गत जनवरीमा अपर्झट कुनै कामको सिलसिलामा आफ्नो स्टोर रुम मिलाउँदै गर्दा जुत्ताको एउटा पुरानो बट्टा फेला पर्यो । बट्टा खोलेर हेर्दा मेरो बाल्यकालका केही डायरी देखा परे । यिनीहरूमध्ये सिसाकलमले ‘कविताको पुस्तक’ लेखिएको एउटा पर्चा भएको सानो सङ्ग्रह पनि थियो । यसभित्र पट्याएर खिल लगाइएका ५ वटा ‘ए–फोर’ साइजका पृष्ठ थिए । शीर्षकको मुनिबाट गुजुमुजु परेका २ वटा धर्सा तानिएका थिए । यो यत्तिकै कोरिएको थियो वा मुखपृष्ठ जनाउन खोजिएको थियो, म प्रस्ट छैन । यसको पछाडिपट्टी सन् १९७९ साल र मेरो नाम लेखिएको थियो । यसमा आठ वटा कविता सिसाकलमले सफा अक्षरमा लेखिएका रहेछन् । आठवटै कविताको पुछारमा कालक्रम मिलाएर सम्बन्धित कविता लेखिएका मिति पनि उल्लेख गरिएको थियो । मैले आठ वर्षको हुँदा लेखेका ती कविताका पंक्तिहरू निर्दोष र फूलबुट्टा नभरिएका सरल थिए । ती कवितामध्ये अप्रिलमा लेखिएको एउटा कविताले मेरो ध्यान तान्यो । यसको सुरुवात निम्न पंक्तिबाट गरिएको थियो ः
प्रेम कहाँ छ ?
जोडसँग धड्किरहेको मेरो छातीभित्र छ ।
प्रेम के हो ?
हाम्रा मुटुहरूलाई जोडिरहेको सुनौलो धागो हो ।
त्यो दिन मैले फेला पारेको पर्चाको सहारामा म सम्झनाको तरेली हुँदै ४० वर्ष पहिलेको समयमा पुगेँ । लेख्दालेख्दै छोटो भएको सिसाकलम, इरेजरको धुलो, मैले बुवाको कोठाबाट खुसुक्क निकालेको फलामे स्टापलर झल्झली मेरा अघिल्तिर आउन लागे । हामी हाम्रो गाउँबाट सिओल सर्ने थाहा पाएपछि मैले मेरा कविताहरू विभिन्न कागजका टुक्रा, नोटबुक र वर्कबुकका छेउछाउमा तथा जर्नलका बिचमा सार्न थालेको र यी सबैलाई यौटै सङ्ग्रहमा जम्मा गर्न थालेको सम्झन थालेँ । आफ्ना कविता लेखिसकेपछि ‘कविताको पुस्तक’ कसैलाई देखाउन नचाहेको भावना पनि सम्झिन पुगेँ ।
यी डायरी र किताबहरू यथास्थानमै थन्क्याउनु अघि मैले मेरो मोबाइलबाट त्यो कविताको तस्बिर लिएँ । आजका दिन म र ती कविता लेख्दाको समयबिच केही निरन्तरता पक्कै छ भन्ने ठानेर मैले यसो गरेकी थिएँ । मेरो छातीभित्र, मेरो धड्किरहेको मुटुमा तथा हाम्रा मुटुहरूलाई जोड्ने सुनौलो धागो छ । त्यसले उज्यालो दिइरहेको छ ।
त्यसको १४ वर्षपछि मेरो कविता प्रकाशित भयो । लगत्तै अर्को वर्ष मेरो पहिलो छोटो कथा पनि प्रकाशित भयो । म लेखक भएँ । त्यसको पाँच वर्षमा मैले तीन साल लगाएर लेखेको लामो आख्यान कृति प्रकाशित भयो । म कविता र छोटा कथा लेख्ने प्रक्रियाबारे त्योबेला उत्सुक थिएँ र आज पनि छु । तथापि मलाई उपन्यास लेखनले खास किसिमले तान्यो । मेरा किताबहरू लेख्न मैले एकदेखि सात वर्षसम्म लगाएको छु । त्यसक्रममा मेरो निजी जीवनको उल्लेख्य समय प्रयोग भएको छ । यसो गर्दा मलाई खास लागेका केही सन्दर्भमा छिर्ने र सोच्ने मौका प्राप्त हुन्छ । यसले मलाई लेखनमा तान्छ । यसैले मलाई आफ्नो खास समय लेखनमा लगाउन प्रेरित गर्छ ।
जब–जब म उपन्यास लेख्न बस्छु, मसँग प्रश्न हुन्छन् । म ती प्रश्नभित्र छिर्छु । जब म ती प्रश्नको अन्त्यमा पुग्छु, मैले उत्तर भेट्दा, प्रश्न सुरुको अवस्थामा रहँदैन । त्यसै क्षण मेरो लेखन सकिन्छ । त्यसपछि म सुरु गर्दा ताकाको मान्छे रहन्नँ । अर्कै मान्छे भइसकेको हुन्छु । त्यो अवस्थाबाट म फेरि सुरु गर्छु । साङ्लोको कडीजस्तै अर्को प्रश्नले पछ्याउन थाल्छ । प्रश्नहरू थुप्रिँदै, जोडिँदै र थपिँदै जान्छन् र फेरि म केही नयाँ लेख्ने ठाउँमा पुग्छु ।
द भेजिटेरियन आएको लगत्तै ‘इन्क एन्ड ब्लड’ उपन्यासले ती प्रश्नलाई निरन्तरता दिएको छ । हिंसाको अस्वीकृतिको नाममा जीवन र जगतको अस्वीकृति असम्भव छ ।
सन् २००३ देखि २००५ बिच मेरो तेस्रो उपन्यास ‘द भेजिटेरियन’ लेख्दै गर्दा मसँग केही पीडादायी प्रश्न थिए । के कुनै मान्छे सधैँ पूर्ण निर्दोष हुन सक्छ ? हामी कुन गहिराइसम्म हिंसालाई अस्वीकार गर्न सक्छौँ ? यदि कोही मान्छेले आफू मानव भनिने प्रजातिमै रहन्न भन्यो भने उसलाई के हुन्छ होला ?
द भेजिटेरियनकी मुख्य पात्र यीओङ–हाईले हिंसाको अस्वीकृति रोजेर मासु खान छोड्ने तथा अन्त्यसम्म पुग्दा आफूलाई रुख भएको विश्वासमा सबै खानेकुरा र पानी बाहेकका तरल पदार्थ ग्रहणसमेत त्याग गर्ने निर्णय गर्छिन् । यस्तो गर्दैगर्दा उनले आफूलाई जोगाउने नाममा मृत्युलाई झन नजिक ल्याउँदै गरेको विरोधाभाषमा उभिएको पाउँछिन् । यीओङ–हाई र उनकी बहिनी इन–हाई आफ्ना विनाशकारी दुःस्वप्न र यसको चोटमा मौनतामा चिच्याउँछन्, यिनीहरू अन्त्यमा सँगै हुन्छन् । यो कथामा यीओङ–हाई ज्युँदै रहुन् भन्ने कामना साथ मैले यो उपन्यासको अन्तिम दृश्य एउटा एम्बुलेन्समा बनाएकी छु । गाडी पहाडको ओरालो बाटोमा चम्किला हरिया पातहरू मुनिबाट बेगले हुइँकिरहेको हुन्छ । बहिनीचाहिँ यी हरिया पातहरूमा गहिरिएर हेरिरहेकी हुन्छिन् । सम्भवतः यो कुनै जवाफको पर्खाइमा हुनसक्छ वा विरोधमा पनि हुन सक्छ । यो सिङ्गै उपन्यास प्रश्नको वरिपरि घुमेको छ । कहिले तिनै प्रश्नलाई नियाल्दै र प्रश्नलाई कहिले खारेज गर्दै जवाफको प्रतीक्षामा निरन्तर लागिरहन्छ ।
द भेजिटेरियन आएको लगत्तै ‘इन्क एन्ड ब्लड’ उपन्यासले ती प्रश्नलाई निरन्तरता दिएको छ । हिंसाको अस्वीकृतिको नाममा जीवन र जगतको अस्वीकृति असम्भव छ । आखिरमा हामी बनस्पति बन्न सक्दैनौँ । त्यसो भए हामी फेरि कसरी अघि बढ्छौँ त ? यो कथाको मुख्य पात्र मृत्युको छायासँग जुधिरहेको हुन्छिन् । जब उनी आफ्नो साथीको अचानक भएको मृत्यु आत्महत्या होइन भन्ने साबित गर्न आफ्नो जीवननै दाउमा राख्छिन् । यो रहस्यमय उपन्यासमा रोमन र इटालिक शैलीमा लेखिएका वाक्यहरू एक अर्कामा जुध्छन् र टकराउँछन् । जब म अन्तिम दृश्य लेख्दै थिएँ र जतिबेला म उनलाई मृत्यु र विनाशबाट बाहिर निकाल्नका लागि भुइँमा घस्रिरहेको अवस्थाको वर्णन गर्दै थिएँ, म आफैँलाई यस्ता प्रश्न गरिरहेकी थिएँ । के हामीले अन्तिममा बाँच्नै हुँदैन त ? हाम्रो जीवनले सत्य के हो भन्ने थाहा पाउनु पर्दैन र ?
मेरो पाँचौँ उपन्यास ‘ग्रीक लेसन्स’ सम्म आइपुग्दा म अझै अगाडि बढेँ । यदि हामी यो जगतमा बाँच्नै पर्छ भने कुन क्षणले यो सम्भव तुल्याउँछ त ? आफ्नो आवाज गुमाएकी एउटी महिला र दृष्टि गुमाएको एउटा पुरुष आफ्नो एक्लो यात्रा पार गर्दैगर्दा मौनता र अन्धकारमा हिँडिरहेका छन् । यो कथाको स्पर्श गर्नै सकिने यस्तो पलमा सहभागी हुन चाहन्थेँ । उपन्यास मौनता र अन्धकार हुँदै ती महिलाको हातले त्यो पुरुषको हत्केला भेट्टाएर केही शब्द कोरेको घटनातिर धिमा गतिमा अघि बढ्छ । अनन्तसम्म विस्तार हुने त्यो चहकिलो क्षणमा ती दुई पात्रले आफ्नो कोमल पक्ष उजागर गर्छन् । मैले त्यो घडीमा सोध्न खोजेको प्रश्न थियो– के यी मानवताका सबैभन्दा कोमल पक्षहरू लिएर त्यहाँ भेटिने अकाट्य न्यानोपना सम्हाल्दै हामी यो क्षणभङ्कुर र हिंसात्मक संसारमा बाँच्न सक्छौँ त ?
यो प्रश्नको पुछारमा पुगेपछि मैले अर्को किताबाबारे सोच्न सुरु गरेँ । यो ग्रीक लेसन्स प्रकाशित भएको केही समयपछि सन् २०१२ को बसन्तको बेला थियो । मैले उज्यालो र न्यानोपनाबारे थप अघि बढ्दै अर्को उपन्यास लेख्नुपर्छ भन्ने ठानेँ । मैले सोचेँ– अब मैले जीवन र जगत अँगाल्ने कृतिलाई उज्यालो र पारदर्शी समवेदनाले पोत्नुपर्छ । तुरुन्तै मैले शीर्षक भेटिहालेँ । आफूलाई रोक्न बाध्य पार्ने बेलासम्म २२ पृष्ठको पहिलो पाण्डुलिपि पनि तयार भइसकेको थियो । एकाएक मलाई आफैँभित्रको केही कुराले यो उपन्यास लेख्नबाट रोकिरहेको अनुभूत भयो । त्यतिबेलासम्म मैले ग्वाङ्जुबारे लेख्ने सोचेको थिइनँ ।
मैले त्यसै वर्ष धेरैजसो समय सन् १९८० को ग्वाङ्जु घटना मेरो पुस्तकको एक पत्र हुने गरी उपन्यासको खाका कोर्नमा बिताएँ । डिसेम्बरमा मैले मङ्गवोलदोङका समाधिस्थलको भ्रमण गरेँ । दिन ढल्किदै थियो ।
ग्वाङ्जुमा आमहत्या सुरु हुनुभन्दा लगभग चार महिना अघि सन् १९८० को जनवरीमा हाम्रो परिवारले उक्त सहर छोडेको थियो । त्यो बेला म नौ वर्षकी थिएँ । केही वर्षपछि संयोगले एक दिन एउटा पुस्तक पसलमा एक्लै भएको मौका छोपेर ‘ग्वाङ्जु तस्बिर पुस्तक’ नामक कृति हेर्दा म १२ वर्षकी थिएँ । त्यो पुस्तकमा कोरियामा सैन्य ‘कु’ गर्ने क्रममा मुङ्ग्रो, बन्दुक र संगीनले मारिएका विद्यार्थीहरू र ग्वाङ्जुवासीहरूका तस्बिर थिए । यो पुस्तक उक्त हत्याकाण्डमा बाँच्न सफल मानिस तथा मृतकका परिवारले गोप्यतापूर्वक छपाएर वितरण गरेका थिए । त्यो पुस्तकले सञ्चार माध्यममा व्यापक कडाइ गर्दै सत्यको घाँटी निमोठिएको बेला सत्यको रक्षा गर्ने प्रयास गरेको थियो । एउटा बालकको रुपमा मैले ती तस्बिरहरूको राजनीतिक महत्त्व ठम्याउन सकिनँ । ती क्षतविक्षत अनुहारहरू मेरो मस्तिष्कमा मान्छेबारे आधरभूत प्रश्न बनेर अमिट रुपमा बसे । के एउटा मान्छेले अर्को मान्छेसँग गर्ने व्यवहार यस्तै हो ? त्यसपछि विश्वविद्यालय, अस्पतालको ढोकामा रक्तदानका लागि लामबद्ध मानिसको भिड देखेपछि फेरि उही प्रश्न मनमा खेल्न थाल्यो । के एउटा मान्छेले अर्को मान्छेसँग गर्ने व्यवहार यस्तै हो ? यी दुई प्रश्नहरू एक अर्कासँग केही गरी मिलेनन् । जुधिरहे । त्यसबखत यो बेमेलको गाँठो मैले मैले फुकाउन सक्दिनथेँ ।
त्यसैले जब सन् २०१२को वर्षाको कुनै दिन म जीवनको चमकधकबारे लेख्न बसेँ । जीवनको पक्षको उपन्यास लेख्न लागेँ । म फेरि त्यही समाधान हुन नसकेको समस्याको भूमरीमा पुगेँ । मैले धेरै अघि नै मानिसप्रतिको गहिरो विश्वास गुमाएकी थिएँ । त्यस परिस्थितिमा म यो संसारलाई कसरी स्वीकार्न सक्थेँ ? मैले महसुस गरेँ– मैले यसमा थप अघि बढ्न चाहने हो भने त्यो अपार समस्याको सामना गर्नै पर्छ । मेरा लागि यसलाई छिचोल्ने र पार गर्ने एउटैमात्र बाटो भनेको लेख्नु नै हो भन्ने मैले थाहा पाएँ ।
मैले त्यसै वर्ष धेरैजसो समय सन् १९८० को ग्वाङ्जु घटना मेरो पुस्तकको एक पत्र हुने गरी उपन्यासको खाका कोर्नमा बिताएँ । डिसेम्बरमा मैले मङ्गवोलदोङका समाधिस्थलको भ्रमण गरेँ । दिन ढल्किदै थियो । अघिल्लो दिन भारी हिमपात भएको थियो । बिस्तारै जब अँध्यारो हँुदै गयो म आफ्नो हात छातीमा, मेरो मुटुको छेउमा राखेर ठन्डीमा जमेका समाधिहरूबाट बाहिर निस्किएँ । मैले मनमनै सङ्कल्प गरेँ, अबको मेरो उपन्यास ग्वाङ्जु घटनालाई एक पात्रमात्रै बनाएर हैन, पुरापुर त्यही घटनामा केन्द्रित रहेर हुनेछ । मैले त्यो घटनासँग जोडिएका नौ सयभन्दा धेरै वर्णन भएको एउटा पुस्तक फेला पारेँ । महिनौँसम्म हरेक दिन ९ घण्टा लगाएर मैले त्यहाँका हरेक वर्णन पढेँ । त्यसपछि मैले ग्वाङ्जु घटनाका अलावा अरु पनि राज्य हिंसाबारेका कृतिहरू पढेँ । त्यसपछि समयको लामो कालखण्डमा संसारभर र इतिहासभरि मानिसले बारम्बार गरेको सामूहिक हत्याका बारे भेटेसम्म पढेँ ।
आफ्नो उपन्यासका लागि अनुसन्धान गरेको त्यो अवधिमा मेरो मथिङ्गलमा दुई प्रश्नले घचघच्याइरहे । मेरो २५ वर्ष हाराहारीको उमेरमा आफनो हरेक नयाँ डायरीको पहिलो पन्नामा मैले यी २ पंक्ति लेख्ने गरेकी थिएँ–
के वर्तमानले विगतलाई सघाउन सक्छ ?
के बाँचेकाहरूले मृतकलाई जोगाउन सक्छन् ?
जब म पढ्दै गएँ, यी प्रश्नहरू त असम्भव हुन भन्ने प्रस्ट हुन थाल्यो । मान्छेको कमजोर पक्षसँगको निरन्तरको पौठेजोरीसँगै मानवताबारे मभित्र रहेको टुटफुटेको आस्था पनि पूर्णरूपमा चकनाचुर हुन पुग्यो । मैले उपन्यास लगभग माया मारेँ । त्यसपछि म एक जना रात्रि–स्कुल पढाउने युवा शिक्षकको डायरी पढ्न थालेँ । लजालु स्वभावको थोरै बोल्ने त्यो युवकको नाम पार्क युङ–जुन थियो । ऊ स्वशासित नागरिकले मे १९८० को १० दिने आन्दोलनका क्रममा गठित ‘निरपेक्ष समाज’ मा सहभागी थियो । सैनिकहरू आउँछन् भन्ने थाहा हुँदाहुँदै ऊ प्रादेशिक प्रशासन मुख्यालयको छेउमा बसेको थियो । त्यसै बेला उसलाई सैनिकहरूले गोली ठोकेर मारिदिएका थिए । आफ्नो जीवनको अन्तिम रात उसले आफ्नो डायरीमा लेखेको थियो– ‘हे ईश्वर ! मेरो विवेकले किन मलाई यति धेरै पीडा दिन्छ ? म बाँच्न चाहन्छु ।’
यी हरफहरू पढ्नासाथ मलाई मेरो उपन्यास कता जानुपर्छ भन्ने कुराको बोध एक्कासी झल्याँस्स आयो । अब मैले मेरा ती दुई प्रश्नलाई उल्टाउनु पर्ने भयो ।
के विगतले वर्तमानलाई सघाउन सक्छ ?
के मृत मानिसले जीवितलाई जोगाउन सक्छन् ?
पछि जब म लेख्दै गएँ, त्यो मेरो ‘ह्युमन एक्ट्स’ नामको कृति हुनेवाला थियो । लेख्दै गर्दाको कुनै पल मैले अनुभूति गरेँ, विगतले साँच्चै वर्तमानलाई सघाइरहेको थियो । साथै मरेकाले बाँचेकालाई जोगाइरहेका थिए । म ती समाधिहरूमा पटक–पटक घुम्न जान्थेँ तथा मौसम पनि त्यो बेला करिब–करिब सफा नै हुन्थ्यो । म मेरा आँखा बन्द गर्थें, सूर्यको पहेलो प्रकाशले आँखाको ढक्कन भर्थे । यसलाई मैले जीवनको आफ्नै प्रकाशको रूपमा महसुस गरेँ । झलमल्ल उज्यालो र सिरसिरे हावाले वर्णन नै गर्न नसकिने स्तरको न्यानोपनले बेरेको महसुस गरेँ ।
तस्बिरहरूको पुस्तक हेरेपछि मभित्र लामो समय रहेका प्रश्न यस्ता थिए– मान्छे कसरी यस्तो हिंस्रक हुन सक्छ ? र यससँगै कसरी उही समय मान्छे यस्तो हिंसाको विरुद्ध उभिन सक्छ ? हामी मानव जाती हुनुको अर्थ के हो ? जसरी ह्युमन एक्टस उपन्यासमा सानो बच्चा दोङ–होले सुर्यतिर लम्किन आफ्नी आमाको हात तान्ने गर्छ । ठिक त्यसै गरी मानव त्रासदी र मानव गरिमाबिचको रित्तो ठाउँमा यौटा असम्भव मिलन खोज्न मैले मृत मानिसको सहारा लिनुपर्ने भयो ।
मलाई राम्रोसँग थाहा थियो, मारिएकाहरू, मारिएका मानिसको शोकमा रहेका मानिस वा त्यो त्रासदीबाट बाँच्न सफल मानिसमाथि जस्तो ज्यादती भयो त्यसलाई हटाउन त पक्कै सक्दिनथेँ । तथापि मैले उनीहरूमा समवेदना, भावना भर्न वा आफ्नै शरीरमार्फत जीवन्तता प्रदान गर्न त पक्कै सक्ने थिएँ । उपन्यासको थालनी र बिट मार्ने दुवै दृश्यमा मैनबत्ती बालेको देखाउनका लागि मैले उपन्यासको थालनी मृत शरीरहरूलाई भेला गरेर अन्तिम संस्कार गर्न नगरपालिकाको जिम्नेसियममा ल्याइएको दृश्य राखेको थिएँ । त्यहाँ हामी १५ वर्षको दोङ–होको शरीर सेतो कपडा ओढाइएको तथा मैनबत्ती बालिएको अवस्थामा लमतन्न परेर ढलेको देख्न सक्छौँ । उसका आँखा एकटकले मैनबत्तीको ज्वालाको बिचमा रहेको निलो लप्कामा हेरिरहेको देख्न सक्छौँ ।
कोरियाली भाषामा यो उपन्यासको शीर्षक ‘सोनियोन–इ ओन्दा’ हो । अन्तिम शब्द ‘ओन्दा’ चाहिँ ‘आउनु वा आगमन’ को वर्तमान काल जनाउने शब्द हो । जब सोनियोन नामकको किशोरलाई उपन्यासमा द्वितीय पुरुषको रुपमा तिमी भनेर सम्बोधन गरिन्छ । त्यो तिमी सम्बोधन आत्मीय भए पनि वा नभए पनि ऊ मधुरो प्रकाशमा ब्युँझिन्छ र वर्तमानतर्फ हिँड्न थाल्छ । उसका पाइलाहरू आत्माका पाइला हुन् । ऊ अझै नजिक आउँछ र वर्तमान बन्न पुग्छ । यो उपन्यास लेख्दै गर्दा मैले सिकेको कुरा जब मानव क्रुरता र गरिमा चरम समानान्तरको रूपमा अस्तित्ववान भएको दिक र काललाई ग्वाङ्जुको रूपमा देखाइएको छ । तब त्यो नाम कुनै खास एक सहरको व्यक्तिवाचक नाम (प्रोपर नाउन) मात्रै रहँदैन । बरु यो त एक प्रकारको जातीवाचक नाम बन्न पुग्छ । यो पटक–पटक विभिन्न कालमा हामीमाझ आइरहन्छ । यो सधैँ वर्तमान कालमा हुन्छ । यो आजै पनि हुन्छ ।
सन् २०१४को वसन्तमा जब त्यो पुस्तक लेखिसकेपछि प्रकाशित भएर आयो, यसलाई पढ्दा पाठकहरूले महसुस गरेको पीडा देखेर म छक्क परेँ । उपन्यास लेख्ने क्रममा मैले महसुस गरेको पीडा र मेरा पाठकहरूले मसँग व्यक्त गरेको पीडा कसरी एक–अर्कामा जोडिएका छन् भनेर सोच्न मलाई केही समय लाग्यो । त्यो पीडा पछाडि के हुन सक्छ ? यसको अर्थ के हामी मानवतामा हाम्रो विश्वास राख्न चाहन्छौँ तथा जब–जब हाम्रो त्यो विश्वास डगमगाउँछ, हामी आफ्नै विनाश भएको महसुस गर्छौं ? के हामी मानवतालाई प्रेम गर्न चाहन्छौँ तथा त्यो प्रेम चकनाचुर पारिँदा हामीले यो पीडा महसुस गरेको हो ? के प्रेमले पीडा दिन्छ ? र, के केही यस्ता पीडाहरू प्रेमका प्रमाण हुन ?
तुफान र समुद्रको छाल । सिङ्गै धर्तीलाई जोड्ने पानी र हावाको चक्रीय प्रवाह । हामी जोडिएका छौँ । म प्रार्थना गर्छु, हामी जोडिएका छौँ ।
त्यसै वर्षको जुन महिनाको एक रात मैले एउटा सपना देखेँ । सपनामा म थोरै–थोरै हिउँ झरिरहेको बखत एक समथर मैदानमा हिँडिरहेको थिएँ । हिउँले सेताम्य समथर जमिनमा हजारौँ काला रुखका धब्बाहरू देखिन्थे । यी रुखका पछाडि चिहानहरू देखिन्थे । हिँड्दा हिँड्दै कुनै विन्दुमा पुगेपछि मेरा पाइला पानीमा पुगे । पछाडि फर्केर हेर्दा जमिनको अर्को छेउबाट ठुलो समुद्र छचल्किरहेको थियो । म त्यसलाई क्षितिज जस्तै ठानिरहेकी थिएँ । म छक्क परेँ, यस्तो ठाउँमा चिहान कसरी आयो होला ? समुद्रको किनार छेउका चिहानका पिँधका हड्डीहरू बगाएको छैन होला त ? सबै हड्डी बगाउनु अघि नै मैले माथि–माथि रहेका जति हड्डीहरूलाई अन्यत्रै पो सार्नुपर्ने थियो कि ? तर मसँग कोदाली वा सावेल पनि त थिएन । पानी मेरो गोलीगाँठासम्म आइसकेको थियो । यत्तिकैमा म झल्याँस्स ब्युझिएँ । मैले हत्तपत्त झ्याल बाहिरको निस्पट्ट अँध्यारोतिर हेरेँ । त्यो बेला मलाई लाग्यो यो सपनाले मलाई केही भनिरहेको छ । मैले त्यो सपनालाई लेखेँ । साथै यसैलाई मेरो अर्को उपन्यासको थालनीबारे सोच्न थालेँ ।
अब यो के कस्तो हुँदै जाने हो भन्ने बारे मेरो दिमागमा केही प्रस्ट थिएन । तथापि मैले त्यो मेरो सपनापछि जोडिन सक्ने सम्भावित कथाबारे सोच्न, लेख्न र बेला–बेला केरेमेट गर्न थालेँ । अन्ततः २०१७ को डिसेम्बरसम्म आइपुग्दा म जेजु टापुमा कोठा नै लिएर बस्न थालेँ । त्यसपछिका २ वर्ष कहिले सियोल त कहिले जेजु गर्दै बिताएँ । कहिले जङ्गलमा हिँड्दै, समुद्रमा जाँदै, गाउँका सडकमा टहलिँदै, जेजुको मौसमलाई पल पलमा मसिनो गरी अनुभूत गर्ने गर्थें । यहाँको उज्यालो, हिउँ र बर्खा सबैमा मैले आफूलाई उपन्यासको रुपरेखामा डुब्दै गरेको पाएँ । ह्युमन एक्टसमा जस्तै मैले यसका लागि पनि मैले नरसंहारमा बाँचेकाको बयान पढेँ । ती सङ्कलित सामग्रीहरूमा घोत्लिएँ । त्यसपछि शब्दहरूमा व्यक्त गर्न झन्डै झन्डै असम्भवजस्तै लाग्ने क्रूर विवरणहरूबाट नअलमलिइकन मैले सकेसम्म संयमित तरिकाले ती भावलाई लेख्ने प्रयास गरेँ । मैले ती कालो रूखका धब्बाहरू र त्यो उछाल लगाइरहेको समुद्रको सपना देखेको झन्डै सात वर्षपछि मेरो पुस्तक ‘वि डु नट पार्ट’ शीर्षकमा प्रकाशित भयो ।
मैले त्यो उपन्यास लेख्ने क्रममा साथैमा राखेको डायरीमा यस्तो लेखेको रहेछु–
जीवन बाँच्न चाहन्छ । जीवन न्यानो छ ।
मर्नु भनेको चिसो हुनु हो । अनुहारमा रहेको हिउँ पग्लिनुको साटो जम्दै जानु जस्तो हो ।
कसैलाई मार्नु भनेको चिसो बनाउनु हो ।
इतिहासमा मान्छे र ब्रम्हाण्डमा मान्छे ।
तुफान र समुद्रको छाल । सिङ्गै धर्तीलाई जोड्ने पानी र हावाको चक्रीय प्रवाह । हामी जोडिएका छौँ । म प्रार्थना गर्छु, हामी जोडिएका छौँ ।
यो उपन्यास तीन खन्डमा विभक्त छ । पहिलो खन्ड तेर्सो बाटोमा लागेको छ । यसमा कथावाचक क्युङ्घाले आफ्नो प्यारो चराको उद्धार गर्न हिउँले भरिएको बाटो हुँदै सियोलबाट उसको साथी इन्सेयोनको घर जेजु टापु जाँदाको वर्णन छ । दोस्रो खण्डचाहिँ उकालो बाटो लाग्छ अर्थात् यसले क्युङ्घा र इन्सेयोनलाई मानवताको कालरात्रितर्फ लैजान्छ । उनीहरूलाई सन् १९४८ को जाडो याममा पुर्याउँछ, जुन बेला जेजुमा आममानिसको कत्लेआम गरिएको थियो । साथै उनीहरूलाई समुद्रको गहिराइमा पनि लैजान्छ । तेस्रो र अन्तिम खन्डमा चाहिँ यी दुई जनाले समुद्रको गहिराइमा मैनबत्ती बाल्छन् ।
यो उपन्यासको कथालाई यिनै दुई मित्रले तानेर अघि लैजान्छन् तर पनि जब उनीहरू मैनबत्ती बोकेर मोडिन थाल्छन् । यस कथाको खास नायक तथा यी दुवै जनासँग जोडिएकी उनीहरूकी आमा हुन्छिन् । उनी जेओङ्सिम हुन् । उनी जेजुको नरसंहारमा बाँच्न सफल मान्छे हुन् । उनले त्यो घटनामा मारिएको आफ्नो प्रिय मान्छेको अन्तिम संस्कार राम्रोसँग होस भनेर उसको हाडको टुक्रा भए पनि भेटियोस् भनेर धेरै खोजी गरेकी थिइन् । उनी शोक मनाउँदिनन् । बरु दुःख झेल्न तयार हुन्छिन् तर यी क्रुर घटनाहरू बिर्सन चाहन्नन् । जो शोक रोक्न इन्कार गर्छिन्, पीडा सहन्छिन् तर त्यसलाई बिर्सने कुरालाई इन्कार गर्छिन् । कहिल्यै अन्तिम बिदाइ गर्दिनन् । सघन पीडा र प्रेमले भरिएको उनको जीवनलाई चित्रण गर्ने क्रममा मैले आफैँलाई सोधेकी थिएँ– हामी कतिसम्म गहिरो प्रेम गर्न सक्छौँ ? हाम्रो सीमा कहाँ छ होला ? हामीले अन्त्यसम्म साँच्चै मान्छे भएरै रहन कति माया गर्नुपर्छ होला ?
सानो बच्चाका रूपमा सन् १९७९ को अप्रिलमा लेखे अनुसार प्रेम ‘मेरो मुटु’ नामको नितान्त निजी स्थानमा रहेको हुन्छ । साथै प्रेम के हो भन्नेमा जवाफचाहिँ ‘हाम्रा मुटुलाई जोडिरहेको सुनौलो धागो हो’ भन्ने थियो ।
‘वि डु नट पार्ट’ को कोरियन संस्करण प्रकाशित भएको तीन वर्ष बितिसक्दा पनि मैले मेरो अर्को उपन्यास पूरा गर्न सकेको छैन । त्यसपछि लेखौँला भनेर सोचेको अर्को पुस्तक पनि मलाई लामो समयदेखि पर्खिरहेकै छ । यो ‘द ह्वाइट बुक’ सँग जोडिएको उपन्यास हो, जुन मैले मेरो जेठी बहिनीलाई आफ्नो जीवनको समर्पण गर्नका लागि लेखेकी थिएँ । ऊ जन्म भएको दुई घण्टापछि मात्रै यस संसारबाट बिदा भएको थिइ । लेखेर कहिले सकिन्छ भनेर म भविष्यवाणी गर्न सक्दिनँ । तर, बिस्तारै भए पनि लेखिरहन्छु । म पहिले नै लेखिसकेको पुस्तकहरू भन्दा पहिलेको पलमा फर्किन्छु र तिनीहरू हेर्दा अमिल्दो लाग्दासम्म अघि बढिरहन्छु । सकेसम्म म लेखिरहन्छु ।
जब म यी पुस्तकहरू छोडेर जान्छु, त्यस बखत पनि मेरा पुस्तकहरू बाँच्नेछन् । मबाट छुट्टै भएर आफ्नै नियतिको यात्रा गर्नेछन् । जसरी मेरो उपन्यासमा ती महिलाले छिटै आफ्नो आवाज फेला पार्नलाई अन्धकार र मौनतामा मानिसको हत्केलामा शब्दहरू खोज्दै हिँड्छिन् । जसरी मेरो बहिनी जो केवल दुई घण्टा बाँचेकी छिन् र मेरी जवान आमाले हृदयको गहिराइबाट ‘नमरिदेऊ न !’ भनेर बिन्ती गरेकी थिइन् । हो यस्तै–यस्तै गरी मेरा कृति आफ्नै लयमा बाँच्नेछन् ।
मैले आँखा चिम्लिँदा सुन्तला रङको चम्किलो देखिने तथा मलाई न्यानोपनले भर्ने यी आत्माहरू कति टाढासम्म पुग्दा हुन् ? दुःखद् घटना घटाइएका ठाउँहरूमा बालिएका तथा अलबिदा भन्न अस्वीकार गर्नेहरूले समातेका यी मैनबत्तीहरू कति टाढासम्म बल्दै जाँदा हुन् ? के यी बत्ती सुनौलो धागोमा जोडिएर हृदयदेखि हृदयसम्म र एउटा बत्तीबाट अर्कोमा जान्छन् कि जाँदैनन् होला ?
मैले पुरानो बाकसमा भेटेको पर्चामा सन् १९७९को अप्रिलमा त्यतिखेरको मैले आफैँलाई सोधेकी थिएँ–
प्रेम कहाँ छ ?
प्रेम के हो ?
जबकि ‘वि डु नट पार्ट’ प्रकाशन भएको बेला २०२१ को हिउँदसम्म मलाई ती दुवै प्रश्न सारमा एउटै हुन् जस्तो लाग्थ्यो–
संसार किन यति साह्रो हिंस्रक र पीडादायी छ ?
र अझै पनि संसार कसरी सुन्दर हुन सक्छ ?
लामो समयदेखि मैले यिनै दुई वाक्यबिच मभित्र चलेका संघर्ष र टकरावले मलाई लेख्न उद्वेलित गरिरहेका छन् भन्ने ठानेँ । मेरो पहिलोदेखि पछिल्लो उपन्याससम्म मेरो दिमागमा रहेका यी प्रश्न निरन्तर खुल्दै र सर्दै गए । यी २ वटा भने सधैँ उस्तै रहिरहे । २–३ वर्ष अघिबाट मैले अलिअलि सन्देह गर्न थालेँ । के साँच्चै मैले प्रेमबारे आफैँलाई सोध्न थालेकी थिए ? सन् २०१४ को वसन्तमा ‘ह्युमन एक्ट्स’ को कोरियाली संस्करण निस्केसँगै मैले दुःखलाई जोड्ने तन्तुबारे सोध्न थालेकी पो हो कि ? मेरो सुरुवाती उपन्यासदेखि पछिल्लोसम्म मेरो खोजीको गहिराइ प्रेमतर्फ सोझिएको थिएन र ? यसरी हेर्दा प्रेम नै मेरो सुरुदेखिकै खोजीको मुख्य लक्ष्य हुन सक्दैन र ?
सानो बच्चाका रूपमा सन् १९७९ को अप्रिलमा लेखे अनुसार प्रेम ‘मेरो मुटु’ नामको नितान्त निजी स्थानमा रहेको हुन्छ । साथै प्रेम के हो भन्नेमा जवाफचाहिँ ‘हाम्रा मुटुलाई जोडिरहेको सुनौलो धागो हो’ भन्ने थियो ।
जब म लेख्छु म मेरो सारा शरीरको प्रयोग गर्ने गर्छु । म मेरो हेर्ने, सुन्ने, बासना लिने, स्वाद लिने, कोमलता तथा ठन्डा र न्यानो अनि पीडाको अनुभव लिने इन्द्रियको अनुभूति प्रयोग गर्छु । मेरो धड्किरहेको मुटुलाई नियाल्दै, शरीरले खाना र पानी खोजेको ख्याल गर्दै, हिँड्दा तथा दौडिँदा, बतास र वर्षाको अनुभव गर्दा, हिउँलाई स्पर्श गर्दा वा कसैको हात समाउँदा पाइने जीवन्त अनुभूतिलाई म मेरो लेखनमा मिसाउने प्रयास गर्छु । म एक मरणशील मान्छेको रूपमा आफ्नो शरीरमा दौडिरहेको रगतलाई मेरा वाक्यहरूमा विद्युतको करेन्टजस्तै प्रवाह गराउन खोज्छु ।
जब म यो विद्युतको करेन्ट पाठकमा पनि प्रवाहित भएको पाउँछु, म साँच्चै चकित र हर्षविभोर हुन्छु । यस्ता पलहरूमा म भाषाको धागोले हामीलाई जोडिरहेको, मेरा प्रश्नहरू पाठकका विचारसँग त्यही जीवन्त प्रवाहमार्फत जोडिरहेको अनुभूति गर्छु । यस्तै धागोले मसँग जोडिनु हुने साथै आगामी दिनमा जोडिनु हुने सबै–सबैमा म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
(सन् २०२४ को साहित्यमा नोबेल पुरस्कार विजेता साउथ कोरियाकी लेखिका हान काङले ७ डिसेम्बरमा स्कटहोममा दिएको मन्तव्य ।)
प्रतिक्रिया