पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
पोखरा । पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख तथा संसद् सचिवहरूको भेला सुरु भएको छ । अन्तर व्यवस्थापिका सम्मेलनका लागि उनीहरू पोखरा आएका हुन् । सम्मेलनमा सङ्घीय सांसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी समेत सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाह सुधार्ने बताएका छन् । उनले सङ्घीयतालाई बलियो बनाउने कानुन बनाउन संसद्को प्रयत्न र प्रयास भएपनि परिणाम आउन नसकेको बताए । ‘सांसदले काम गरिरहेका छन् । प्रयत्न पर्याप्त रहेपनि परिणाम आउन सकेको छैन,’ उनले भने ।
उनले व्यवस्था परिवर्तनका लागि राजनीतिक आन्दोलन भएको र अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्ने बताए । घिमिरेले आगामी अधिवेशनमा सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिने बताए । ‘सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उनले भने, ‘अबको अधिवेशन सङ्घीयतालाई मजबुत बनाउने कानुन निर्माणमा केन्द्रित हुनुपर्छ ।’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई संस्थागत धेरै काम बाँकी रहेको बताए । उनले हालसम्म भएका प्रगति र समस्याबारे गम्भीर समीक्षा गरेर सुधारोन्मुख काम आवश्यक हुने बताए । ‘प्रदेशले दिने डेलिभरीमा भएका समस्याको समीक्षा गर्नुपर्छ । कतिपय कानुन अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएको छ,’ उनले भने, ‘हामीले गर्न सकेनौँ भनेर निराश बन्ने मात्रै होइन । गम्भीर समीक्षा गरेर सुधार्नुपर्छ ।’
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घकै कारण प्रदेशले जनताका प्रश्नको जवाफ दिने गरी काम गर्न नसकेको बताए । ‘अहिले जति पनि प्रश्नहरू सुनिन्छ सबै सङ्घको कारणले आएको हो । हातखुट्टा बाँधेर दौडी भन्दा को दौडिन सक्छ ?,’ उनले भने, ‘बनाउनुपर्ने कानुन नबनाइदिने अनि रिजल्ट आएन, सङ्घीयता काम छैन भन्ने तर्क ठिक होइन ।’ उनले सरकारको सक्रियताका लागि सांसदले पनि भूमिका खेल्न सक्ने बताए । ‘जति संसद् सक्रिय हुन्छ, त्यति नै सरकार जबाफदेही हुन्छ, जिम्मेवार हुन्छ,’ उनले भने ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सङ्घीयतालाई बलियो बनाउन संविधान अनुकूलका कानुन आवश्यक हुने र सम्मेलनले त्यसतर्फ दिशा निर्देश गर्ने बताए । तीन दिनसम्म चल्ने सम्मेलन दसौँ संस्करण हो ।