आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
अभिनेत्री नम्रताको अनुभव

रुवाउन जस्तो हँसाउन कहाँ सजिलो छ र ?

मङ्गलबार, ०२ पुस २०८१, ०९ : ३२
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । अभिनेत्री नम्रता सापकोटाले दर्जन बढी फिल्म अभिनय गरिसकेकी छन् । उनको मोडलिङ रहेको म्युजिक भिडियो सयौँ छन् । विज्ञापन चलचित्र, छोटा चलचित्रमा समेत देखिदै आएकी उनी पछिल्लो समय यी सबैबाट भिन्न कमेडीमा छाइरहेकी छन् ।

कमेडी शो ‘कमेडी दरबार’मा उनी विगत ४ महिनादेखि कमेडियनको रूपमा दर्शक हँसाउँदै छिन् । कमेडी जनरामा उनको यो यात्रा पहिलो पटक हो । तर पनि उनको कामको प्रशंसा भइरहेको छ । 

‘कमेडी दरबार’ कमेडियन विक्की अग्रवालको निर्माण तथा निर्देशित शो हो । शोको अहिलेसम्म १६ भाग प्रसारण भैसकेको छ । हरेक भागमा उनी फरक–फरक चरित्रमा देखिँदै आएकी छन् ।

अहिलेसम्मको कमेडी यात्रा एकदमै रमाइलो भइरहेको उनी बताउँछिन् । ‘म नसोचेको र कल्पना नगरेको नयाँ यात्रामा उडिरहेकी छु’, उनले भनिन् ‘जीवनको फरक पाटोको अनुभव, फरक नै हुँदो रहेछ ।’ कमेडी यात्रामा एकदमै इन्ज्योय गरिरहेको उनी सुनाइन् ।

नम्रता लामो समयदेखि कलाकारितामा छिन् । कलाकारिताको यो दौरानमा कमेडी गरिएला भन्ने उनलाई कहिल्यै लागेको थिएन । अभिनेत्रीकै रूपमा नयाँ नयाँ काम गर्दे अगाडि बढेकी उनलाई ‘कमेडी दरबार’ले कमेडीको रूपमा उभ्यायो । ‘कमेडी दरबार’ अफरको समय उनलाई कमेडियन बन्ने भनेर भनिएको पनि थिइन । न उनले कमेडी गर्ने भनेर यो कार्यक्रममा जोडिएकी हुन् । कमेडियनसँग नयाँ नयाँ जोडी बनेर प्रस्तुत हुने मात्र भनिएको रहेछ । काम गर्दै जाँदा कमेडियन भनेर चिनिए ।

465071514_1109376350553921_2516930823722134368_n

‘कमेडी गाह्रो काम रहेछ । भित्रिदा यो सोचेको थिइन’, उनले थपिन्, ‘यसलाई सोचेको भन्दा धेरै ठुलो र टाढाको पाएँ ।’

‘शो अहिले एकदमै हिट छ । मैले गरेको क्यारेक्टर मानिसले रुचाएका छन्’, उनी भन्छिन् ‘आफ्नो कल्पनाभन्दा बाहिरको चर्चा झन् मिठो हुँदोरहेछ ।’

नम्रता अभिनीत फिल्मले अहिलेसम्म त्यस्तो व्यावसायिक रेकर्ड बनाएर हङ्गामा गरेको छैन । तर पनि उनी सदाबहार फिल्म खेल्ने अभिनेत्रीमा पर्छिन् । म्युजिक भिडियोमा पनि उनको डिमान्ड राम्रो छ । फिल्म र म्युजिक भिडियोमा रहेकी उनलाई किन गर्न मन लाग्यो कमेडी ? ।

‘म कलाकारितामा यो काम गर्छु । यो गर्दिन भनेर कहिल्यै बस्दिन । आएको काम राम्रो हुन्छ भन्ने लाग्यो भने गर्छु’, उनले भन्दै गइन् ‘जब कमेडी दरबारसँग मिटिङ फिक्स भयो । मिटिङ अगाडि नै यो काम गर्नुपर्छ भन्ने फिल भएको थियो ।’ ‘छक्का पन्जा’ यस्तै फिल भएर अभिनय गरेको सफलता समेत हात परेको उनले खुलाइन् ।

कमेडीमा मिहिनेत अरू भन्दा धेरै गर्नुपर्ने बुझेकी उनले मानिस हँसाउन कठिन रहेको बल्ल महसुस गरेकी छन् । मानिस रुवाउन सेन्स नचाहिने, ठुलो कुरो केही गर्नु नपर्ने बताउने उनी कमेडीका लागि सेन्स चाहिने, सेन्सेटिभ हुनुपर्ने, मुमेन्टमा बाच्नुपर्ने, स्पटमै मेकिङ गर्न सक्ने क्षमता हुनुपर्ने बताउँछिन् । ‘कतिपयले कमेडी सजिलो छ भन्छन् । मलाई त, रुवाउन जस्तो सजिलो हँसाउन लागेन’, उनले भनिन् ।

namrata

नम्रता कमेडी अगाडि नै फिल्म तथा म्युजिक भिडियोले चर्चित थिइन् । कमेडी थालेपछि त्यो चर्चा अझ चुलिएको छ । पहिले नचिनेकाले पनि अहिले चिन्न थालेका छन् । उनी भने चर्चा बढेपछि कमेडी अभिनय भन्दा फरक आफूले नसोको बताउँछिन् । ‘म कलाकार हो । त्यही रूपमा कमेडी थालेको हो’, उनले भनिन् ‘‘कमेडी दरबारमा पनि कमेडियन भन्दा पनि कलाकारको रूपमा चिनिएकी छु ।’

‘कमेडी दरबार’मा कलाकारले समसामयिक विषयमा मात्र व्यङ्ग्य गर्दैनन् । एकअर्कालाई पनि उडाउने गर्छन् । त्यो देख्दा दर्शकले त नमिठो फिल गर्छन् । उनी भने त्यसमा पनि इन्ज्योय गर्छिन् रे । कारण सुनाइन् ,‘कतिपय कुरा दर्शकसँग कनेक्ट हुन पहिले आफूलाई पनि उडाउनुपर्ने हुन्छ ।’

पहिले पहिले यस्तो देख्दा के भइरहेछ जस्तो लाग्थ्यो उनलाई । अहिले भने उनी जबसम्म आफैले आफूलाई उडाउन सकिँदैन । तबसम्म अरूलाई उडाउन सकिन्न भन्ने लाग्न थालेको छ । ‘मैले आफूलाई नउडाई अरूलाई मात्र नराम्रो भन्न थाले भने कसले पचाउँछ र ?,’ उनको बुझाइ छ । कमेडीमा जति हलुका भयो त्यति माथि पुगिने उनको धारणा रहेको छ । भनिन्, ‘सुरु सुरुमा किन यस्तो भनेको भनेर डर पनि लाग्थ्यो । दुई तीन भागपछि बिस्तारै सहज पनि हुँदै गयो ।’

नम्रतामा अबको दिनमा कमेडियन भनेर दर्शकले चिनोस् भन्ने चाहना पनि छैन । किनभने अहिलेसम्म कलाकार भनेर चिनेका छन्, भोलि पनि त्यसरी नै चिनोस् भन्ने उनको इच्छा हो । ‘मलाई हिरोइन, मोडल, कमेडियन भन्दा पनि राम्रो अभिनय गर्छ भनेर चिनोस् जस्तो लाग्छ’, उनले थपिन्, ‘यही कुरो मेरो लागि बेस्ट हो ।

Capture 2

‘कमेडी दरबार’को १६ भागसम्म आउँदा उनले थुप्रै चरित्र निर्वाह गरिसकेकी छन् । तर पहिलो भागको ‘दुलही’ चरित्र भने उनी आफैलाई अहिलेसम्मको बेस्ट लाग्छ । ‘हरेक भागमा नयाँ चरित्र र नयाँ अनुभव भइरहेको छ’, उनी भन्छिन् ‘सबै क्यारेक्टरबाट चर्चा र प्रतिक्रिया राम्रो छ । तर पहिलो भनेको पहिलै हुँदो रहेछ ।’

कमेडीमा देखिन थाले पनि उनलाई फिल्मको अफर नआएको पनि होइन । स्क्रिप्ट पढ्ने काम भइरहेको छ । म्युजिक भिडियो अभिनय पनि उनको नियमित नै छ । विज्ञापन चलचित्रको पनि अफर छन् । अहिले काम भ्याइनभ्याइ छ । ‘कमेडीमा लागे पनि नियमित कामको कमी छैन । विदेश यात्रा पनि गरिरहेको छु । कुनै पनि कमेडीले थप काम दिलाएको छ’ उनले थपिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप