बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले

मङ्गलबार, ०२ पुस २०८१, १४ : १८
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमालेले माघदेखि चैतसम्म तीन महिने ‘वडा केन्द्रित अभियान’ अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि पार्टी केन्द्रीय सचिवालयसँग छलफल गरेर मोडालिटी बनाउने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

‘वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरिसकेको छ । अब पार्टी सचिवालयसँगको छलफलमा कार्यक्रमको मोडालिटी तय हुन्छ’, ढुंगेलले रातोपाटीसँग भने, ‘कार्यक्रमको मोडालिटी कस्तो हुन्छ ? कुन कुन तहका नेताहरू सहभागी हुनेजस्ता विषय छलफलकै क्रममा छन् ।’

केन्द्रीय संगठन विभागको आयोजनामा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालाले तीन महिने वडाकेन्द्रीत अभियानसहित ६ बुँदे सङ्कल्प गरेको हो ।

मङ्सिर २९ र ३० गते सम्पन्न कार्यशालामा देशभर पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका, प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरू सहित ३०० जना सहभागी थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेको उक्त कार्यशालामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले समेत धारणा राखेका थिए ।

कार्यशालाको पहिलो दिन पार्टी महासचिव शंकर पोखरेलले पार्टी केन्द्रले बनाएको वार्षिक कार्ययोजनाको अभिमुखीकरण गरेका थिए भने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालामा सहभागीहरूलाई १० वटा समूहमा विभाजन गरि छलफल गराएर ६ बुँदे सङ्कल्प गरेको हो । जसमा आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन’ अभियान सञ्चालन गर्ने उल्लेख छ ।

साथै २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन चैत्र महिना भित्रै विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने २०८१ सालभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने भएको छ । २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गरेको कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबिच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठन टोलसम्मै परिचालन गरिने र संगठन र कमिटीहरू निर्माण गरिने बताए ।

‘जनताका समस्या समेत पहिचान गरेर उनीहरूलाई समेत साथै लिएर पार्टी कमिटी र जनसंगठनहरु वडा तहमा पुर्‍याउने हो’, अधिकारीले भने, ‘कार्यक्रमको विस्तृत योजना बन्दैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप