बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

उमागौरी कृषि सहकारी ठगी प्रकरण : पीडित थुनामा, कसुरदार फरार

लेखासमिति सभापति पोखरेलकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी
मङ्गलबार, ०२ पुस २०८१, १६ : ००
मङ्गलबार, ०२ पुस २०८१

विराटनगर । धनपालथान गाउँपालिका–४ का पूर्ववडा अध्यक्ष रोशन राजवंशी उमागौरी कृषि सहकारीका पीडित हुन् । उक्त सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले रोशनकी आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेका थिए । त्यसमध्ये ३० लाखमात्रै आफूले पाएको रोशनको भनाइ छ ।

आफू ठगिएको थाहा पाएपछि रोशन इलाका प्रहरी कार्यालय रंगेलीमा निवेदन लिएर पुगेका थिए । तर, उनलाई नै पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ ।

सहकारीका अध्यक्ष शम्भु रौनियारको फट्याइँ देखिएको भन्दै रोशनलाई इलाका प्रहरी कार्यालय रंगेलीले ‘तपाईंले प्रतिवेदन हेरेर सहयोग गरिदिनु प¥यो’ भनेको थियो । तर, इलाका प्रहरी कार्यालय पुग्नासाथ रोशनलाई प्रहरीले नियन्त्रणमा लियो ।

उनलाई २५ दिनसम्म इलाका प्रहरी कार्यालय रंगेलीमै राखियो । गत शुक्रबार मोरङ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

प्रहरीले तयार पारेको प्रतिवेदनमाथि रोशनले अदालतमा भने इन्कारी बयान दिएका छन् । प्रहरीले सबै दोषी भएको भनेर प्रतिवेदन तयार पारेको छ । उनी स्थापनाकालदेखि नै उक्त सहकारीका बचतकर्ता पनि हुन् । हाल उनी सञ्चालक समिति सदस्य पनि थिए ।

रोशनले अध्यक्ष रौनियार समक्ष व्यापार गर्न ऋण लिने प्रस्ताव राखेका थिए । धनपालथान–४ को कर्सियामा रहेको दुई कित्ताको जम्मा १ कट्ठा १६ धुर जग्गा सिभिल बैंक विराटनगर शाखामा धितो राखी उमागौरी कृषि सहकारी संस्थाको नाममा ८० लाख स्वीकृत गराइ ३० लाखमात्रै दिएको अभियोगपत्रमा उल्लेख छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष पनि हुन् ।

बचतकर्ता राजवंशीलाई पक्राउ गरेर थुनामा पठाइसक्दा पनि सहकारीको ठगीमा मुछिएका र मुख्य योजनाकर्तालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । पीडितहरूले दिएको उजुरीलाई सुरुमा वास्ता नगरेको प्रहरीले सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनपछि अनुसन्धान थालेको थियो । त्यसक्रममा केही सञ्चालकविरुद्ध प्रहरीले अदालतमार्फत पक्राउ पुर्जी जारी गरे पनि एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमतीविरुद्ध भने न अनुसन्धान ग¥यो, न पक्राउ पुर्जी नै जारी भयो ।

संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलकै योजनामा उनकी श्रीमती अञ्जला सञ्चालक रहेको सहकारीमा करोडौँ रकम ठगी भएको सार्वजनिक भइसकेको छ । सो प्रकरणमा अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडीसी लघुवित्तले कालोसूचीमा राखेको छ । तर, प्रहरीले सो सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयमार्फत मोरङमा बिहीबार मुद्दा दर्ता गर्दा भने अञ्जलालाई पक्राउ त के, सोधपुछसमेत गरेन ।

उमागौरी कृषि सहकारीको रकम हिनामिना भएको समयमा अञ्जला सहकारीकै सञ्चालक थिइन् । सो सहकारीको अनुसन्धान गरेको प्रहरीले विराटनगस्थित महेन्द्र रात्रि विद्यालयकी शिक्षिका उनलाई ‘फरार सूचीमा राखेर’ मुद्दा दर्ता गरिएको छ । जबकि अञ्जलाले शुक्रबार पनि विद्यालयमा हाजिर रहेको महेन्द्र रात्रि माविले जनाएको छ ।

शुक्रबार सहिद रंगशालामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उनी उपस्थित थिइन् । आइतबार भने उनले बिरामी भएको भन्दै ५ दिनको बिदा लेखेको विद्यालयका प्रधानाध्यापक झङ्कप्रसाद पराजुलीले जानकारी दिए ।

सांसद पोखरेलको अगुवाइमा खोलिएको सो सहकारीमा अञ्जलालाई जोगाउन कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उनको नाम हटाएर अनुसन्धानका लागि प्रहरीमा पत्र पठाएको थियो । तर, प्राप्त कागजात तथा पीडितहरूले दिएको उजुरीमा उनको संलग्नता स्पष्ट देखिएकाले मुद्दा भने दर्ता गरिएको छ । अभियोगपत्रमा सहकारी ठगीमा अञ्जलाको पनि संलग्नता रहेको स्पष्ट उल्लेख छ ।

अञ्जलालाई ‘फरार अभियुक्त’ बनाउनुको उद्देश्यको पछाडि ठुलो चलखेल रहेको स्पष्ट देखिन्छ । मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जी जारी हुने भए पनि उनलाई पक्राउ नगरिने प्रहरी स्रोतले जनाएको छ । ‘३५ दिनको म्याद कटेपछि अदालतमा सोझै हाजिर गराउने योजना अनुसार उनलाई मुद्दा चलाउनु अगाडि पक्राउ नगरिएको हो र सोधपुछ पनि नभएको हो,’ एक प्रहरी अधिकृतले भने, ‘सरकारको नेतृत्व गरेको दलकै सांसदकी पत्नी भएपछि त्यति सुविधा त पाइहाल्छिन् नि !’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी बेदप्रसाद जोशीले प्रदेश रजिष्ट्रार कार्यालयको परिपत्रका आधारमा वर्तमान सञ्चालक समिति र लेखा समितिका १० जनाविरुद्ध यसअघि अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा अनुसन्धानबाट अन्यको पनि संलग्नता देखिएकाले थप १६ जनालाई प्रतिवादी बनाएको बताए । फरार २५ जना प्रतिवादीलाई अदालतको अनुमतिमा पक्राउ गरिने उनको दाबी छ ।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सहकारीका अध्यक्ष, सचिव र कोषाध्यक्ष यो प्रकरणमा मुख्य अभियुक्त देखिएको भन्दै उनीहरू पक्राउ नपरेसम्म सहकारी ठगीको तथ्य नखुल्ने बताए । उनीहरू पक्राउ नपरेसम्म अन्यलाई पक्राउ गर्नुको अर्थ नहुने उनको भनाइ छ ।

अनुसन्धानको प्रक्रियामा प्राप्त कागजातको आधारमा प्रतिवादी कायम गरेको एसपी चिमरिया बताउँछन् । उनले ३ जना मुख्य अभियुक्त रहेको दाबी गरे पनि अदालतमा दायर भएको अभियोगपत्रमा २६ जनालाई समान अभियोग लगाइएको छ । सहकारीको सञ्चालक समिति तथा ऋण समितिमा रहेका पदाधिकारी तथा सदस्यहरूले संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाको बैठकमा सबै उपस्थित भएर निर्णय गर्ने गरेकाले सहकारी ठगीमा सबैको संलग्नता देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै महिला उद्यमशीलता कर्जाको रकम पीडितको जग्गा धितोमा राखेर बैंकबाट ऋण प्रवाह गराई केही हिस्सा पीडितलाई दिएर अन्य रकम अञ्जलासहितका अभियुक्तहरूले खाएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ) (ज), (ञ) र (त) बमोजिमको कार्य कसुर गरेको स–प्रमाण पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । अभियुक्तहरूलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोगपत्रमा छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको छ ।  संस्थाको २२ करोड ४८ लाख २७ हजार ७२० रुपैयाँ हिनामिना गरी सहकारी ऐनको निषेधित कार्य कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।

सो प्रकरणमा सहकारीका वर्तमान कार्यसमिति सदस्य धनपालथान गाउँपालिका– ४ का ३७ वर्षीय रोशन राजवंशी मात्र पक्राउ परेका छन् । उनलाई मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्यक्ष रौनियार तथा सञ्चालक अञ्जलासहित सहकारीका उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरू आमोदकुमार मण्डल, जितमान ठाकुर र रोशन राजवंशीविरुद्ध मुद्दा चलाएको छ । त्यस्तै, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यस्तै, पूर्वउपाध्यक्षहरू दिलमाया राई, उपासी राजवंशी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्वसहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्वसदस्यहरू ज्योति बाँस्कोटा, मित्रप्रसाद शिवाकोटी, शरदराज सिंह, मनोजकुमार सोनी, मोहम्मद नसरुद्दिन र यशोदाकुमारी राजवंशीविरुद्ध मुद्दा चलाइएको छ ।

सहकारीका लेखापाल सोनु यादव, पूर्वकर्मचारीहरू मोहम्मद नजाम उद्दिन र चम्पा गिरी पनि प्रतिवादी छन् । सहकारीका ७०७ ऋणीका नाममा २४ करोड ३० लाख ८० हजार कर्जा प्रवाह भएको छ । तर, सोमध्ये सहकारीका सदस्यले आधा पनि ऋण नलिएको देखिएको छ । बरु अध्यक्ष रौनियारसहित सञ्चालकले नै सो रकम हिनामिना गरेको पीडितले बताउँदै आएका छन् ।

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना सेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ ।

ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ ।

‘प्रमाणहरू समेतबाट संस्थामा आवद्ध प्रतिवादी अञ्जलासहितका २६ जनाले समयमा साधारणसभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरू संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नतासमेत स्थापित भएको,’ अभियोगपत्रमा उल्लेख छ ।

फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका–वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय सन्तलाल खवास पनि छन् । सहकारीको पूर्वउपाध्यक्ष उनी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।

  • कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेकी संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी भएको छ ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि सम्बन्धित अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय रंगेलीलाई सोमबार पत्र पठाएको उनले बताए । ‘सहकारी ठगी प्रकरणमा २५ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । हामीले प्रहरीमार्फत प्रतिवादीहरूलाई पक्राउका लागि पत्र पठाएका छौँ । सात दिनभित्रमा प्रतिवादीहरू पक्राउ नपरे प्रहरीले सम्बन्धित प्रतिवादीको घरमा म्याद तामेली गर्दछ,’ सूचना अधिकारी बुढाथोकीले भने, ‘म्याद गुजारी बसेमा कानुनबमोजिम मुद्दा प्रक्रिया अगाडि बढ्नेछ ।’

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर  २७ गते संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप