सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल

सोमबार, ०१ पुस २०८१, १९ : ४२
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका हुन् । वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक दिशामा फर्किएको बताए । 

सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढङ्गले विश्लेषण गरी समाधानका लागि एकएक कदम चाल्दै गएको उल्लेख गर्दै उनले भने, “अर्थतन्त्रका सकारात्मक सूचकलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न सफल भएका छौँ ।”

अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचक सरकारको कामको परिमाण भएको उनको भनाइ छ । अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा बढेको बताउँदै उनले गत आर्थिक वर्षको चार महिनामा तीन प्रतिशत वृद्धि भएको राजस्व सङ्कलन चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशतले बढेको जानकारी दिए ।

यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उल्लेख गर्दै उनले भने, “बैंकको ब्याजदर एकल अङ्कमा आउन सम्भव थिएन, “ब्याजदर एकल अङ्कमा ल्याउनका लागि सरकारले केही काम गरेको छ ।”

अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकलाई सदुपयोग गरेर जानुपर्नेमा जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप