बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए

मङ्गलबार, ०२ पुस २०८१, १२ : ५९
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू समाप्त भएका छन् । लिग चरणमा कूल २८ वटा खेलहरू खेलिएका थिए । 

लिग चरणपछि सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफ चरणमा स्थान बनाउन सफल भएका छन् । बुधबार हुने एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । त्यस्तै, पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

क्वालिफायर खेलको विजेता शनिबार हुने फाइनल खेलमा स्वतः प्रवेश गर्नेछ । पहिलो क्वालिफायरमा हारेको टोली र एलिमिनेटर खेलमा विजेता टोलीबिच बिहीबार दोस्रो क्वालिफायर खेल हुनेछ ।

लिग चरणका खेलहरू सकिँदा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनको टोलीले यो सिजन राम्रो प्रदर्शन गर्न नसके पनि पौडेलले भने उत्कृष्ट प्रदर्शन गरे । ७ खेलमा उनले ३९.८५ को औसतले २ सय ७९ रन बनाउन सफल भए । यस क्रममा उनले २ वटा अर्धशतक पनि बनाउन सफल भए । उनको उच्च स्कोर ९५ रन रहेको छ ।

दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा छन् । उनले ७ खेलमा ३८.८३ को औसतले २ सय ३३ रन जोडेका छन् । उनले पनि २ अर्धशतक हिर्काएका छन् । उनले एकै खेलमा सर्वाधिक ५९ रन बनाएका छन् ।

तेस्रो स्थानमा पोखरा एभेन्जर्सका आन्द्रेयस गाउस रहेका छन् । उनी लिगमा शतक बनाउने एक्लो खेलाडी पनि हुन् । ६ खेलमा उनले ४४.८० को औसतले २ सय २४ रन जोडे । उनको उच्च स्कोर १०४ रन रह्यो ।

चौथो स्थानमा चितवन राइनोजका कुशल मल्ल छन् । मल्लले ७ खेलमा २०२ रन जोडेका छन् । २८.८५ को औसतले रन बनाएका उनको उच्च स्कोर ७२ रन रहेको छ । उनले एक अर्धशतक बनाउन सफल भएका छन् ।

पाँचौँ स्थानमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरी रहेका छन् । ऐरीले ७ खेलमा १ सय ९८ रन बनाएका छन् । ३९.६० को औसतले उनले १ अर्धशतक बनाउन सफल भएका छन् । उनी प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने खेलाडीमध्ये दोस्रो स्थानमा छन् । उनले १४ छक्का प्रहार गरेका छन् । उनको उच्च स्कोर ५७ रन रहेको छ ।

त्यसपछि क्रमशः शीर्ष १० मा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था (१९२ रन), विराटनगर किंग्सका बसिर अहमद (१८१ रन), सुदूरपश्चिम रोयल्सका सैफ अलि जेब (१७४ रन), लुम्बिनी लायन्सका टम मुर्स (१६५ रन) र सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलन (१६२ रन) छन् ।

बलिङमा कुगेलाइनको कमाल
यता, बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलाइन १५ विकेटसहित सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् । उनले ७ खेलमा ९.०० को औसतले विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ ५/१८ रहेको छ ।

जनकपुर बोल्ट्सका ललित राजवंशी र चितवन राइनोजका रिजन ढकालले १३–१३ विकेट लिएका छन् । राजवंशीले १०.६९ को औसतमा विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३/८ रहेको छ । उता, ढकालले १४.४६ को औसतले विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३/१० रहेको छ ।

चितवनकै सोहेल तनवीर र काठमाडौँ किंग्सका करन केसीले १२–१२ विकेट लिएका छन् । तनवीरले १२.५० र केसीले १२.६६ को औसतले विकेट हात पारेका छन् ।

त्यसैगरी काठमाडौँकै जेरहार्ड इरास्मसले ११ विकेट, जनकपुर बोल्ट्सका हर्ष ठाकेर र किशोर महतोले १०–१० विकेट, सुदूरपश्चिम रोयल्सका सैफ अलि जेब, विराटनगर किंग्सका प्रतिश जिसी, कर्णाली याक्सका विपिन शर्मा, पोखरा एभेन्जर्सका विपिन खत्री, लुम्बिनी लायन्सका साद बिन जाफर, लुम्बिनीकै रेमन सिमोन्डस् र विराटनगर किंग्सका क्रिस सोलले ९–९ विकेट हात पारेका छन् ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप