बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत

सोमबार, ०१ पुस २०८१, २२ : ००
सोमबार, ०१ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको १ गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • पूर्वाधार छैन

सरकारले २०७३ फागुनमा २० वर्ष पुराना पेट्रोल र डिजेलबाट चल्ने सार्वजनिक सवारी साधन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । वायु प्रदूषण बढाएको र पुराना सवारी साधनले दुर्घटना बढी भएका कारण सरकारले यस्तो व्यवस्था गरेको थियो । तर निर्णय भएको करिब ९ महिनामा कुनै पनि गाडी स्क्रयापिङ हुन सकेनन् ।

  • मूल्य कति घट्यो ?

पछिल्लो समय बजारमा दाल, चामल, तेल र चिनीको मूल्य घटेको छ । दसैँ, तिहारजस्ता चाडपर्वको अगाडि चामल, तेल, चिनी लगायतका खाद्यान्नको मूल्य बढेको थियो । अहिले यी सबै खाद्यान्नको मूल्य घटेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् । 

  • उमागौरी सहकारी ठगी प्रकरण

मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मङ्सिरमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । 

  • नतिजा सुधारको पहल

अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.८७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २ गते आगामी नतिजा ७० प्रतिशत पुर्‍याउने उद्घोष गरे । 

  • संसदीय समिति

सोमबार सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल गर्न भन्दै अर्थ समितिको बैठक बोलाइएको थियो । पटक पटक स्थगन हुने समितिको बैठक सोमबार भने बस्ने र संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो । यसका लागि कानुन मन्त्रालयका सचिव तथा सहसचिवका साथै अर्थ मन्त्रालयका राजश्व सचिव दिनेश घिमिरे उपस्थित रहेका थिए ।

  • रहेनन् पीएल सिंह

काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । 

  • सूर्यदर्शन सहकारी प्रकरण

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । पूरक जाहेरी आउनुअघि पक्राउ परेर अहिले कारागारमा रहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी कायम गर्न राय दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रातोपाटीलाई बताए । 

  • एमाले पार्टी कार्यालय जग्गा विवाद

सर्वोच्च अदालतले अन्ततः एमालेले दानमा पाएको जग्गामा भवन बनाउन सक्ने गरी फैसला सुनाएको छ। न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार रिट खारेज गर्दै एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय बनाउने बाटो खोलेको हो । 

  • निर्यात हुने वस्तु

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले कुल ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमा नेपालले जम्मा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ वस्तु तथा सेवाको निर्यात गरेको छ । 

  • क्रिकेट

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिम रोयल्सले सफलता हात पारेको छ । सुदूरपश्चिम रोयल्सले सोमबार खेलिएको खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो । यो खेलसँगै प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने चौथो टोलीको पनि टुंगो लागेको छ । काठमाडौँ गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्रतियोगिताको प्ले अफ चरणमा पुगेको छ ।

नेपाली टोली एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ चरण (सेमिफाइनल) मा प्रवेश गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

नेपालको यू–१९ टोलीले सोमबार खेलिएको पहिलो एकदिवसीय खेलमा हङ्कङको यू–१९ टोलीलाई तीन विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप