खेलमा जित र तीन खेलमा हार भोग्यो । सोमबारको खेलमा सुदुरपश्चिम रोयल्सले १२.२ ओभरमा जित हात पारेको भए कर्णाली याक्सलाई पछि पार्दै काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो ।

470643103_901389762118536_615182241126626661_n

तर, आठ अङ्क बटुले पनि काठमाडौँ गुर्खाज उपाधि होडबाट बाहिरियो । काठमाडौँ गुर्खाजले चार जित र तीन हारको नतिजा निकाल्यो । तालिकाको पाँचौँ स्थानमा रहेको काठमाडौँ गुर्खाजको नेट रन रेट ऋणात्मक (–०.३२१) रह्यो ।

नेट रन रेटमा काठमाडौँ गुर्खाज कर्णाली याक्ससँग थोरै अन्तरले पछि पर्‍यो । यद्यपि, अन्तिम खेलपछि कर्णाली याक्सको नेट रन रेट पनि ऋणात्मक नै रहेको थियो । सोमबारको खेलपछि कर्णाली याक्सको नेट रन रेट –०.१८४ रहेको छ ।

470579221_901290975461748_1287670347027095546_n

चार अङ्कसहित छैटौँ भएको विराटनगर बोल्ट्स, चार अङ्कसहित सातौँ भएको पोखरा एभेन्जर्स र दुई अङ्कसहित आठौँ भएको लुम्बिनी लायन्स पनि उपाधि होडबाट बाहिरिए । विराटनगर किङ्सले दुई जित र पाँच हार, पोखरा एभेन्जर्सले दुई जित र पाँच हार तथा लुम्बिनी लायन्सले एक जित र ६ हारको नतिजा निकाले ।

प्रतियोगिताको पहिलो क्वालिफायर खेल बुधबार खेलिने छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । त्यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

बुधबार नै चितवन राइनोज र कर्णाली याक्सबिच इलिमिनेटर खेल पनि खेलिने छ । इलिमिनेटर खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । त्यो खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।

दोस्रो क्वालिफायर खेल बिहीबार खेलिने छ । दोस्रो क्वालिफायर खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । त्यो खेलमा विजयी हुने टोलीले भने पहिलो क्वालिफायर खेलमा विजयी हुने टोलीसँग फाइनलमा उपाधिका लागि भिडन्त गर्नेछ । फाइनल खेल आगामी शनिबार खेलिने छ । 

यस अर्थमा, अब जारी एनपीएलमा चार खेलमात्र खेलिन बाँकी छ । प्रतियोगिताको यो पहिलो संस्करण भएकाले हालसम्म खेलिएको २८ खेलमा भएका हरेक गतिविधि आफैमा एनपीएलको इतिहासमा लेखिएको कीर्तिमान पनि हो ।

त्यसैले जारी एनपीएलमा २८ खेल सकिँदासम्म सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने, सर्वाधिक बाउन्ड्री प्रहार गर्ने, सर्वाधिक क्याच लिने, सर्वाधिक शतक बनाउने लगायतका खेलाडीहरूको विषयमा यहाँ चर्चा गरिएको छ ।

  • टोली बाहिरिए पनि रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यान

जारी नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले एक खेलमात्र जित्न सक्यो । बाँकी ६ खेलमा लुम्बिनी लायन्स पराजित भयो । लुम्बिनी लायन्स जारी एनपीएलको उपाधि होडबाट बाहिरिने पहिलो टोली पनि बन्न पुग्यो ।

तर, टोलीका कप्तान रोहितकुमार पौडेल भने जारी एनपीएलमा हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा आसीन छन् । उनले सात खेल खेलेर कुल दुई सय ७९ रन बनाइसकेका छन् । जारी एनपीएलमा उनले बनाएको उच्च स्कोर भने ९५ रन हो । उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा उक्त रन बनाएका हुन् ।

470223684_901826112074901_890763597608894746_n

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चितवन राइनोजका रवि बोपारा दोस्रो स्थानमा आसीन छन् । बोपाराले सात पालीमा कुल दुई सय ३३ रन बनाएका छन् । एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने अविजित ५९ रन हो ।

यसैगरी, सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा आसीन छन् । उनले ६ खेलमा कुल दुई सय २४ रन बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित एक सय चार रन हो ।

यो सूचिमा चितवन राइनोजका कप्तान कुशल मल्ल चौथो स्थानमा छन् । उनले सात खेलमा कुल दुई सय दुई रन बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने ७२ रन हो । यो सूचिमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी पाँचौँ स्थानमा छन् । उनले सात खेलमा कुल एक सय ९८ रन बनाएका छन् । एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने अविजित ५७ रन हो ।

  • सर्वाधिक विकेट सुदूरपश्चिम रोयल्सका कुगेलियनको नाममा

नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक विकेट लिने बलरको सूचिमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियन पहिलो स्थानमा आसीन छन् । उनले सात खेलमा १५ विकेट लिइसकेका छन् । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन भने १८ रन खर्चिएर पाँच विकेट हो ।

सर्वाधिक विकेट लिने बलरको सूचिमा जनकपुर बोल्ट्सका ललित राजवंशी दोस्रो स्थानमा छन् । उनले सात खेलमा कुद १३ विकेट लिएका छन् । एउटै खेलमा उनले लिएको सर्वाधिक विकेट भने आठ रन खर्चिएर तीन विकेट हो ।

470241475_901826428741536_2004529433395837550_n

सर्वाधिक विकेट लिने बलरको सूचिमा चितवन राइनोजका रिजन ढकाल तेस्रो स्थानमा छन् । उनले सात खेलमा कुल १३ विकेट लिइसकेका छन् । उनको टोली प्ले अफ चरणमा पुगिसकेको छ । उनले एउटै खेलमा १० रन खर्चिएर तीन विकेट लिएका थिए ।

यो सूचिमा चितवन राइनोजकै सोहेल तनवीर चौथो स्थानमा छन् । उनले हालसम्म सात खेल खेल्दै कुल १२ विकेट लिइसकेका छन् । सोहेल तनवीरको एउटै खेलमा उत्कृष्ट प्रदर्शन भने २१ रन खर्चिएर पाँच विकेट हो ।

सर्वाधिक विकेट लिने बलरको सूचिमा पाँचौँ स्थानमा भने काठमाडौँ गुर्खाजका करण केसी रहेका छन् । उनले हालसम्म सात खेल खेल्दै कुल १२ विकेट लिइसकेका छन् । उनको टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन १६ रन खर्चिएर चार विकेट हो ।

  • जनकपुर बोल्ट्सका निसमको नाममा उत्कृष्ट स्ट्राइक रेट

नेपाल प्रिमियर लिगमा २८ खेल सकिँदासम्म उत्कृष्ट स्ट्राइक रेट जनकपुर बोल्ट्सका जेम्स निसमको नाममा रहेको छ । उनको हालको स्ट्राइक रेट एक सय ९३.६७ रहेको छ । उनले हालसम्म ६ खेलमात्र खेलेका छन् ।

470135857_564622619657265_5962692903681987134_n

उत्कृष्ट स्ट्राइक रेटको सूचिमा दोस्रो स्थानमा कर्णाली याक्सका कप्तान सोमपाल कामी रहेका छन् । उनको स्ट्राइक रेट एक सय ८८ रहेको छ । उनले हालसम्म सात खेलको चार पालीमा ब्याटिङ गरेका छन् । उनको टोली प्ले अफ चरणमा पनि पुगिसकेको छ ।

यो सूचिमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा आसीन छन् । उनको हालको स्ट्राइक रेट एक सय ६७.७९ रहेको छ । उनले हालसम्म सात खेल खेलेका छन् र उनको टोली पनि प्ले अफ चरणमा पुगिसकेको छ ।

यसैगरी, यो सूचिमा चौथो स्थानमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस छन् । उनको स्ट्राइक रेट एक सय ६४.७० रहेको छ । उनले हालसम्म ६ खेल खेलेका छन् । उनको टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

उत्कृष्ट स्ट्राइक रेटको सूचिमा पाँचौँ स्थानमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियन छन् । उनको हालसम्मको स्ट्राइक रेट एक सय ५१.४२ रहेको छ । उनले हालसम्म सात खेलको ६ पालीमा ब्याटिङ गरेका छन् । 

  • एकमात्र शतक बनाउने पोखरा एभेन्जर्सका आन्द्रेस गौस

जारी नेपाल प्रिमियर लिगमा हालसम्म एक ब्याट्सम्यानले मात्र शतक बनाउन सकेका छन् । शतक बनाउने खेलाडी पोखरा एभेन्जर्सका आन्द्रेस गौस हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा शतक बनाएका थिए ।

त्यो खेलमा आन्द्रेस गौसले अविजित एक सय चार रन बनाउँदै आफ्नो टोलीलाई रोमाञ्चक जित पनि दिलाएका थिए । त्यसअघि सोही खेलमा उनले केवल २० बलमा अर्धशतक पुरा गरेका थिए । यद्यपि, उनको टोली उपाधि होडबाट बाहिरिइसकेको छ ।

३१ वर्षीय अमेरिकी खेलाडी आन्द्रेस गौसले एक सय चार रन बनाउने क्रममा केवल ५५ बलको सामना गरी पाँच छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । त्यो खेलमा पोखरा एभेन्जर्स १० विकेटले विजयी भएको थियो ।

  • दोहोरो अर्धशतक बनाउने रोहित पौडेल र रवि बोपारा

नेपाल प्रिमियर लिगमा हालसम्म २२ वटा अर्धशतक बनेका छन् । विभिन्न टोलीका २० जना खेलाडीले २२ वटा अर्धशतक बनाएका हुन् । हालसम्म दुई ब्याट्सम्यानले मात्र दुईवटा अर्धशतक बनाउन सकेका छन् । दोहोरो अर्धशतक बनाउने खेलाडी चितवन राइनोजका रवि बोपारा र लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल हुन् ।

इङ्ल्यान्डका प्रभावशाली खेलाडी रवि बोपाराले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ३८ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले ५१ रन बनाएका थिए ।

३९ वर्षीय रवि बोपराले आफ्नो दोस्रो अर्धशतक भने कर्णाली याक्सविरुद्धको खेलमा बनाएका थिए । त्यो खेलमा उनले टोलीका लागि अविजित ५९ रनको योगदान गरेका थिए । यसक्रममा उनले ४० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।

यसैगरी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पहिलो अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले केवल ५९ बलको सामना गरी चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाएका थिए । उनी केवल पाँच रनका कारण शतक बनाउनबाट चुकेका थिए ।

२२ वर्षीय कप्तान रोहितले चितवन राइनोजविरुद्धको खेलमा दोस्रो अर्धशतक बनाएका थिए । त्यो खेलमा रोहितले ५७ बलको सामना गरी पाँच छक्का र ६ चौकाको मद्दतले ८० रन बनाएका थिए । त्यो खेलमा लुम्बिनी लायन्स ३३ रनले विजयी भएको थियो ।

यसका अतिरिक्त, अन्य २१ खेलाडीले पनि एक–एक अर्धशतक बनाएका छन् । अर्धशतक बनाउने अन्य खेलाडी कर्णाली याक्सका विलियम बोसिस्टो (६६ रन), कर्णाली याक्सका शिखर धवन (अविजित ७२ रन), लुम्बिनी लायन्सका विवेक यादव (अविजित ७७ रन), चितवन राइनोजका हसन ईशाखिल (६५ रन) र लुम्बिनी लायन्सका साद बिन जाफर (६३ रन) हुन् ।

यसैगरी, जनकपुर बोल्ट्सका जेम्स निसम (६५ रन), विराटनगर किङ्सका मार्टिन गप्टिल (५५ रन), सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी (अविजित ५७ रन), पोखरा एभेन्जर्सका दिनेश खरेल (अविजित ६१ रन), सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन (५३ रन) र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब (९० रन) रहेका छन् ।

यसैगरी, अर्धशतक बनाउने ब्याट्सम्यानको काठमाडौँ गुर्खाजका स्टिफन एस्किनाजी, कर्णाली याक्सका देव खनाल (५३ रन), चितवन राइनोजका कप्तान कुशल मल्ल ((७२ रन), विराटनगर किङ्सका बसिर अहमद (अविजित ६८ रन), विरानटनगर किङ्सका लोकेश बम (७१ रन), जनकपुर बोल्ट्सका लाहिरु मिलनथा (अविजित ७५ रन) र जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह (अविजित ६२ रन) छन् ।

जारी एनपीएलमा पहिलो अर्धशतक बनाउने खेलाडी भने विराटनगर किङ्सका मार्टिन गप्टिल हुन् । गप्टिलले प्रतियोगिताको उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका थिए । सोही खेलमा जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सका लागि लाहिरु मिलन्थाले पनि अर्धशतक बनाएका थिए ।

  • सर्वाधिक छक्का प्रहार गर्ने जनकपुरका जेम्स निसम

नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी जनकपुर बोल्ट्सका जेम्स निसम हुन् । उनले हालसम्म ६ खेल खेल्दै १५ वटा छक्का प्रहार गरिसकेका छन् । चितवन राइनोजका कप्तान कुशल मल्ल दोस्रो स्थानमा आसीन छन् । उनले हालसम्म सात खेल खेल्दै १४ वटा छक्का प्रहार गरिसकेका छन् ।

सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा आसीन छन् । उनले हालसम्म सात खेल खेल्दै कुल ११ वटा छक्का प्रहार गरेका छन् । लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल चौथो स्थानमा छन् । उनले सात खेल खेल्दै कुल ११ वटा छक्का हिर्काएका छन् ।

यसैगरी, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचिमा लुम्बिनी लायन्सका विवेक कुमार यादव पाँचौँ स्थानमा छन् । उनले ६ खेलको पाँच पालीमा १० वटा छक्का प्रहार गरेका छन् । विराटनगर किङ्सका लोकेश बमले पनि सात खेलमा १० वटा छक्का हिर्काएका छन् ।

  • ३० चौका प्रहार गर्ने आन्द्रेस गौस

जारी नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक चौका प्रहार गर्ने खेलाडी पोखरा एभेन्जर्सका आन्द्रेस गौस हुन् । उनले हालसम्म ३० वटा चौका प्रहार गरेका छन् । यद्यपि, उनको टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

यो सूचिमा दोस्रो स्थानमा रहेका लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले पनि २६ वटा चौका प्रहार गरेका छन् । उनको टोली पनि उपाधि होडबाट बाहिरिइसकेको छ । तेस्रो स्थानमा आसीन जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले २४ वटा चौका हिर्काएका छन् ।

यसैगरी, चितवन राइनोजका रवि बोपराले हालसम्म २१ वटा चौका प्रहार गरिसकेका छन् । उनको टोली प्रतियोगिताको प्ले अफ चरणमा पनि पुगिसकेको छ । काठमाडौँ गुर्खाजका स्टिफन एस्किनाजीले पनि १९ वटा चौका प्रहार गरेका छन् । उनको टोली उपाधि होडबाट बाहिरिइसकेको छ ।

  • सबैभन्दा बढी क्याच लिने जनकपुरका कप्तान अनिल साह

नेपाल प्रिमियर लिगमा हालसम्म सबैभन्दा बढी क्याच लिने खेलाडी जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साह हुन् । उनले हालसम्म सात खेल खेल्दै १२ वटा क्याच लिइसकेका छन् । उनले एउटै खेलमा पाँचवटा क्याच लिएका छन् ।

anil-shah

यो सूचिमा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका नरेश बुढा ऐर रहेका छन् । उनले हालसम्म सात खेल खेल्दै नौवटा क्याच लिएका छन् । उनले एउटै खेलमा तीनवटा क्याच लिएका थिए । सुदूरपश्चिम रोयल्सकै ब्रान्डन म्याकमलेन तेस्रो स्थानमा छन् । उनले सात खेलमा सातवटा क्याच लिएका छन् ।

यसैगरी, सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा सुदूरपश्चिम रोयल्सकै इशान पाण्डे चौथो स्थानमा आसीन छन् । उनले सात खेलमा ६ वटा क्याच लिएका छन् । लुम्बिनी लायन्सका साद बिन जाफरले पनि सात खेल खेल्दै ६ वटा क्याच लिएका छन् ।

  • आन्द्रेस गौस र दिनेश खरेलको सबैभन्दा ठुलो साझेदारी

जारी एनपीएलमा हालसम्म खेलिएको खेलमा कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठुलो साझेदारी अविजित एक सय ७६ रन हो । लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका लागि आन्द्रेस गौस र दिनेश खरेलले ओपनिङ विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

dinesh adhikari

यसैगरी, दोस्रो ठुलो साझेदारी जनकपुर बोल्ट्सका हर्ष थाकेर र लाहिरु मिलनथाको नाममा रहेको छ । उक्त जोडीले विराटनगर किङ्सविरुद्धको खेलमा तेस्रो विकेटका लागि अविजित एक सय १६ रनको साझेदारी गरेको थियो ।

तेस्रो ठुलो साझेदारी भने लुम्बिनी लायन्सका ब्याट्सम्यान साद बिन जाफर र कप्तान रोहितकुमार पौडेलको नाममा रहेको छ । उक्त जोडीले चितवन राइनोजविरुद्धको खेलमा पाँचौँ विकेटका लागि एक सय १४ रनको साझेदारी गरेको थियो ।

त्यस्तै, चौथो ठुलो साझेदारी चितवन राइनोजका ब्याट्सम्यान रवि बोपारा र कप्तान कुशल मल्लको नाममा रहेको छ । कुशल र बोपाराको जोडीले जनकपुर बोल्ट्सविरुद्धको खेलमा चौथो विकेटका लागि एक सय १३ रनको साझेदारी गरेको थियो ।

यसैगरी, पाँचौँ ठुलो साझेदारी लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेल र टम मुरेसको नाममा रहेको छ । रोहित र टम मुरेसको जोडीले पोखरा एभेन्जर्सविरुद्धको खेलमा चौथो विकेटका लागि एक सय १० रनको साझेदारी गरेको थियो ।

  • सबैभन्दा ठुलो स्कोर विराटनगर किङ्सको नाममा

नेपाल प्रिमियर लिगमा हालसम्म सबैभन्दा ठुलो स्कोर बनाउने टोली विराटनगर किङ्स हो । विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्धको खेलमा १९.५ ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

दोस्रो ठुलो स्कोर बनाउने टोली लुम्बिनी यालन्स हो । लुम्बिनी लायन्सले विराटनर किङ्सविरुद्धको सोही खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । त्यो खेलमा विराटनगर किङ्स दुई विकेटले विजयी भएको थियो ।

जारी एनपीएलको तेस्रो ठुलो स्कोर सुदूरपश्चिम रोयल्सको नाममा रहेको छ । सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्धको खेलमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । चौथो ठुलो स्कोर पनि सुदूरपश्चिम रोयल्सकै नाममा छ ।

सुदूरपश्चिम रोयल्सले विराटनर किङ्सविरुद्धको खेलमा सात विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । पाँचौँ ठुलो स्कोर विराटनगर किङ्सको नाममा छ । विराटनगर किङ्सले चितवन राइनोजविरुद्धको खेलमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

  • सुदूरपश्चिम र पोखराको सबैभन्दा ठुलो अन्तरको जित

नेपाल प्रिमियर लिगमा हालसम्म सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्ने टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स हुन् । सुदूरपश्चिम रोयल्सले रनका आधारमा र पोखरा एभेन्जर्सले विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित हात पारेका हुन् ।

सुदूरपश्चिम रोयल्सले विरानटर किङ्सविरुद्धको खेलमा ९० रनको जित हासिल गरेको थियो । जारी एनपीएलमा हालसम्म रनका आधारमा सबैभन्दा ठुलो अन्तरको जित यही हो । रनका आधारमा दोस्रो ठुलो अन्तरको जित चितवन राइनोजको नाममा छ ।

चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ८७ रनको जित हात पारेको थियो । रनका आधारमा यो दोस्रो ठुलो अन्तरको जित हो । विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित भने पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकालेको थियो ।

त्यो खेलमा पोखरा एभेन्जर्स १० विकेटको फराकिलो अन्तरले विजयी भएको थियो । विकेटका आधारमा दोस्रो र तेस्रो ठुलो अन्तरको जित भने जनकपुर बोल्ट्सका नाममा छ । जनकपुर बोल्ट्सले विराटनगर किङ्स र कर्णाली याक्सलाई आठ–आठ विकेटले हराएको थियो ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप