एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम अबको एक महिनापछि सुरु गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो उक्त सडक विस्तार गर्न लागिएको हो ।
जसअनुसार अहिले माटो परीक्षणको लागि ल्याब निर्माण, सामग्रीहरूको व्यवस्थापन, सडक क्षेत्रको नाप जाँचलगायतका काम भएका छन् । यस्तै बन मन्त्रालयले रुख काट्नको लागि अनुमति दिएपछि अहिले रुखको मार्किङको काम पनि भइरहेको बुटवल–गोरुसिङ्गे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले रातोपाटीलाई जानकारी दिइन् ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष् निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि ठेक्का पाएका छन् । १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ३ वर्षभित्र काम पूरा गर्नेगरी गत असार १३ गते ठेक्का सम्झौता भएको थियो ।
न्यौपानेले अहिले पूर्व तयारी काम भइरहेको र माघ महिनाबाट सडक विस्तारका लागि औपचारिकरुपमा काम थाल्ने बताइन् । उनले अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भइरहेको बताइन्।
उनले सवारी साधन र यात्रुलाई सास्ती हुन नदिन अहिलेको पिच नभत्काई दायाँ–बायाँको काम गरेर मात्र बिचको सडक पछि बनाउने तयारी गरेको खुलाइन् । २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे सडक खण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो ।
सात हजार रुख काटिने
बुटवल–गोरुसिङ्गे सडक अन्तर्गत बन क्षेत्रमा पर्ने ७ हजार १ सय ७५ रुख काटिने छ । बन क्षेत्रमा अहिले काट्नका लागि रुखको चिन्ह लगाउने काम भइरहेको छ। यो सडक विस्तारको क्रममा रुपन्देहीको सैनामैना नगरपालिकामा २६ सय १३, कन्चन गाउँपालिका १३ सय २६ गरी ३९सय ३९ रुख काटिने छन्।
यस्तै कपिलवस्तु जिल्लाको चार नम्बर र गोरुसिंहमा गरी ३२ सय ३६ रुख काटिने प्रमुख न्यौपानेले बताइन्। उनले रुखको धेरै ठाउँमा चिन्ह लगाउने काम वन कार्यालय मार्फत भइरहेको खुलाइन्।
केही ठाउँमा आफ्नै घर भत्काउन सुरु
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारको क्रममा रुपन्देही र कपिलवस्तुमा गरी करिब १२० घर भत्काउनु पर्ने देखिएको छ। अझै केही निवेदन पनि आइरहेको परियोजनाले जनाएको छ। घर भत्काउने रुपन्देहीका ९० र बाँकी कपिलवस्तु जिल्लामा रहेका छन्। सडक क्षेत्रभित्र बनेका संरचनालाई घरधनी आफले भत्काएर क्षतिपूर्ति समेत लिइसकेका इन्जिनियर न्यौपानेले बताइन्। उनले अन्य ठाउँ पनि सूचना जारी बताइन् ।
१९ वटा अन्डर पास हुने
यो सडक अन्तरगत रुपन्देहीको सालझन्डीदेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म जङ्गल क्षेत्र पर्छ । यहाँ धेरै जङ्गली जनावरहरू हिँड्ने गर्दछन्। वन्यजन्यु संरक्षण नियम अनुसार सडक निर्माण गर्दा पनि वन्यजन्तुमैत्री सडक बनाउने गरी डिजाइन भएको प्रमुख न्योपानेले बताइन् ।
धेरै जङ्गल भएको क्षेत्र सालझन्डी–पिपरा खण्ड र वनगाई–गोरुसिङ्गे सडक खण्डमा १९ वटा अन्डर पास निर्माण गर्ने उनले बताइन् ।जसमा ३ बटा कल्भर्टमा जन्यजन्तु हिँड्नको लागिनै निर्माण गरिएको र अन्य वर्षामा पानी निकास हुने तथा अन्य बेला वन्यजन्यु वारपार गर्न मिल्ने गरी निर्माण हुने न्यौपानेले खुलाइन् ।
विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध हुने भएकाले पछिल्लो समय वन्यजन्तुमैत्री अन्डर पास निर्माणको मापदण्ड राखिएको हो । अन्डर पासमध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा, कोइली– घेरुवा–बनगाई–गोरुसिङ्गे लगायतका जङ्गलमा अन्डर पास बनाइनेछ । जङ्गल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा