स्थायी कमिटी बैठकमा माधव र घनश्यामद्वारा आत्मालोचना
कामठाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपाल र घनश्याम भुसालले महाधिवेशन भएको पाँच महिनासम्म कार्यविभाजन गर्न नसकेकोमा कमजोरी स्विकार्दै आत्मालोचना गरेका छन् ।
जारी बैठकमा स्थायी कमिटी सदस्यहरूले महाधिवेशन सम्पन्न भएको पाँच महिनासम्म पनि कार्यविभाजन गर्न नसकेको भन्दै नेतृत्वसँग जवाफ मागेपछि अध्यक्ष नेपाल र महासचिव भुसालसहित कार्यदलका सदस्यहरूले आत्मालोचना गरेका हुन् ।
‘महाधिवेशन नगर्नु भन्ने सुझावलाई बेवास्ता गर्दै महाधिवेशन चाहिँ हतारमा (असारमा) गर्ने अनि अहिलेसम्म कार्यविभाजन नगरेर पार्टीलाई बन्धक किन बनाएको हो ?’ बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले नेतृत्वसँग प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा अध्यक्ष माधव नेपालले वर्षा, बाढी पहिरो र चाडबाडका कारण समयमै नेताहरूको कार्यविभाजन गर्न नसकिएको र जनतामा जाने कार्यक्रम समेत ल्याउन नसकिएको जवाफ दिएका थिए ।
‘जवाफ दिने क्रममा सामूहिक र व्यक्तिगत रूपमा अध्यक्ष र महासचिव दुवैले कमजोरी स्विकार्दै आत्मालोचना गर्नुभयो’, एक स्थायी कमिटी सदस्यले अध्यक्ष नेपालले दिएको जवाफ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘कमजोरी भएका छन् । कमजोरी भयो भनेर आन्दोलनलाई छाड्ने होइन । अब कार्यविभाजन पनि तत्काल हुन्छ र जनतामा जाने कार्यक्रम पनि तय हुन्छन् ।’
बैठकमा पार्टी संगठनलाई कसरी आफ्नै खुट्टामा उभिन सक्ने बनाउने भन्नेमा समीक्षा भएको थियो । त्यसक्रममा गठबन्धन गरेर चुनावमा जानु, सबै ठाउँमा आफ्नै उम्मेदवार नउठाउनुलगायतका कमजोरीले पार्टीको पहिचान स्थापित हुन नसकेकोमा पनि अध्यक्ष नेपाल र महासचिव भुसालले कमजोरी महसुस गरेको बताएका थिए ।
‘आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्ने कुरा स्थायी कमिटी बैठकको निष्कर्ष हो, यसमा सबै नेता सहमत हुनुहुन्छ’, उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘केन्द्रीयस्तरमा त कसैसँग गठबन्धन गर्दै नगर्ने, स्थानीय तहमा गर्नैपर्ने भए आवश्यकताअनुसार विचार गर्न सकिने विकल्प खुला छदैछ ।’
संघर्षको माध्यमबाट पार्टी निर्माण गर्ने कुरामा पनि सबै नेता सहमत भएका छन् । महासचिव घनश्याम भुसालले बैठकमा पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माणबारे’कार्ययोजनामाथि ५ दिनसम्म स्थायी कमिटी बैठकमा छलफल भएको थियो । उक्त कार्ययोजनामा स्थायी कमिटी सदस्यहरूले राखेका सुझाव समेतलाई ध्यानमा राखेर सोमबारको बैठकले पारित गरेको छ ।
यद्यपि बैठकका निर्णय मंगलबार बस्ने बैठकपछिमात्र सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव समेत रहेका उपमहासचिव रामकुमार भट्टराईले पारित कार्ययोजनाअनुसार एकीकृत समाजवादी आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक रूपमा सशक्त ढंगले अघि बढ्ने बताए ।
‘पार्टीले अब जनताका ज्वलन्त समस्याहरू पहिचान गर्छ, ती समस्या सम्बोधन गर्न सरकारलाई दबाब दिन्छ’, उनले भने, ‘त्यसका आवश्यकता अनुसार सडक र सदन दुवै प्रयोग गर्न सकिन्छ ।’
- पार्टी एकता पनि तत्काल नगर्ने
सो पार्टीले यसअघि विचार र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकता गर्ने बताउँदै आएपनि स्थायी कमिटी बैठकपछि तत्काल कुनैपनि पार्टीसँग एकता नगर्ने निष्कर्षमा पुगेको छ ।
‘तत्काल पार्टी एकता गर्नु हुँदैन भन्ने नै धेरै नेताहरूको भनाइ आयो’, उपाध्यक्ष खतिवडाले भने, ‘गर्दैगर्दैनौं भन्ने होइन । एकताका लागि महत्त्वपूर्ण कुरा विचार र सिद्धान्त मिल्नुपर्छ । त्यसरी मिलेर तत्कालै एकता गर्ने अवस्था अहिलेसम्म देखिएको छैन ।’
बैठकमा माओवादीसँग एकताको चर्चाबारे समेत छलफल भएको थियो । छलफलका क्रममा माओवादीले पूर्व माओवादीहरूलाई मिलाउन लागेकाले अहिले ऊसँग समेत एकता हुन नसक्ने नेताहरूले धारणा राखेका थिए ।
‘माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकता भनिरहनुभएको छ । तर उहाँले भनेको एकता पूर्व माओवादीसँग हो भन्ने देखिन्छ बुझिन्छ’, एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँहरू माओवाद भन्नुहुन्छ हामी समाजवाद भन्छौँ । यस्तो अवस्थामा कि उहाँहरुले माओवाद छाडनुपर्यो कि हामीले समाजवाद । तर दुवैले अहिले आफूले अघि सारेको विचार सिद्धान्त छोड्ने अवस्था देखिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ
-
एआईमा ५ खर्ब डलर लगानी गर्दै अमेरिका
-
सिमेन्टको मूल्य वृद्धि होइन, मूल्य समायोजन गरिएको हो : अध्यक्ष मारू