मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘अर्ग्यानिक उत्पादनको माग बढी छ’

मङ्गलबार, ०२ पुस २०८१, ११ : २६
मङ्गलबार, ०२ पुस २०८१

नेपालमा उत्पादित कृषिजन्य वस्तुहरू निर्यातको इतिहास लामो छ । तर, यसको गुणात्मक विकास हुन सकेको छैन । आजभन्दा एक दशक अगाडि निर्यातको अवस्था केही अर्बमा थियो । अहिले खर्बमा पुगेको छ । त्यसमा पनि कोशी प्रदेशको चिया, अलैंची, अदुवा, अम्रिसो, छुर्पी लगायतको निर्यात लोभलाग्दो छ । यसलाई अझै बढाउन आवश्यक छ ।

हामीले कोशी प्रदेशबाट उत्पादित कृषिजन्य वस्तुको निर्यात र अहिलेको अवस्थाको विषयमा व्यापार तथा निकास प्रवर्द्धन कार्यालय विराटनगरका प्रमुख केबल विष्टसँग कुरा गरेका छौं । प्रस्तुत छ, उनीसँग रातोपाटी सम्वाददाता अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश- 

  • कोशी प्रदेशबाट उत्पादित वस्तुहरूको निर्यातको अवस्था के छ ?

– नेपालका निकासीजन्य वस्तुहरूमा औद्योगिक वस्तु, कृषिजन्य र वनजन्य वस्तुहरू पर्दछन् । त्यसमध्येमा पनि औद्योगिकजन्य वस्तुमा आइरन एण्ड स्टिल, धागो, सोयाबिन, सिमेन्ट, नुडल्स, पाम आयल पनि प¥यो । प्लाइउड, जुट पनि यहाँबाट निर्यात हुन्छ । कृषिजन्य वस्तुमा चिया, अलैँची, छुर्पी, अम्रिसो, नेपाली कागज, जडीबुटी, अदुवा, बेसार, छालाजन्य वस्तुहरू निर्यात हुन्छ । दाल पनि निर्यात हुन्छ । कटन ब्यागहरू पनि गइरहेको छ । सुपारी वैधानिक रूपमा निर्यात हुँदैन । अवैधानिक तरिकाले सुपारी पनि गइरहेको छ । तर, त्यो नेपालको उत्पादन होइन । तेस्रो मुलुकबाट आएको सुपारी भारत जाने गरेको छ ।

  • नेपालमा उत्पादित वस्तुहरू निर्यातमा भइरहेको काम चाहिँ के हो ?

– यो कार्यालयले साना तथा ठुला उद्यमीहरूलाई समेटेर निकासीजन्य वस्तुको उत्पादन, विकास र प्रवर्द्धन गर्ने उद्देश्य हो । हामीले उहाँहरूलाई सहयोग गर्ने हो । हामी व्यक्तिगत ढङ्गले सहयोग गर्दैनौँ । हामीले नीतिगत ढङ्गले विभिन्न संघहरूलाई सहयोग गर्ने र पुलको रुपमा काम गर्ने गरेका छौँ । निजी क्षेत्रका उद्यमीहरूको एसोसिएसनहरूलाई हामीले नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार नै बजेट र कार्यक्रम तय गरेर तालिम, स्वदेश तथा विदेशका मेलाहरूमा हामीले उहाँहरूको उत्पादनलाई प्रवर्द्धन गर्नका लागि स्टल लिने र सिफारिस गर्ने काम गरिरहेका छौँ । त्यसमा पनि आफैँ उहाँहरूले छानेका मेलामा पनि प्रदर्शन र बिक्रीका लागि सामानहरूलाई थोरै भन्सारदर लिएर निर्यात सहजीकरण गर्ने काम पनि गर्दछौँ । अहिले आएर कोशी प्रदेशमा नेपाल सरकारले त्यति बजेट तथा कार्यक्रमहरू दिएको अवस्था छैन । त्यसकारण हामीले खासै कार्यक्रम गर्न सकेका छैनौँ ।

  • निकासी प्रवर्द्धन कार्यालय नै दरबन्दी अनुसार कर्मचारी छैनन् । त्यसकारण सेवा प्रवाहमा समस्या छ भन्ने गुनासो छ नि ?

– अहिले हाम्रो कार्यालयको दरबन्दी ११ जना हो । तर, हामी चार जनामात्रै छौँ । त्यसमा कर्मचारीको पदपूर्तिको विज्ञापन पनि भइरहेको छैन । यो कार्यालय कुनै मन्त्रालयमै लगेर गाभ्ने हो कि के गर्ने हो अन्योल छ ।

  • कार्यालय नै हटाउने हो कि ?

– कार्यालय नै त नहटाउला । किन भने विश्वका सबै मुलुकमा यस खालका कार्यालय छन् । मेरो विचारमा अझै चुस्त दुरुस्त बनाउन खोजेको होला ।

  • कोशीबाट थुप्रै वस्तुहरू निर्यात हुने कुरा तपाईंले भनिसक्नु भएको छ । निर्यातमा देखिएको समस्याचाहिँ के छन् ?

–  यसमा पहिलो समस्या भनेको गुणस्तरीय उत्पादन नै हो । मुख्य कुरा विदेशीहरूले गुणस्तरीय मालवस्तु चाहन्छन् । हाम्रो अहिलेको उत्पादन पनि गुणस्तरीय नहुने गरेको छ । जहाँ मालवस्तु गइरहेको छ, त्यहाँ पनि गुणस्तर कायम गर्ने विषयमा समस्या सिर्जना हुने गरेको छ । अहिले अर्ग्यानिक मालवस्तुको माग धेरै छ । यसलाई सर्टिफाइट गर्ने काम धेरै झन्झटिलो छ । महँगो पनि छ । व्यक्तिगत हिसाबले किसानले गर्न पनि गाह्रो छ । यसको सबैभन्दा नजिकको कार्यालय भनेको अष्ट्रेलियामा रहेको नासाको कार्यालय हो । त्यहाँबाट सर्टिफाइ गरियो भने विश्व व्यापारमा जान सकिन्छ । त्यो मान्यताप्राप्त पनि हुन्छ । तर, किसानले उहाँहरूलाई एक महिना, दुई महिनाका लागि सुपरभिजनमा ल्याउन पनि गाह्रो छ । महँगो पनि छ । यस्तो कुरालाई राज्यले नै पहल गरेर सस्तोमा सर्टिफाइ गराउन सकेमात्रै हाम्रो निर्यात बढ्छ ।

  • नेपालको सबैभन्दा बढी निर्यात हुने भनेको चिया, छुर्पी, अलैंची, अदुवा, अम्रिसो  हो । तर, यिनै कृषिजन्य वस्तुहरू निर्यातमा पनि बेलाबेलामा समस्या पर्छ । त्यो समस्या सिर्जना नहुनका लागि के गर्नुपर्ला ?

– छिमेकी मुलुक भारतसँग हाम्रा कृषिजन्य वस्तुहरू पठाउनका लागि वाणिज्य सन्धि सम्झौता भइसकेको छ । तर, भारतका कतिपय राज्यहरूले विभिन्न खालका करका दरहरू हेरफेर गर्ने, त्यहाँ उत्पादन बढी भयो भने हाम्रो उत्पादन नलिने खालका समस्या बेलाबेला देखिने गरेका छन् । दुई देशबिचमा माथिल्लो निकायमा भएको छलफलबाट यो कुरा सुल्झिएको पनि छ । तर, बेलाबेलामा यो कुरा उठ्ने गरेको छ । केही समय अगाडि मिडियामा आएको थियो– नेपालको प्लाइउडहरूलाई भारतमा दर्ता गर्नुपर्ने ।

यो भनेको गाह्रो विषय हो । त्यहाँका क्रेताहरूले नै त्यो कुराको सहजीकरण गर्नुपर्छ । अहिले भने केही समयका लागि उक्त समस्या हल भएको छ । फेरि नआउला भन्न सकिन्न ।

  • नेपालको व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनु पर्छ भन्ने कुरामा दुई मत भएन । हाम्रो व्यापार घाटा झण्डै १० गुणा बढी छ । निर्यातको अवस्थालाई सुदृढ गर्नका लागि सरकारी र निजी स्तरबाट गर्नुपर्ने काम के होला ?

– निजी क्षेत्रहरूले पनि इमानदारीपूर्वक पहल गर्दिन सक्नु भयो भने निर्यात बढाउन सकिन्छ । संगठित संघ संस्थाहरूले पनि इमान्दारितापूर्वक कानुन र नियमहरूलाई कार्यान्वयन गर्न सके उत्पादन वृद्धि हुन्छ । उत्पादन बढ्यो भने गुणस्तरमा पनि हामी जान सक्छौँ । त्यसपछि हामी ग्लोबल मार्केटमा पनि जान सक्छौँ । नेपालमा हामीलाई फाइदा भनेको विविधता रहेको मौसम हो । यो ठाउँमा हामीले अफसिजनमा तरकारी फलाउन सक्छौँ । फलफूलकै कुरा गर्दा पहाडको चिसो ठाउँमा सुन्तला फलाउन सक्छौँ । चिसोमा स्टोरेज गरेर लामो समय राख्न पनि सक्छौं । यस्ता कुरालाई फोकस गर्नुपर्छ । त्यो निजी क्षेत्रले गर्नुपर्छ ।

सरकारले पनि यथेस्ट रूपमा बजेट विनियोजन गर्नुपर्छ । संगठित संस्थाहरूलाई लगानी गर्ने, समुदायलाई आधार मान्ने र विभिन्न जोनहरू निर्माण गरेर उत्पादन बढाउनु पर्छ ।

  • सरकारले त गुणस्तरमा ध्यान दिने काम पनि त गर्नुप¥यो होला नि त ?

– हो । सरकारले गुणस्तरमा ध्यान दिनुपर्छ । जस्तैः अलैंची धुवाँमा सुकाएर हुँदैन । उत्पादित वस्तुको ग्रेडिङ नगर्दा पनि कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ । पशुपालनमा खोरेत लगायत रोगहरू उन्मूलन गर्नुप¥यो । त्यसले छुर्पी निर्यातमा आउनसक्ने अवरोधलाई हटाउन सक्छौँ । विषादि प्रतिबन्धित क्षेत्र निर्माण गरेर अर्ग्यानिक उत्पादन गर्नुपर्छ । त्यसको माग पनि बढी छ । लो भोल्युम हाइ डिमाण्ड भनेजस्तै गरी हामी अगाडि बढ्नु पर्छ । अर्थोडक्स चियामा जोड दिनुपर्छ । जैविक विषादीको प्रयोगमा बढावा दिनुपर्छ । जस्तो निमको झोल, तितेपातीको झोललगायतका वस्तुहरू प्रयोग गर्नुपर्छ ।

  • नेपालबाट औद्योगिक वस्तु निर्यातमा नयाँ वस्तुहरू थपिइरहेका छन् । कृषिजन्य वस्तु निर्यातको इतिहासचाहिँ अलिक लामो छ । हामीले विदेशीहरूको मागलाई पूरा गर्न सक्ने हो भने त निर्यातको भविष्य राम्रै देखिन्छ नि, हैन ?

– हो । निर्यातको भविष्य राम्रो देख्छु म । तर, हाम्रो युवा जनशक्तिको विदेश पलायन रोकेर यही उत्पादनमा लगाउनु आवश्यक छ । उहाँहरूको श्रमको उचित मूल्य दिएर र उहाँहरूलाई प्रविधि, बिउ बिजन उपलब्ध गराउने । खाली जग्गा उपलब्ध गराउने खालको व्यवस्था गर्ने हो भने हाम्रो उत्पादन बढ्छ । अर्को कुरा कृषिजन्य वस्तु उत्पादनमा रोग लाग्न नदिने, सिँचाइको व्यवस्था गर्ने काम सरकारले गर्नुपर्छ । त्यसका साथै मास बेस उत्पादन गर्नुपर्छ । उत्पादनलाई गुणात्मक ढंगले बढाउनु पर्छ । अनुदानलाई व्यवस्थित गर्नुपर्छ । आफ्नै पौरखले उत्पादन बढाउने खालका कार्यक्रम ल्याउनु पर्छ । सँगसँगै इलाममा हुने चिया भोजपुरमा पनि लगाउनु पर्छ । धनकुटामा हुने काउली भोजपुर वा इलाममा पनि फलाउनु पर्छ । सोलुखुम्बुमा उत्पादन हुने आलु खेतीलाई त्यस्तै पहाडी इलाकामा विस्तार गर्नुपर्छ । त्यहाँ उत्पादित वस्तु निर्यात गर्ने र डलर कमाउनेतिर ध्यान दिनु आवश्यक छ ।

अर्को कुरा, स्थानीय निकायसम्मै कुनै डेस्क राखेर निर्यातजन्य वस्तुको उत्पादनलाई बढावा दिने कार्यक्रम कार्यान्वयन गर्नुपर्छ । निर्यातजन्य वस्तुको गुणस्तरीय उत्पादनको लागि स्थानीयस्तरसम्मै डेस्क स्थापना गरेर सहयोग गर्नुपर्छ ।

  • डिमाण्ड पूरा गर्ने अवस्थामा छ त नेपाल ?

– छैन । नेपालमा यार्सागुम्बादेखि अलैंचीको तेलको माग भयो भने हामीले कसरी दिने ? एक लाख मेट्रिकटन छुर्पी माग भयो भने कसरी दिने ? त्यसकारण हामीले मास उत्पादनमा जोड दिनुपर्छ । त्यसको बजारको ग्यारेण्टी सरकारले गर्नुपर्छ । विशेष क्षेत्रहरू बनाएर काम गर्नुपर्छ । गाईवस्तु, भेडा, बाख्रा, चौंरी पालनलाई बढावा दिनुपर्छ । जस्तैः याक चिजको धेरै माग छ । त्यो हामीले पूरा गर्नै सकेका छैनौँ ।

  • तपाईंको लामो अनुभवमा विगत २० वर्ष अगाडिको निर्यातको स्थिति र अहिलेको अवस्थाको अन्तरचाहिँ के हो ?

– पहिले पनि यिनै वस्तुहरू निर्यात हुन्थ्यो । थोरबहुतको भोलुम र मूल्यमा मात्रै फरक भएको छ । अहिले निर्यात बढेको छ । तर, यतिले पुग्दैन । यो बढाइले र यो मूल्यले हामीले ब्यापार घाटालाई कम गर्न सक्दैनौँ । गुणस्तरीय उत्पादन गरियो र अरु देशसँगको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गरियो भने हामी व्यापार घाटा कम गर्न सक्छौँ । हामी अर्ग्यानिक उत्पादनमा जानु पर्छ । त्यसले गर्दा बढी मूल्य पनि लिन सक्ने र स्वास्थ्यको लागि पनि राम्रो हुन्छ ।

प्याकेजिङको अभाव छ । अहिले पनि बोरामा हालेर पठाउँछौं । तर, त्यसलाई प्याकेजिङमा लानु पर्छ । यहीँको डिमार्टमेन्ट स्टोरमा पनि लोकल उत्पादनलाई बिक्री वितरण हुने वातावरण सिर्जना गर्नुपर्छ । बार कोडलगायतको विकास गर्नु आवश्यक छ । कच्चा पदार्थ निर्यातमा भन्दा पनि हामीले फिनिस प्रोडक्टमा जानतिर जोड गर्नुपर्छ । त्यसको मतलब औद्योगिक उत्पादनलाई नै बढावा दिने हो ।

  • नेपालले औद्योगिक उत्पादन निर्यात गर्न सुरु गरेको हो अब ?

– केही सुरुवात भएको छ । जस्तोः सिमेन्ट जान थालेको छ । स्टिललगायतका सामान र प्लाइउड पनि जान थालेको छ । विद्युत् निर्यात सुरु भएको छ । अब हामीले अलैंचीको तेल उत्पादनतिर लाग्ने । जडीबुटीहरूबाट औषधि उत्पादन गर्ने लगायतको काममा ध्यान दिनुपर्छ । त्यसो हुँदा नेपालले पनि र कृषकहरूले पनि फाइदा लिन सक्छन् । अम्रिसो पनि हामीले कुचोको मुठो तयार पारेर पठाउन तिर लाग्नु आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप