बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा

सोमबार, ०१ पुस २०८१, २२ : १६
सोमबार, ०१ पुस २०८१

मस्को ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताएका छन् ।

वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गरेका छन् । उनले पश्चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि आलोचना गरेका छन् । 

आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् । मस्को र किएभ दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न खोजिरहेका छन् । 

रिपब्लिकन ट्रम्पले केही घन्टामै युद्धविराम गर्नसक्ने पटक–पटक बताउँदै आएका छन् । यद्यपि उनले कुनै योजना प्रस्तुत गर्न सक्नुभएको छैन र शान्ति वार्ताका बारेमा अनुमान लगाइएको छ । 

रणनीतिक पहल 
“रूसी सेनाले सम्पूर्ण सम्पर्क रेखामा रणनीतिक पहललाई दृढतापूर्वक राखेको छ”, पुटिनले सेनाका प्रमुख र रक्षा मन्त्रालयका अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भने ।

उनले रुसको सेनाले यस वर्ष १८९ युक्रेनी बस्ती कब्जा गरेको र सन् २०२४ लाई आफ्नो अभियानका लागि मस्कोको आधिकारिक भाषा प्रयोग गर्दै ‘विशेष सैन्य कारबाहीको लक्ष्य हासिल गर्ने ऐतिहासिक वर्ष’ भनेको बताए ।

सोही बैठकमा पुटिनपछि बोल्दै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले यस वर्ष युक्रेनको करिब चार हजार पाँच सय वर्गकिलोमिटर भूभाग कब्जा गरेको र अहिले दैनिक करिब ३० वर्गकिलोमिटर क्षेत्र ओगट्दै गएको बताए ।

उनले युक्रेनले पूर्वी लुगान्स्क क्षेत्रको एक प्रतिशतभन्दा कम र डोनेट्स्क, खेरसन र जापोरिजिया क्षेत्रको २५–३० प्रतिशत मात्र नियन्त्रण गरेको जानकारी दिए । कुनै पनि कुरामा पूर्ण नियन्त्रण नभए पनि रुसले सन् २०२२ मा चारैवटा क्षेत्रलाई विलय गर्ने दाबी गरेको थियो । 

रुसी सेनाले सोमबार आफ्नो पछिल्लो अग्रिम भागका रूपमा डोनेट्स्क क्षेत्रको अर्को सानो गाउँ कब्जा गरेको बताएको छ । 

सैन्य प्रवाह
पुटिनले रुसको सेनालाई सहयोग गर्न उन्नत हतियार र उपकरण उपलब्ध गराउने रुसको सैन्य उद्योग र रक्षा उद्यमको पनि प्रशंसा गरे।  रुसले मिसाइल प्रणालीको ठूलो उत्पादनमा काम गरिरहेको उनले बताए ।

यसमा अरेश्निक मिसाइल जस्ता अति ध्वनिक मिसाइलहरू पनि समावेश छन्, जुन उनले पछिल्लो महिना युक्रेनी सहर दनिप्रोमा प्रयोग गरेका थिए । साथै उनले सैनिकहरूले एआई–सञ्चालित प्रणालीहरू प्रयोग गरिरहेको सङ्केत दिए ।

घरेलु आर्थिक अस्थिरताको सङ्केतका बीच एक चौथाई शताब्दीसम्म सत्तामा रहेका पूर्व केजिबी जासुससमेत रहनुभएका पुटिनले रुसको विशाल रक्षा र सुरक्षा खर्चको बचाव गरे ।  सैन्य खर्च जीडीपीको ६ प्रतिशतभन्दा बढी पुगेको छ । जबकि समग्र रक्षा र सुरक्षा खर्च लगभग नौ प्रतिशत छ ।  

“कुनै पनि सशस्त्र द्वन्द्व नभएका देशमा समेत यो विश्वको सबैभन्दा ठूलो खर्च होइन”, उनले भने, “जे होस्, यो धेरै पैसा हो र यहाँ हामीले यसलाई धेरै तर्कसङ्गत प्रयोग गर्न आवश्यक छ ।”  यसको विपरीत किएभ आफ्नो रक्षात्मक अभियानको कोष र ज्याला दिन पश्चिमी वित्तीय र सैन्य समर्थनमा निर्भर छ । 

ट्रम्पले अमेरिकी सहायता कटौती गर्न सक्ने डरले रूसको प्रगति रोक्न सक्ने युक्रेनको क्षमतालाई विनाशकारी धक्का दिनसक्छ । युक्रेनले पनि मोर्चाहरूमा जनशक्तिको अभावको सामना गरिरहेको छ र वासिङ्टनबाट अधिक सैनिक भर्ती गर्न भर्ती उमेर २५ बाट १८ सम्म घटाउन विचार गर्न दबाब दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप