अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
काठमाडौँ । अर्थ समितिको सोमबार तय भएको बैठकमा ‘सुरक्षित कारोबार ऐन २०६३’ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, बिहान सवा ११ बजेसम्म सूर्यबहादुर थापा र रणकुमारी बलम्पाकी मगर मात्रै उपस्थित थिए । अर्थ मन्त्रालयका सचिव दिनेश घिमिरे लगायत कानुन मन्त्रालयका सचिव र सहसचिवको पनि उपस्थिति भइसकेको थियो । केही समय पर्खिएपछि भने सांसदको उपस्थिति सङ्ख्या ९ पुग्यो ।
सत्ता पक्षबाट एमालेका सांसद थापा र मगरसहित पदम गिरी उपस्थित थिए । यस्तै नेपाली कांग्रेसबाट सांसद अञ्जली श्रेष्ठ र सभापति सन्तोष चालिसे तथा नेकपा माओवादी केन्द्रबाट नारायणी शर्मा, गङ्गा कार्की, छिरिङ डम्डुल लामा र रास्वपाबाट विराजभक्त श्रेष्ठको उपस्थित थिए ।
समितिमा कुल २३ सदस्य छन् । जसअनुसार समितिको बैठक सञ्चालनका लागि बहुमत पुर्याउन १२ जना उपस्थित हुन आवश्यक हुन्छ । बहुमत नपुगे आधा घण्टासम्म पर्खिनु पर्ने व्यवस्था छ । करिब १ घण्टा बितिसकेको अवस्थामा कोरम नपुगे पनि समितिका सभापति चालिसेले बैठक अघि बढाउन खोजे ।
बैठकको सुरुआतमै उनले अर्थमन्त्री उपस्थित हुने भनिएता पनि उपस्थित हुन नसकेको जानकारी दिए । बैठकमा उक्त विधेयको सैद्धान्तिक अवधारणा लगायत अन्य सम्बन्धित विषयमा जानकारी गराउन अर्थमन्त्रीलाई निमन्त्रणा गरिएको थियो । मन्त्री उपस्थित नभएपछि चालिसेले राजस्व सचिव दिनेश घिमिरेलाई सो विषयमा जानकारी गराउन आग्रह गरे ।
तर सांसद गङ्गा कार्कीले कोरम नपुगी बैठक राखेकोप्रति विरोध जनाए । ‘सभापतिज्यू बहुमतै नपुगीकन बैठक राख्ने कुरा कसरी हुन्छ ?’ कार्कीले प्रश्न गरे ।
कार्कीको जवाफ दिँदै सभापतिले भने, ‘हेर्दै जाऊँ न एकछिनमा पुग्छ । हाम्रो कुरा के भयो भने अहिले हामी लगभग १० जना भइसक्यौँ । एक जना सही गरेर जानुभयो । एक जना बाटोमा हुनुहुन्छ भन्ने जानकारी आयो ।’
बैठक सञ्चालन भएको अवधिसम्ममा नौ जनाको हाजिरी भएको सभापति चालिसेले जानकारी दिए । ‘एक जनाले सही गरेर जानु भयो, एक जनाले बाटोमा आउँदैछु भन्नुभएको छ । उहाँले नाम लेख्दै गर्नुस् आएर सही गर्छु भन्नु भएको छ ,’ सभापति चालिसेले भने ।
कार्कीले फेरि भने, ‘बहुमत पुर्याउन १२ जना हुनुपर्ने हो ।’ ‘मेरो कुरा के हो भने कोरम नपुगीकन बैठक नराखौँ । सत्तापक्षकै साथीहरूको निकै अनुपस्थिति छ यहाँ । अनि यस्तो गर्ने अनि यो तरिकाले कसरी हुन्छ के ? कार्कीले थपे ।
‘बस्दै गरम १२ जना हुन्छौँ पनि,’ सभापतिले जवाफ दिए ।
यही विषयमा गलफती चलिरह्यो । त्यसपछि सभापति चालिसे भने, ‘सबै माननीयहरूले हुँदैन भन्नुहुन्छ भने म किन सञ्चालन गर्ने त?’
गलफतीकै बिचमा सांसद सूर्यबहादुर थापाले पनि कार्यविधिअनुसार बैठक चलाउन आग्रह गरे । ‘कार्यविधिमा हामीले आधा घण्टा पर्खिने भनेका थियौँ । एक घण्टा पर्खियौँ । आधा घण्टा पर्खिँदा पनि कोरम नपुगे बैठक नबस्ने भन्ने स्पष्ट उल्लेख छ । हामीले बनाएको कार्यविधि त्यसो हुनाले माननीय सदस्यहरू आउनु भएन, व्यस्त रहनु भो खबर गरेर संशोधनकर्ताहरु पनि आफैले दिएको समयमा आउनु भएन भने त्यो कुरा बैठकले नोटिसमा राखोस्,’ सांसद थापाले भने, ‘होइन भने कसले गिभन टाइममा आउँछु भनेर आएन भने के गर्ने कार्यविधिमा छ । समझदारी बनाएर जाने भनेको मौखिक विषय हो । हामी जब बैठक बस्ने कि नबस्ने भन्ने विषयमा छलफल गर्दैछौँ भने कार्यविधिलाई फलो गर्ने हो हामीले ।’
त्यसपछि अर्थ समितिको बैठक स्थगित भयो भने विधेयकमाथि छलफल अघि बढ्न सकेन । समितिको अर्को बैठक मंगलबार बिहान ११ बजेलाई पुनः बोलाइएको छ ।
गत मंसिर २६ गते समितिमा राजस्व सङ्कलनको अवस्था, भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समितिमा प्राप्त विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । सो छलफलमा पनि ११ जना सदस्य मात्रै उपस्थित थिए । सभापतिसहित १२ जना पुगेपछि बैठक सञ्चालन गरिएको थियो ।
उक्त बैठकमा सभापति चालिसेले बारम्बार कोरम नपुग्ने गरेको गुनासो गरेका थिए । समितिमा दर्ता भएका विधेयकमध्ये ५ वटा विधेयकमा छलफल गर्नुपर्ने भएपनि पटक पटक सांसद उपस्थित नभएर छलफल हुन नसकेको उनको गुनासो थियो ।
‘सभामुखले सबै समितिका सभापतिलाई बोलाएर किन छलफल नगरेको भनेर सोध्दा सबैको गुनासो कोरम नपुग्ने नै आएको थियो । कोरम नपुगे पनि यो पटक बैठक राखेका छौँ,’ सञ्चारकर्मीलाई उनले भनेका थिए, ‘५/५ वटा विधेयक भएको समितिमा बारम्बार कोरम पुग्न नसकेको समस्या देखियो भनेर प्रचार गरिदिनुपर्ने भो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता