उपनिर्वाचनमा माओवादीको अनपेक्षित मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
काठमाडौँ । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणामलाई लिएर सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेमा चिन्ता थपिदिएको छ । २०८४ मा हुने आवधिक निर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने दाबी गर्दै आएका कांग्रेस–एमालेलाई यस चुनावी परिणामले निकै झस्काएको छ ।
आइतबार सम्पन्न एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा चुनावी परिणामबारे गम्भीर समीक्षा भएको थियो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता ईश्वर पोखरेल, अर्थमन्त्री एवं उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरू सहभागी कार्यशालामा १० समूह बनाएर छलफल गरिएको थियो । समूहगत निष्कर्षको आधारमा आगामी माघदेखि चैतसम्म वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने निर्णयसहित ६ बुँदे सङ्कल्प प्रस्ताव पारित भएको छ ।
महासचिव पोखरेलले प्रस्तुत गरेको रिपोर्टमा स्थानीय तह उपनिर्वाचनमा माओवादीको अस्वाभाविक रूपमा जनमत बढेको देखिएको भन्दै पार्टीलाई टोल, वडा र पालिका केन्द्रित नगरे मिसन ०८४ मा एमाले राष्ट्रिय शक्ति बन्न निकै चुनौती रहेको निष्कर्ष समेटिएको छ ।
‘स्थानीय तह उपनिर्वाचनमा हाम्रो प्रतिस्पर्धी कांग्रेसको पनि मत कम आएको छ भनेर चित्त बुझाउने एउटा पक्ष हो । तर अस्वाभाविक ढंगले माओवादीको मत बढेको देखिन्छ । वास्तवमा हामीले जे अभियान चलाइराखेका छौँ, ती अभियान जनतासमक्ष पुगेका छैनन् भन्ने योभन्दा अर्को दृष्टान्त के हुन सक्छ ?’ जिल्ला जिल्लाबाट आएका रिपोर्ट प्रस्तुत गर्दै पोखरेलले बैठकमा भने । महासचिव पोखरेललको रिपोर्टले चुनावी परिणामबाट एमाले निकै चिन्तित भएको पुष्टि हुन्छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले माओवादीको अस्वाभाविक मत बृद्धि र एमालेको अपेक्षाकृत मत नआएकोबारे बैठकमा गम्भीर समीक्षा भएको स्वीकारे । ‘पहिलो कुरा स्थानीय तहको उपनिर्वाचनमा पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न सकेन । तर नेकपा एमाले हार्यो भनेर जुन खालको पोलिटिकल स्टण्टबाजी भएको छ, त्यो कुरा सत्य होइन,’ रातोपाटीसँग उनले भने, ‘हामीले पहिला जितेका केही वडा गुमाए पनि समग्रमा पाँच वडा जितेकै छौँ । त्यसको सट्टामा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष गरी तीन सिट जित्यौँ । वडा जित्नु र पालिका जित्नुमा भिन्नता छ । एमालेले कम्तीमा १५, नभए कीर्तिपुरसहित बहुमत जित्ने आकलन गरिएको थियो । त्यो सफल हुन सकेन ।’
सहरी जनमतमा पार्टी कमजोर भएको निष्कर्ष निकाल्दै उनले यसको प्रभावलाई समेत ध्यानमा राखेर पार्टीले केन्द्रीय कार्यशालामार्फत वडा र टोल केन्द्रित कार्यक्रम अगाडि सारेको बताए ।
कार्यशाला बैठकको निर्णयबारे थप जानकारी दिँदै उनले भने, ‘आत्मसमीक्षा गरेका छौँ । निर्वाचनको वस्तुगत र तथ्यनिष्ठ विश्लेषण गरेका छौँ । मिसन ०८४ लाई एउटा निष्कर्षमा पुर्याउनका लागि बजारमा ठुल्ठुला भाषण गरेर होइन, टोल र वडा केन्द्रित कार्यक्रम बनाएर अगाडि बढ्न पार्टीलाई निर्देश गरेको छ ।’
तर यो निर्वाचनले कुनै राष्ट्रिय राजनीतिक गठबन्धनमा प्रभाव नपार्ने भएकाले एमालेले पटक–पटक परीक्षा दिइरहनुपर्ने आवश्यकता नभएको गौतमले तर्क गरे । तल्लो तहको तथ्यगत विवरणमै पार्टी पुग्न नसक्दा समस्या आएकाले अब पार्टीलाई वैचारिक हिसाबले सुस्पष्ट रूपमा अगाडि बढाउने उनको दाबी छ ।
चुनावी परिणामबाट एमालेमात्र होइन, सत्तारुढ अर्को मुख्य दल कांग्रेससमेत गम्भीर बनेको देखिन्छ । चुनावी परिणामबारे पार्टीको आगामी कार्यसमिति बैठकमा गम्भीर समीक्षा हुने नेताहरूले बताएका छन् । गत वर्ष फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन थापाले कुनै पनि निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए ।
थापाको सोही प्रस्तावका कारण कांग्रेस–माओवादी गठबन्धन भत्किएको थियो । पछि पार्टीको केन्द्रीय समिति बैठकले थापाको प्रस्ताव पारित गर्यो । तर चुनावी परिणामले गठबन्धन नगर्ने कांग्रेसको नीति असफल भएको कतिपयको बुझाइ छ । यद्यपि चुनावअघि गठबन्धन नगर्ने महामन्त्री थापाको नीति ठिक भएको नेता मधु आचार्यको दाबी छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसको मत र सिट संख्या घट्नुमा महासमिति बैठकको निर्णय प्रमुख कारण नभइ वैचारिक, सैद्धान्तिक र सांगठनिक अलमल नै मुख्य कारण रहेको आचार्यको दाबी छ ।
‘खासगरी महासमिति बैठकले दिएको म्याण्डेटमा आधारित भएर केन्द्रीय समिति बैठकले निर्वाचनमा जान कांग्रेसले गठबन्धन नगर्ने निर्णय लियो । त्यसैले यस उपनिर्वाचनमा कस्तो परिणाम आउला भन्ने जिज्ञासा थियो’, आचार्यले भने, ‘समग्रमा जुन परिणाम आयो, जनमतले कांग्रेसको निर्णयलाई अनुमोदन गरेको छ । आ–आफ्ना घोषणापत्र, वैचारिक, सैद्धान्तिक पहिचान लिएर जानु नै जायज हो भन्ने कुरा यो परिणामले स्थापित गर्यो ।’
यसैगरी उपनिर्वाचनले उम्मेदवारी छनोटको विषयमा स्पष्ट सन्देश दिएको रूपमा बुझ्नुपर्ने आचार्यको भनाइ छ । ‘जहाँ तल बसेर सर्वसम्मत रूपबाट उम्मेदवार छनोट गरेको छ, पार्टी पंक्ति सम्पूर्ण रूपमा समर्पित भएर लागेको छ, त्यहाँ हामीले राम्रो रिजल्ट पाएका छौँ । त्यसकारण सर्वसम्मत उम्मेदवार छनोट गर्न पार्टीले राम्रै अभ्यास गर्नुपर्छ । यदि त्यो भएन भने स्थानीय रूपमा को बढी भिजेको छ, पार्टी पंक्ति र जनमतमा पनि लोकप्रिय उसलाई उम्मेदवार बनाउन हेक्का राख्नुपर्छ’, चुनावी परिणामबारे समीक्षा गर्दै उनले भने ।
बरु विधिको हिसाबले प्राइमरी (पार्टी सदस्य)ले नै मतदान गरेर उम्मेदवार छनोट गर्दा उत्तम परिणाम आउने पाठ सिकाएको आचार्यले बताए । उनले आगामी दिनमा पार्टीको विधानमा पनि त्यसैगरी अग्रगामी विचार आत्मसात् गरेर तलकै संगठनलाई बढी चलायमान र अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । टोल, वडा र पालिका समितिलाई पार्टीले अधिकार सम्पन्न बनाएर जान सकिए राम्रो परिणाम आउने उनको निष्कर्ष छ । गठबन्धन गरेर एकाध सिट थपिएको देखिएला तर त्यसले सांगठनिक रूपमा दीर्घकालीन क्षति पुर्याइराखेको उनको विश्लेषण छ ।
‘बिचमा गठबन्धनमा अलमलिँदा संगठन अलमलियो । त्यसले गर्दा जित्ने ठाउँमा पनि पार्टी पराजित भयो । गठबन्धन गर्न हुँदैन भन्ने निर्णयका कारण हारेको होइन’, महामन्त्री थापाको नीतिको बचाउ गर्दै आचार्यले भने, ‘पहिला गठबन्धन गरेका कारण सांगठनिक, वैचारिक र सैद्धान्तिक रूपमा स्खलित भयो । त्यसका कारणले परिणामलाई असर गर्यो । गठबन्धन नगरी चुनावमा भाग लिएको भए हिजो जति सिट जितेको थियो, त्योभन्दा बढी सिट जित्थ्यो ।’
तर यस निर्वाचनले अलिकति कमजोर देखिकालाई थप मेहनत गर्न सन्देश दिएको र जसले अपेक्षा गरेभन्दा बढी मत ल्याएका छन्, त्यसलाई काम गर्न मनोबल बढाएको उनको बुझाइ छ ।
- प्रचण्डको उत्साह कति स्वाभाविक ?
यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र चुनावी परिणामबाट निकै उत्साहित देखिन्छ । रिक्त ४१ स्थानमध्ये पालिका प्रमुख उपप्रमुखसहित ११ स्थान जितेर दोस्रो भएको माओवादीले अघिल्लो निर्वाचनको तुलनामा झण्डै ३६ हजार मत बृद्धि गरेको देखिन्छ ।
मंसिर २८ गते बसेको स्थायी समिति बैठकले यस चुनावी परिणामले आगामी २०८४ को निर्वाचनमा एक्लै चुनाव लड्न सक्ने विश्वास जगाएको निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय संसदवादी दल कांग्रेस र एमालेको संगत गर्दा जनतासँग पार्टीको सम्बन्ध बिग्रिएको भन्दै ‘मिसन–०८४’ मा २०६४ को जस्तै परिणाम ल्याउने गरी तयारीमा जुट्न नेताहरूलाई निर्देशन दिएका थिए ।
माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्दै कांग्रेस–एमाले नेतृत्वको सरकारले गरेका बदमासीको भण्डाफोर गरेर जनतामा जाने निर्णय बैठकले गरेको छ । टोल, वडा तथा पालिका केन्द्रित कार्यक्रम बनाउन माओवादीले यही पुस १८ देखि २० गतेसम्म स्थायी समिति बैठक र २१ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।
यस्तै पार्टी कामको शिलशिलामा शनिबार रुपन्देहीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीप्रति जनताको भरोसालाई अब तोड्न नदिने प्रतिबद्धता जनाएका थिए ।
‘पछिल्लो समय जहाँ गएँ, त्यहीँ पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन,’ उनले भनेका थिए ।
यतिमात्र होइन, निर्वाचन आयोगले सम्पूर्ण चुनावी परिणाम सार्वजनिक गरे लगत्तै प्रचण्डले उत्साहित हुँदै विज्ञप्ति निकालेर मतदातालाई धन्यवाद दिएका थिए । त्यसयता हरेक सार्वजनिक मञ्चबाटै माओवादी अब २०६४ मा फर्किने दाबी गर्दै आएका छन् । प्रचण्डको यस किसिमको हौस्याइ स्वाभाविक रहेको विश्लेषकहरू बताउँछन् ।
राजनीतिक विश्लेषक डा. गेजा शर्मा वाग्लेले स्थानीय तह उपनिर्वाचन परिणामले कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत दलहरूले जनताको मनोभावना र चेतावनीको रूपमा स्वीकार गर्नु उनीहरूको राजनीतिक भविष्य र स्वार्थका लागि उपयुक्त हुने बताए । हरेक पार्टीलाई चुनावी परिणामले विशेष सन्देश दिएको उनको विश्लेषण छ । यद्यपि प्राविधिक रूपमा स्थानीय पालिकामा विजयी भएका प्रमुखहरूको कारणले गर्दा प्रचण्डले जनमत माओवादीतिर फर्किएको र ०८४ को निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने माओवादीमा आत्मविश्वास पलाएको देखिने उनले बताए ।
‘यो निर्वाचनमा जनताको मनोभावना प्रतिबिम्बित भएको छ । ०८४ को चुनावी परिणामको पूर्व संकेतका रूपमा हेर्न सकिन्छ । तथापि यो उपनिर्वाचन भएको र सत्ता विरोधी भावना जनमतमा प्रतिबिम्बित भएको, माओवादी भर्खर सरकारबाट बाहिरको र अपेक्षा गरेभन्दा राम्रो मत पाएको कारण माओवादी बढी हौसिएको देखिन्छ’, उनले भने, ‘तर ०८४ को पूर्वसंकेतको रूपमा यो निर्वाचनलाई हेर्नु प्रिम्याच्योर होला । तर सबै पार्टीले जनताको भावना र चेतावनीलाई स्वीकार गर्नुपर्छ । यति यसबाट उनीहरूले पाठ सिकेनन् भने ०८४ मा ठुलो मूल्य चुकाउने निश्चित छ ।’
प्रचण्ड हौसिएकोप्रति कांग्रेसका नेता आचार्यले बहुदलीय प्रणालीमा दलहरूको उतारचढाव भइराख्ने भन्दै मानसिक रूपमै कमजोर भएको बेला यस चुनावी परिणामले सकारात्मक फिडब्याक दिएको बताए ।
‘बहुदलीय प्रणालीमा दलहरूको उतारचढाव त भइहाल्छ । माओवादीभित्र हतप्रभको मानसिकता देखिएको थियो । उनीहरू मानसिक रूपमा पनि असुरक्षित बन्दै गएका थिए’, उनले भने, ‘यस चुनावी परिणामले जनताको काम राम्रोसँग गर्न सकिए, संगठन बलियो बनाउन सकियो भने मन जित्न सकिन्छ भन्ने सकारात्मक फिडब्याक पाएका छन् ।’
यस्तै एमालेका नेता गौतमले पनि प्रचण्ड हौसिनु स्वाभाविक भएको बताएका छन् । सपनामा समेत नचिताएको परिणाम आउँदा हौसिनु स्वाभाविक भए पनि माओवादीले प्राप्त गरेको मत शक्ति आर्जनभन्दा सत्ताप्रति नकारात्मक भावना जागृत गराएको परिणाम भएको उनले विश्लेषण गरे ।
‘प्रचण्ड हौसिनु स्वाभाविक हो । अपेक्षा नै नगरको परिणाम प्राप्त गरेपछि के गर्छन् त ! सपनामा पनि यो परिणाम आउँछ भन्ने कुनै बैठक विश्लेषण थिएन । चुनावी परिणामले आगामी निर्वाचनको तयारीमा लाग्नुपर्छ भन्ने कुरामा उहाँलाई स्वाभाविक रूपमा प्रेरणा दिएको छ । तर उहाँको शक्तिले आर्जन गरेकोभन्दा पनि सरकार विरोधी सेन्टिमेन्टले एउटा परिस्थिति निर्माण भयो । त्यसको उपयोग गर्न उहाँ सफल हुनुभयो’, गौतमले भने ।
- कांग्रेस–एमालेको मत घट्दा माओवादीले बढायो
सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भाग लिएको माओवादीले कसैले पनि कल्पना नगरेको २३८ सिट ल्याएर पहिलो दल बनेको थियो । तर २०७० को दोस्रो संविधान सभा निर्वाचनबाट निरन्तर क्षयीकरण हुँदै कमजोर भएको माओवादीलाई ४१ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनको परिणामले फेरि आत्मविश्वास जगाएको देखिन्छ । तथ्यगत आधारले पनि माओवादी उत्साहित हुनु राजनीतिक वृत्तमा स्वाभाविक मानिएको छ ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले ८ सिट गुमाएर एक नगरपालिका प्रमुखसहित १७ स्थानमा जित हासिल गरेको थियो । त्यस्तै, नेकपा माओवादी केन्द्रले एक पालिका अध्यक्ष, तीन उपप्रमुख/उपाध्यक्ष र सात वडा अध्यक्षसहित ११ स्थानमा जित्यो । अघिल्लो पटक कांग्रेसले २५ सिट जितेको थियो भने माओवादीले जम्मा ८ सिट जितेको थियो । संसदको दोस्रो ठुलो दल नेकपा एमालेले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडा अध्यक्षसहित ८ स्थान जित्यो । अघिल्लो निर्वाचनमा एमालेले ७ वटामात्र जितेको थियो । यसपटक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष जितेको छ ।
निर्वाचन भएका ४१ स्थानको कुल मतमध्ये कांग्रेसले यसपटक कुल ४४ हजार ५५७ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा कांगे्रसले प्राप्त गरेको मतको तुलनामा ११ हजार ३११ कम हो । समग्र मत घटे पनि कांग्रेसको मत २१ स्थानमा बढेको र २१ स्थानमा घटेको तथ्याङ्कले देखाउँछ ।
एमालेले यसपटक कुल ३८ हजार ९९८ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा एमालेले प्राप्त गरेको मतको तुलनामा १ हजार ४०८ कम हो । समग्र मत घटे पनि एमालेको मत २२ स्थानमा बढेको र १९ स्थानमा घटेको तथ्याङ्कले देखाउँछ ।
माओवादीले कुल ३५ हजार ६९९ मत ल्याएको देखिन्छ । यो २०७९ सालको निर्वाचनमा सो पार्टीले प्राप्त गरेको मतको तुलनामा १० हजार २५४ मत बढी हो । माओवादीले उम्मेदवारी दिएकामध्ये २२ स्थानमा मत बढाएको र १९ स्थानमा गुमाएको देखिन्छ ।