कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
विराटनगर । कोशी प्रदेशमा उत्पादित चिया, अलैंची, अम्रिसो र अदुवाको निर्यातले समग्र देशको निर्यातमा मनग्य योगदान गरिरहेको छ । त्यसका अलावा धागो, स्टिल तथा आइरनको तयारी वस्तुदेखि छुर्पी र प्लाइउडसम्मको निर्यातले देशको निर्यातलाई टेवा दिनुको साथै व्यापार घाटालाई कम गर्न सहयोग पुर्याइरहेको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९–८० मा नेपालको समग्र निर्यातमा कोशी प्रदेशको योगदान ३९ दशमलव शून्य ६ प्रतिशत रहेको छ । विगत पाँच वर्षमा कोशी प्रदेशको मेची र विराटनगर भन्सार विन्दुबाट भएको निर्याततर्फ ३४.९८ प्रतिशतदेखि ४१.७१ प्रतिशतसम्म योगदान गरेको छ । आयातमा भने १४.४४ प्रतिशत योगदान गरेको देखिन्छ ।
‘नेपालका निकासीजन्य वस्तु औद्योगिक वस्तु, कृषिजन्य र वनजन्य वस्तु पर्दछन् । त्यसमध्येमा पनि औद्योगिकजन्य वस्तुमा आइरन एण्ड स्टिल, धागो, सोयाबिन, सिमेन्ट, नुडल्स, पाम आयल पनि पर्दछ । प्लाइउड, जुट पनि यहाँबाट निर्यात हुन्छ । कृषिजन्य वस्तुमा चिया, अलंैची, छुर्पी, अम्रिसो, नेपाली कागज, जडीबुटी, अदुवा, बेसार, दाल, छालाजन्य वस्तु निर्यात हुन्छ । कटन ब्यागहरू पनि गइरहेको छ,’ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र विराटनगरका प्रमुख केबल बिष्टले भने ।
वैदेशिक व्यापार सम्बन्धी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०७९–०८० मा गरेको अध्ययन प्रतिवेदन अनुसार शीर्ष दश निर्यात हुनेको सूचीमा धागो, अलैंची, जुट र जुटजन्य उत्पादन पनि छ, जसको उत्पादन कोशी प्रदेशमा हुन्छ । यस्तै चिया, छुर्पी, अदुवा, चाउचाउ, नेपाली कागजलगायत पनि कोशी प्रदेशबाट निर्यात हुने वस्तुको सूचीमा छन् ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को देशगत तथ्याङ्क हेर्दा विभिन्न देशहरूमा केही वस्तुबाहेक अधिकांश नेपाली वस्तुको निर्यात बढ्दै गएको देखिन्छ । अलैंचीको निर्यात ७२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा अलैंची ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको निर्यात हुँदा आर्थिक वर्ष २०७९/०८० मा भने बढेर ८ अर्ब २७ करोड ६८ लाख ५० हजार मूल्यबराबरको पुगेको छ ।
अलैंची भने भारत र पाकिस्तान जाने गरेको छ । तर, आर्थिक वर्ष २०८०/०८१ मा भने अलैंची निर्यात घटेर ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबर पुगेको छ ।
यस्तै चिया पनि आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख ५० हजारको निर्यात हुँदा २०७९/०८० मा १४.६ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७२ लाख ६६ हजार पुगेको छ । चिया भारतका साथै अमेरिका, जर्मनी, रुस, चेक रिपब्लिक, नेदरल्याण्ड, फ्रान्स, जापान र अष्ट्रेलिया जाने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा भने चिया निर्यात ३ अर्ब ६२ करोड ५० लाख १२ हजार रहेको छ ।
यस्तै छुर्पी निर्यात पनि बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको निर्यात भएको छुर्पी बढेर आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार पुगेको छ । छुर्पी अमेरिका, क्यानडा, जापान, युके, सिङ्गापुर, हङकङ, कोरिया निर्यात हुने गरेको छ । छुर्पी निर्यात २०८०/०८१ मा भने ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँको भएको छ ।
पछिल्लो समय प्लाइउडको निर्यात पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/०८१ मा प्लाइउडको निर्यात ७ अर्ब ४१ करोड ५३ लाख २२ हजार बराबरको हुँदा अघिल्लो आर्थिक वर्ष भने ४ अर्ब ७० करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको मात्रै थियो ।
यस्तै अदुवाको व्यापार पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ६४ करोड १४ लाख ५६ हजारको अदुवा निर्यात भए पनि आर्थिक वर्ष २०७९/८० मा बढेर १ अर्ब २२ करोड २२ लाख ३३ हजार बराबरको निर्यात भएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा भने १ अर्ब १७ करोड ६१ लाख ६९ हजार बराबरको अदुवा निर्यात भएको छ । अदुवा पनि भारत, जर्मनी, कतार र बंगलादेश जाने गरेको छ ।
नेपाली कागज निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ८१ करोड ६८ लाख ८६ हजारको नेपाली कागज निर्यात भए पनि आर्थिक वर्ष २०७९/८० मा भने घटेर १ अर्ब १३ करोड ६५ लाख ५८ हजार बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०८०/०८१ मा भने १ अर्ब २ करोड ८ लाख ९० हजार बराबरको नेपाली कागज निर्यात भएको छ ।
यस्तै अम्रिसोको निर्यात बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो निर्यात हुँदा आर्थिक वर्ष २०७९/०८० मा भने १ अर्ब ८८ लाख बराबरको अम्रिसो निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा अम्रिसोको निर्यात १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार बराबरको छ ।
यस्तै जुट तथा जुटजन्य वस्तुको निर्यात पनि कोशीबाटै हुने गरेको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जुट तथा जुटजन्य वस्तु ७ अर्ब ६४ करोड ३३ लाख ४३ हजार बराबरको निर्यात भएको छ । यस्तै धागो उत्पादन पनि कोशी प्रदेशको रिलायन्स स्पिनिङ मिलले गर्ने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालबाट धागो निर्यात १२ अर्ब २० करोड २८ लाख ५३ हजार बराबरको भएको छ ।
निर्यातमा भइरहेको समस्या के हो ?
उत्पादित वस्तुको निर्यातमा पनि विभिन्न समस्या व्यहोर्नु परेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादन भएर प्रशोधन हुँदै अन्य मुलुकमा पठाउँदा लागत मूल्य महँगो पर्ने हुँदा प्रतिस्पर्धामा समस्या हुने गरेको उनीहरू बताउँछन् ।
‘नेपालबाट जुट, टेक्सटायल, कार्पेट, खाने तेल, प्लाइउड लगायत धेरै वस्तु निर्यात भइरहेका छन् । यी वस्तु सकेजति पठाउन सकिएको छैन । कारण के हो भने हाम्रोमा लजिष्टीक हडल्स धेरै छ । ट्रान्सपोर्टेसनको हडल्स धेरै छ । त्यसलाई कसरी कम गर्न सकिन्छ ? मुख्य कुरा यो हो,’ विराटनगरका उद्योगी अविनाश बोहोराले भने, ‘पहिले हामीले कलकत्ताबाट आउने कार्गोलाई जोगवनीसम्म ल्याउन रेल रुटबारे धेरै बोल्यौँ । रेल रुट दुवै देशका प्रधानमन्त्रीले उद्घाटन पनि गर्नुभयो । तर, त्यो पूर्ण रूपले सञ्चालनमा आएन ।’
रेल सञ्चालनमा आएको भए लागत कम हुने उनको भनाइ छ । ‘यसकारण एक्सपोर्टमा काहीँ न काहीँ फिजिबल हुने अवस्था बढेर जान्थ्यो,’ उनले भने ।
निर्यातमा देखिएका कतिपय हडल्सहरू समाधानमा सरकारले ध्यान दिन सके खाने तेलमात्रै वार्षिक २ खर्ब बराबरको निर्यात हुनसक्ने बोहोरा दाबी गर्छन् । ‘अहिले पनि नेपालबाट करिब करिब वर्षको दुई खर्बको खाने तेल मात्रै निर्यात गर्ने सम्भावना छ । त्यसमा सोयाबिन, सनफ्लावर र पाम तेल रहेको छ । यस्तै धागोहरू पठाउन सक्छौँ । सिमेन्टको सम्भावना पनि छ,’ उनले भने ।
तर, अहिले लागत बढी हुने भएकाले पठाउन नसकेको बोहोरा बताउँछन् । उनले भने, ‘अहिले पनि राम्रोसँगले प्लाइहरू गइरहेको अवस्था छ । जुट, जडीबुटीका आइटम पनि ठुलो मात्रामा पठाउन सक्छौँ । ती कुराहरूको प्रोसेसिङ युनिटहरू पनि यो क्षेत्रमा राख्न सक्छौँ ।’
नेपालमा उत्पादित अदुवा, अलैंची, चिया, अम्रिसो लगायतका वस्तुहरू पनि निर्यात बढाउन सकिने र त्यसका लागि उत्पादन बढाउनु पर्नेमा बोहोराको जोड छ । ‘हामीसँग भएका कृषिजन्य वस्तुहरू भनेको भ्यालुएटेड छन् । जसले हाम्रो निर्यातलाई बुस्ट गर्छ । त्यसमा हुने समस्या भनेको पनि गुणस्तरकै कुरा हो,’ बोहोराले भने, ‘अदुवा नेपालबाट भारत जान्छ । भारतले प्रशोधन गरेर अरु देशमा पठाउँछ । त्यो त नेपालमै पनि गर्न सकिन्छ । चियाको हाइभ्याल्लु कसरी बनाउन सकिन्छ ? हामीले कृषिजन्य वस्तुको निर्यातमा भ्यालुएटेड गर्न राज्य नै चनाखो हुनुपर्छ ।’
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रमुख बिष्ट पनि निर्यातमा हुने समस्या भनेको गुणस्तरमै रहेको बताउँछन् । ‘पहिलो समस्या भनेको गुणस्तरीय उत्पादन नै हो । मुख्य कुरा विदेशीहरूले गुणस्तरीय मालवस्तु चाहन्छन् । हाम्रो अहिलेको उत्पादन पनि गुणस्तरीय नहुने गरेको छ,’ उनले भने, ‘अहिले अर्ग्यानिक मालवस्तुको माग धेरै छ ।’
निर्यात बढाउन उत्पादन बढाउन लाग्नुपर्नेमा उनले जोड दिए । ‘उत्पादन बढ्यो भने गुणस्तरमा पनि हामी जान सक्छौँ । त्यसपछि हामी ग्लोबल मार्केटमा पनि जान सक्छौँ,’ उनले भने, ‘निर्यातको भविष्य राम्रो देख्छु म । तर, हाम्रो युवा जनशक्तिको विदेश पलायन रोकेर यही उत्पादनमा लगाउनु आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा