मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
तबलावादक

उस्ताद भनेर बोलाएको नरुचाउने उस्ताद अर्थात् जाकिर हुसैन

सोमबार, ०१ पुस २०८१, १८ : ००
सोमबार, ०१ पुस २०८१

नयाँ दिल्ली । विश्व चर्चित भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको मृत्यु भएको छ । ७३ वर्षको उमेरमा अमेरिकामा जाकिरको निधन भएको हो । 

सोमबार बिहान हुसैनको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको छ । उनको मृत्यु इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस भन्ने रोगका कारण भएको बताइएको छ । तीन हप्तादेखि उनको उपचार भइरहेको भएपनि अवस्थामा सुधार नआएपछि आईसीयूमा राखिएको थियो । जाकिरको मृत्यु डिसेम्बर १४ मै भएको बताइएको छ । उनको अन्त्येष्टि डिसेम्बर १८ मा हुने भएको छ ।

जाकिरलाई संसारभरि नै उस्ताद भनेर बोलाइन्छ । तर उनी भने आफूलाई उस्ताद नभएर शार्गिद अर्थात् विद्यार्थी नै भन्न रुचाउँथे । जाकिरको जन्म सन् १९५१ को मार्च ९ मा मुम्बईमा भएको थियो । उनका बुबा उस्ताद अल्लाह राखा कुरैशी पनि तबला वादक थिए । जाकिरले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कुलबाट गरेका थिए । यस बाहेक उनले मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरेका थिए । मात्रै ११ वर्षको हुँदा जाकिरले अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द म्याटेरियल वल्र्ड’ बजारमा ल्याए ।

उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण सम्मानित गरिएको थियो । यस बाहेक पनि उनलाई संगीतको क्षेत्रमा कयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । आइतबार राति नै उनको मृत्यु भएको अफवाह फैलिएको थियो । जाकिरको बहिनी र भाञ्जाले मृत्युको खबर झुटो हो भनेर भनेपछि भारतको सूचना एवम् प्रसारण मन्त्रालयले पनि उनको मृत्युसम्बन्धी पोष्ट डिलिट गरेको थियो ।

तबलामा धुन बजाउने खुबी जाकिरमा बच्चैदेखि थियो । कुनै  ठाउँ देख्नेबित्तिकै उनी औँलाले त्यसमा पिटेर धुन निकाल्न थालिहाल्थे । तबलाप्रति उनको मोह यति धेरै थियो कि भान्सामा ताउ, हाँडी र थाल जे जस्ता भाँडाकुँडा भेट्यो त्यसैलाई तबला झैँ बजाउँथे । करियरको संघर्षको दिनमा जाकिर तबलालाई आफ्नो काखमै राख्ने गर्थे । रेलमा यात्रा गर्दा पैसा नहुँदा उनी जनरल कोचमा चढ्थे । सिट नहुँदा पत्रिका ओछ्याएर भुईँमै फैलाएर सुत्थे । यस्तोमा कसैको खुट्टा नलागोस् भनेर तबलालाई काखमा राखेर निदाउँथे ।

१२ वर्षको उमेरमा तबला बजाएर पाएका थिए सय रुपैयाँ

सानैदेखि जाकिर पिताको साथमा कार्यक्रमहरूमा जान्थे । ११ वर्षको उमेरमा अमेरिका पितासँग उनले एउटा कन्सर्टमा तबला पनि बजाएका थिए । उनी १२ वर्षको हुँदा बुबासँग एउटा कन्सर्टमा गए । उक्त कन्सर्टमा पण्डित रविशंकर, उस्ताद अली अकबर खान, बिस्मिल्लाह खान, पण्डित शान्त प्रसाद र पण्डित किशन महाराजजस्ता संगीत दिग्गजहरु पनि थिए । जाकिर त्यहाँ कार्यक्रम हेर्न भनेर मात्रै गएका थिए । तर उनको बुबाले उनलाई स्टेजमा लगेर राखिदिए । 

कार्यक्रम प्रसिद्ध सरोद वादक उस्ताद अली अकबर खानको थियो । स्टेजमा जाकिरले उस्ताद अली अकबर खानसँग २० मिनेटसम्म तबला बजाएँ । उनको तबलावादन कलासँग खुसी भएर उस्तादले जाकिरलाई एक सय रुपैयाँ दिए । केही वर्ष पहिले एउटा अन्तरवार्तामा जाकिरले त्यो सय रुपैयाँ अहिले पनि आफूले जतन गरेर राखेको बताएका थिए । अहिलेसम्म तबला बजाएर आफूले निकै पैसा कमाएको भएपनि त्यो सय रुपैयाँ आफ्नो लागि सबैभन्दा बहुमूल्य भएको उनले बताएका थिए ।

४ वटा ग्रामी अवार्डबाट सम्मानित  

जाकिरले बिटल्ससहित पश्चिमका कयौँ चर्चित संगीतकारहरूसँग काम गरेका छन् । संगीतको ओस्कार भनेर चिनिएको ग्रामी अवार्डस्मा हुसैन ७ पटक मनोनयनमा परेका छन् । चार पटक उनले यो अवार्ड जितेका छन् । सन् २००९ मा ‘समकालीन विश्व संगीत एल्बम श्रेणी’मा हुसैनले ग्रामी जितेका थिए । ग्लोबल ड्रम प्रोजेक्टका लागि उनलाई यो पुरस्कार दिइएको थियो । यसका लागि उनले मिकी हार्ट र जियोवानी हिडाल्गोसँग मिलेर काम गरेका थिए । यसपछि हुसैनले सन् २०२४ मा ६६ औँ ग्रामी अवार्डमा तीन वटा ग्रामी अवार्ड पाए । बेस्ट कन्टेम्पररी इन्ष्ट्रमेन्टल एल्बम विधामा ‘एज वी स्पिक’का लागि उनले अवार्ड पाएका थिए । अन्य दुई अवार्ड भने बेस्ट ग्लोबल म्युजिक एल्बम विधामा ‘दिस मोमेन्ट’ र बेस्ट ग्लोबल म्युजिक परफर्मेन्स विधामा ‘पश्तो’का लागि प्राप्त भएको थियो ।

फिल्ममा पनि गरेका थिए अभिनय

जाकिरले केही चलचित्रमा अभिनय पनि गरेका छन् । उनले १९८३ को बेलायती फिल्म ‘हिट एण्ड डस्ट’बाट डेब्यु गरेका थिए । यो फिल्ममा बलिउडका दिग्गज अभिनेता शशि कपुरले पनि काम गरेका थिए । सन् १९९८ मा आएको फिल्म ‘साज’मा पनि जाकिरको अभिनय थियो । यस फिल्ममा उनको अपोजिट शबाना आजमी थिइन् । फिल्ममा उनले शबानाको प्रेमीको भूमिका निभाएका थिए ।

तपाईहरूमध्ये सबैलाई सन् १९६० को चर्चित फिल्म मुगल–ए–अजम त थाहै होला । दिलिप कुमार र मधुबालाको शीर्ष अभिनय रहेको यस फिल्ममा जाकिरलाई सलीम अर्थात् दिलिप कुमारले खेलेको पात्रको किशोरावस्थाको भूमिकामा खेल्न प्रस्ताव गरिएको थियो । एक दिन फिल्मको सेटमा कसैले जाकिरलाई दिलिप कुमारसँग भेट गराइदियो । दिलिप कुमारले जाकिरको शीरमा हात राखे अनि निर्देशक आसिफतिर हेरेर हुन्छ भने । यसको मतलब जाकिरलाई फिल्ममा जवान सलिमको लागि फाइनल गरिएको थियो । जाकिरका पिता उक्त फिल्मका निर्देशक के आसिफ मिल्ने साथी थिए । तर आसिफले जाकिरको पितालाई यसबारे बताएपनि उनी साह्रै रिसाए । अनि छोरालाई अभिनेता सभिनेता केही नबनाउने भन्दै झगडै गरे ।

क्रिकेटका शौखिन

बाल्यकालमा जाकिर क्रिकेट खेल्न निकै मन पराउँथे । सानो छँदा उनको सपना क्रिकेटर बन्ने थियो । तर पिता उस्ताद अल्लाह राखा कुरेशी भने छोरालाई तबलावादक बनाउन चाहन्छे । उनले छोरालाई क्रिकेट खेल्नबाट रोक्ने गरेका थिएनन् । तर एकपटक क्रिकेट खेल्दै गर्दा जाकिरको औँला भाँचियो । यो घटनापछि अल्लाह राखाले उनलाई क्रिकेट खेल्न पूरै रोक लगाइ दिए । 

- एजेन्सीहरूको सहयोगमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप