मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

तेस्रो टेस्ट क्रिकेटमा न्युजिल्यान्डसामु निरीह बन्यो इङ्गल्यान्ड

मङ्गलबार, ०२ पुस २०८१, ०९ : ४२
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्गल्यान्डलाई चार सय २३ रनको विशाल अन्तरले पराजित गरेको छ । तेस्रो टेस्टको चौथो दिन मंगलबार घरेलु टोली न्युजिल्यान्डले जित हात पारेको हो ।

तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्डको यो सान्त्वना जित हो । यसअघि पहिलो र दोस्रो टेस्टमा इङ्गल्यान्ड विजयी भएको थियो । पहिलो टेस्टमा इङ्गल्यान्ड आठ विकेटले विजयी भएको थियो । दोस्रो टेस्टमा पनि इङ्गल्यान्डले न्युजिल्यान्डलाई तीन सय २३ रनले पराजित गरेको थियो ।  

तेस्रो टेस्टमा जितका लागि ६ सय ५८ रनको विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको इङ्गल्यान्डले चौथो दिन मंगलबार केवल दुई सय ३४ रन बनाउँदै अलआउट भयो । इङ्गल्यान्डले दुई विकेटको नोक्सानीमा १८ रनको स्थितिबाट मंगलबारको खेल अगाडि बढाएको थियो ।

दोस्रो पालीमा इङ्गल्यान्डका ओपनर ज्याक क्रावली पाँच र बेन डकेट चार रन बनाउँदै आउट भएका थिए । तेस्रो दिनको खेल सकिँदासम्म ज्याकब बेथेल नौ र जो रुट शून्य रनमा अविजित थिए । तर, चौथो दिन ज्याकब बेथेल र जो रुट दुबैले अर्धशतक बनाए ।

ज्याकब बेथेलले टोलीको खातामा ७६ रन थपे । उनले ९६ बलको सामना गरी एक छक्का र १३ चौका हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका २१ वर्षीय ज्याकब बेथेलले टेस्ट क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो ।

यसैगरी, जो रुटले पनि टोलीका लागि ५४ रनको योगदान गरे । उनले ६४ बलको सामना गरी १० चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका ३३ वर्षीय अनुभवी ब्याट्सम्यान जो रुटले टेस्ट क्रिकेटमा बनाएको यो ६५औँ अर्धशतक पनि हो ।

दोस्रो पालीमा इङ्गल्यान्डका लागि गस एट्किन्सनले पनि ४३ रन बनाए । उनले ४१ बलमा एक छक्का र सात चौका प्रहार गरे । ओली पपले १७ र ब्राइडन कार्सले ११ रन बटुले । दोस्रो पालीमा इङ्गल्यान्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इङ्गल्यान्डले अतिरिक्त रुपमा पनि २१ रन पायो । न्युजिल्यान्डका बलर मिचेल सान्टनरले चार विकेट लिए । उनले १४.२ ओभरमा एक मेडन राख्दै ८५ रन खर्चिए । म्याट हेनरी र टिम साउथीले पनि दुई–दुई विकेट हात पारे । विल ओ’रुर्कले पनि एक विकेट लिए ।

त्यसअघि, भ्रमणकारी टोली न्युजिल्यान्ड आफ्नो दोस्रो पालीमा चार सय ५३ रन बनाउँदै अलआउट भएको थियो । न्युजिल्यान्डका लागि दोस्रो पालीमा अनुभवी ब्याट्सम्यान केन विलियम्सनले शतक बनाएका थिए ।

N 2

विलियम्सनले एक सय ५६ रनको योगदान गरे । लामो समय क्रिजमा सङ्घर्ष गरेका विलियम्सनले दुई सय चार बलमा एक छक्का र २० चौका पनि हिर्काए । ३४ वर्षीय विलियम्सनले टेस्ट क्रिकेटमा बनाएको यो ३३औँ शतक हो ।

न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान विल योङले पनि अर्धशतकीय पाली खेले । उनले ६० रन बनाए । उनले ८५ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । ३२ वर्षीय योङले टेस्ट क्रिकेटमा बनाएको यो १०औँ अर्धशतक हो ।

यसैगरी, ड्यारल मिचेलले पनि अर्धशतकीय पाली खेले । उनले पनि ६० रन बनाए । उनले ८४ बलको सामना गरी दुई छक्का र सातवटा चौका हिर्काएका थिए । ३३ वर्षीय मिचेलले टेस्ट क्रिकेटमा बनाएको यो १४औँ अर्धशतक हो ।

न्युजिल्यान्डका लागि तल्लो क्रमका ब्याट्सम्यान मिचेल सान्टनरले पनि ४९ रनको योगदान गरे । युवा ब्याट्सम्यान रचिन रवीन्द्र र विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डेलले ४४–४४ रनको योगदान गरे । टम अन्तिमसम्म अविजित रहे ।

कप्तान टम लाथमले टोलीको खातामा १९ रन थपे । इङ्गल्यान्डका बलर ज्याकब बेथेलले तीन विकेट लिए । बेन स्टोक्स र सोएब बसिरले पनि दुई–दुई विकेट हात पारे । म्याथ्यु पट्स, गस एटकिन्सन र जो रुटले पनि एक–एक विकेट कुम्ल्याए ।

त्यसअघि, इङ्गल्यान्डले आफ्नो पहिलो पालीमा एक सय ४३ रनमात्र बनाउन सकेको थियो । पहिलो पालीमा इङ्गल्यान्डका लागि जो रुटले सर्वाधिक ३२ रन बनाएका थिए । कप्तान बेन स्टोक्स २७ रन बनाउँदै आउट भएका थिए ।

न्युजिल्यान्डका बलर म्याट हेनरीले चार विकेट लिए । उनले १३.४ ओभरमा एक मेडन राख्दै ४८ रन खर्चिए । विल ओ’रुर्क र मिचेल सान्टनरले तीन–तीन विकेट हात पारे ।

त्यसअघि, टस हारी ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो पालीमा तीन सय ४७ रन बनाएको थियो । पहिलो पालीमा न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ७६ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी दुई छक्का र १० चौका पनि हिर्काए ।

न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर टम लाथमले पनि ६३ रनको योगदान गरे । उनले एक सय ३५ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए । केन िविलियम्सनले ४४ र विल योङ्ले ४२ रन बटुलेका थिए ।

 

पहिलो पालीमा इङ्गल्यान्डका बलर म्याथ्यू पट्सले चार विकेट लिएका थिए । उनले २८.१ ओभरमा सात मेडन राख्दै ९० रन खर्चिएका थिए । गस एट्किन्सनले तीन, ब्राइडन कार्सले दुई र बेन स्टोक्सले एक विकेट हात पारे । न्युजिल्यान्डका मिचेल सान्टनर प्लेयर अफ दि म्याच घोषित भए । इङ्गल्यान्डका ह्यारी ब्रुक प्लेयर अफ दि सिरिज घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप